पोखरा, ८ फागुन पोखरा महानगरपालिका वडा नं ३२ लामेआहाल स्थित राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयमा ६३ लाख ६७ हजार ८६१ रुपैयाँ लागतमा विद्यालय भवन तथा शौचालय निर्माण गरिएको छ ।
राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाइ(शिक्षा) र जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) को आर्थिक तथा प्राविधिक सहयोगमा दुई कोठे दुईवटा ट्रष्ट भवन एवम् छात्र, छात्रा अपांगमैत्री शौचालय निर्माण गरिएको हो ।
भवनको शनिबार गण्डकी प्रदेशका शिक्षा, संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले उद्घाटन गरे । उनले पोखरा–३२ लामेआहालमा क्षेत्रीय बसपार्क निर्माणका लागि सरकारले बजेटको व्यवस्था गरिसकेकोले अब जग्गा प्राप्तिको पहल अगाडि बढाउने बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिभक्त सिग्देलले विद्यालय आर्थिक लगायतका विविध समस्याका वावजुद विद्यालय अघि बढेको बताउँदै दरबन्दी व्यवस्थापन अपरिहार्य भएको बताए । पोखरा ३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीले विद्यालयको विकासका लागि वडाका तर्फबाट सक्दो साथ र सहयोग रहेको जानकारी दिए ।
विद्यालयका प्रधानाध्यापक केशवराज पौडेलले पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाइ(शिक्षा) र जिल्ला आयोजना कार्यान्वयन इकाइ(शिक्षा) को ४८ लाख ८२ हजार ८५८ रुपैयाँको लागतमा दुई कोठे दुईवटा ट्रष्ट भवन र १४ लाख ८५ हजार ३ रुपैयाँको लागतमा छात्रछात्रा अपांगमैत्री शौचालय निर्माण सम्पन्न भएको जानकारी दिए ।
राधाकृष्ण शान्ति आश्रमका सह अध्यक्ष गणेशबहादुर केसीले विद्यालयलाई दीगो रुपमा सञ्चालन गर्न राज्यले स्थायी दरबन्दीको व्यवस्थापन गरिदिनुपर्ने बताए ।गोगन माध्यमिक विद्यालयका अध्यक्ष मेघराज पौडेलले संस्कृत शिक्षाको विकासका लागि सबैको सामूहिक प्रयास आवश्यक हुनेमा जोड दिए ।
कार्यक्रममा पद्मजगत स्मृति प्रतिष्ठानका अध्यक्ष झलकप्रसाद खनालले विद्यालयको दीगो सञ्चालनमा सहयोग पु¥याउने उद्देश्यका साथ १० लाख रुपैयाँको अक्षयकोष राख्ने घोषणा गरे ।