पोखरा, ८ फागुन – संघीय संसदका सदस्य विद्या भट्टराईले गुणस्तरीय शिक्षाले मात्रै विद्यालयमा विद्यार्थीको आर्कषण वढाउन सकिने बताएकी छन् । भौतिक पूर्वाधार निर्माणले तीव्रता पाए पनि शैक्षिक गुणस्तरमा भने अझै कमजोर नै रहेको उनको भनाइ थियो ।
सांसद भट्टराई पोखरा १६ अर्मलामा रहेको अन्नपुर्ण माविको चार कोठे पक्की भवन, शौचालय र खानेपानीको उद्घाटन कार्यक्रममा बोल्दै थिइन् । शिक्षामा गरिएको लगानी अनुसार प्रतिफल पाउन नसक्नु दुःखद भएको उनको भनाइ छ ।
पोखरा-१६ का वडाध्यक्ष जीवनप्रसाद आचार्यले सवैको सामूहिक प्रयासवाट मात्रै शिक्षामा परिवर्तन गर्न सकिने बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकाजी गुरुङका अनुसार राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना, जिल्ला कार्यान्वयन इकाइको ६८ लाख ६५ हजारको लागतमा पक्की भवन, १४ लाख ४९ हजारको लागतमा शौचालय, र ७ लाख ४० हजारको आर्थिक सहयोगमा सो योजना सम्पन्न भएको हो ।