२५ भाद्र २०८३ , बिहिबार

२५ भाद्र २०८३ , बिहिबार
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026
फिल्म

एसएस राजामौली र एनटिआरको पहिलो सुपरहिट फिल्म, हेर्नुहोस् युट्युबमा


जनमञ्च संवाददाता
  • ६ फाल्गुन २०७८ , शुक्रबार

  • एसएस राजामौली र एनटिआरको पहिलो सुपरहिट फिल्म, हेर्नुहोस् युट्युबमा

    अहिले भारतमा सम्भवतः सबभन्दा चर्चामा रहेका निर्देशक हुन एसएस राजामौली। उनको नयाँ फिल्म ‘आरआरआर’ का कारण पनि उनी चारैतिर छाएका छन्। आरआरआर भारतकै सबभन्दा महँगो र बहुप्रतिक्षित फिल्म हो।

    निर्देशक राजामौली नेपाली दर्शकमाझ पनि राम्ररी परिचित छन्। अहिलेसम्म भारतीय फिल्मको इतिहासमै सबभन्दा बढी कमाउने ‘बाहुबली’ ले उनलाई संसारका धेरै कुनासम्म चिनाएको हो।

    उसो त राजामौलीले आफ्नो निर्देशन करिअरमा आरआरआर समेत गरी जम्मा १२ वटा फिल्म निर्देशन गरेका छन्। दुई दशक अवधिमा उनले निर्देशन गरेका ११ फिल्म रिलिज भए। यी सबै फिल्म सफल भए र दर्शकले रूचाए।

    यसमा पनि उनलाई टलिउडमा राम्रा निर्देशकका रूपमा चिनाएको ‘मगधीरा’ ले हो। यसपछि ‘इगा (मख्खी)’ ले उनलाई भारतभरका दर्शकमाझ चिनायो। अनि बाहुबलीले संसारका धेरै देशका दर्शकमाझ।

    यति चर्चित निर्देशक राजामौलीको पहिलो चलचित्र कस्तो होला त ?

    राजामौलीको पहिलो फिल्म हो ‘स्टुडेन्ट नम्बर वान’।

    सन् २००१ मा रिलिज भएको यो फिल्म टलिउडमा सुपरहिट भएको थियो। यही फिल्मले अभिनेता एनटिआरलाई चर्चामा ल्याएको थियो। आरआरआरसहित राजामौलीका १२ फिल्ममध्ये चार फिल्ममा एनटिआर मुख्य भूमिकामा छन्।

    स्टुडेन्ट नम्बर १ फिल्म हिन्दीमा ‘आज का मुजरिम’ नाममा सार्वजनिक भएको थियो।

    यो फिल्म आदित्य (एनटिआर) पात्रको कथामा घुम्छ। आदित्यका बुवा उनलाई वकिल बनाउन चाहन्छन्। तर उनको रहर भने इञ्जिनियरिङ पढ्ने हुन्छ।

    बुवाको इच्छाअनुसार आदित्य वकिलको परीक्षा दिन जान्छन्। परीक्षा दिन जाँदा बाटोमा केही गुन्डाहरूले एउटी महिलालाई बलात्कार गर्न खोजिरहेको आदित्यले देख्छन्।

    उनले ती महिलालाई बचाउन खोज्छन्। त्यही बेला गुन्डामध्येका एक जना आदित्यको आक्रमणबाट मारिन्छन्।

    आदित्यले यो कुरा केही दिन लुकाउन खोज्छन्। तर बुवाले थाहा पाइहाल्छन्। वकिल बनाउने सपना देखेका छोराले अपराध गरेको थाहा पाएपछि आदित्यलाई उनी ‘हत्यारा’ भन्दै घरबाट निस्केर जान भन्छन्।

    यसपछि आदित्य आफ्नो अपराध लुकाएर बस्दैनन्। उनी प्रहरीकहाँ जान्छन् र सबै कुरा सुनाउँछन्। प्रहरीले यो दुर्घटना हो भने आदित्यलाई सजाय कम हुने बताउँछन्। यसको पुष्टि गर्न प्रहरी आदित्यले बचाएकी युवतीको घरमा सोधपुछ गर्न जान्छन्।

    तर ती युवतीले आदित्यलाई नचिन्ने बताउँछिन्। उनलाई आफ्नो ‘इज्जत जाने’ डर हुन्छ।

    अनि आदित्यलाई हत्या आरोपमा आजीवन जेल सजाय हुन्छ। जेलमा उनले सबैलाई साथी बनाउँछन्। जेलरले उनको कहानीमा विश्वास गर्छन् र उनलाई कलेज गएर कानुन पढ्ने वातावरण मिलाइदिन्छन्।

    उनी जेलबाटै कलेज धाएर पढ्छन्। कलेजमा उनी रहस्यमयी पात्रका रूपमा देखा पर्छन्।

    परीक्षाको अन्तिम दिन उनका बुवा जेलमा आउँछन्।

    उनले बुवा आफूलाई परीक्षाका निम्ति शुभकामना दिन आएको भन्ठान्छन्। तर बुवा त प्रश्नपत्र बाहिर निकाल्न घुस लिएको आरोपमा जेलै परेका हुन्छन्।

    यसपछि मात्र बाबुले पनि छोराको अवस्था बुझ्न सक्छन्। झुटो आरोप वा दुर्घटनामा कसरी मान्छे फस्न सक्छ भन्ने बुझ्छन्।

    अब आदित्यमाथि आफ्ना बुवालाई पनि न्याय दिलाउने जिम्मेवारी आइपर्छ। वकिलका रूपमा उनले पहिलो मुद्दा नै आफ्ना बुवाको हेर्छन्।

    के आदित्यले बुवालाई निर्दोष सावित गर्न सक्लान्? के उनले आफूलाई पनि न्याय दिलाउन सक्लान्? उनलाई कसले मद्दत गर्ला?

    यसका लागि फिल्म हेर्नुहोला।

    ‘स्टुडेन्ट नम्बर १’ एनटिआरको व्यावसायिक रूपमा सफल हुने पहिलो फिल्म हो। उनको अभिनय यही फिल्मबाट दर्शकले मन पराएका हुन्।

    आजभन्दा बीस वर्षअघि बनेको यो फिल्म करिब दुई करोड भारूमा बनेको थियो। यसले त्यो बेलै १२ करोड हाराहारी कमायो। यो फिल्म करिब ४० हलमा १०० दिनभन्दा बढी समय लागेको थियो।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend