पोखरा, १३ फागुन – कास्कीको रुपाँ गाउँपालिकामा जम्मा १०२ घरमामात्रै पानी आउँथ्यो । पालिकामा १०२ टोल छन् । ४ वर्षअघिसम्म रुपामा खानेपानीको हाहाकार थियोे । स्थानीयहरु घण्टांै हिडेर पानी भर्न बाध्य थिए । तर, रुपा अहिले त्यस्तो छैन ।
पालिकाका ८५ प्रतिशत घरधुरीमा पानीको धारा पुगेको छ । १५ प्रतिशत घरधुरीमा भने खानेपानी पु¥याउन बाँकी रहेको गाउँपालिकाका अध्यक्ष नवराज ओझा बताउँछन् । उनका अनुसार ९ वर्षअघि नै बनेको योजना कार्यान्वयन नहुँदा सबै घरधुरीमा पानी पु¥याउने योजना सफल नभएको हो ।
३ करोड लागतको सो योजनाको जिम्मा संघबाट प्रदेश सरकारमा सरेको छ । पालिकाले ४ वर्षमा ५४ योजना पूरा गर्दा पनि वडा नम्बर ५ को मज्र्याङकोट खानेपानी योजना, वडा २ को वृहत थुम्की खानेपानी र वडा १ को अमृत खानेपानी आयोजना सम्पन्न हुन नसकेको अध्यक्ष ओझाले बताए ।
‘पहिलो संघीय योजना सुरु भइरहेको थियो, पछि प्रदेशलाई दिइयो’, उनले भने,‘ गाउँपालिकाले बनाउने योजना ५४ वटै पूरा भए । हामी आउनुभन्दा ४ वर्ष पहिला सुरु भएको ३ खानेपानी योजना अझै सुरु हुन सकेको छैन ।’ उनका अनुसार मज्र्याङकोट खानेपानी योजना, वृहत थुम्की र अमृत खानेपानी योजना योजना सम्पन्न नहुनाले पालिकालाई पूर्ण खानेपानीयुक्त गाउँपालिका घोषणा गर्न सकिएको छैन ।
उनले संघीय सरकारले बजेट नै नदिएकाले काम रोकिएको जिकिर गरे । ‘मलाई लागेसम्म ३ योजनाको बजेट पनि जम्मा ३ करोड नै हो । ३ करोड मात्र दिने हो भने योजना सम्पन्न हुन्छ’ उनले थपे,‘तर, त्यो ३ करोड पनि दिन सकेन ।’ उनले वितेका ४ वर्षमा गाउँपालिकाले खानेपानीमा २५ करोडभन्दा बढी लगानी गरिसकेको जानकारी पनि दिए । साना योजनामा हात हाल्ने र काम नगर्ने प्रवृत्तिबाट संघ र प्रदेश सरकार मुक्त हुनुपर्नेमा उनले जोड दिए ।
स्थापना दिवस मनाउँदै
रुपाँ गाउँपालिकाले आफ्नो वार्षिकोत्वको अवसरमा विविध सांस्कृतिक कार्यक्रमसहित अध्यक्ष कप खुल्ला पुरुष भलिबल प्रतियोगिता गर्नेभएको छ । पालिकाले फागुन २३ देखि २७ गतेसम्म विभिन्न प्रतियोगिताहरु गरी वार्षिकोत्सव मनाउने भएको हो ।
बिहीबार पोखरामा पत्रकार सम्मेलन गर्दै गाउँपालिका अध्यक्ष नजराज ओझाले भलिबल,झाँकी, माला प्रतियोगिता तथा रुपा रत्न सम्मान २०७८ प्रदान गर्ने जानकारी दिएका छन् । गाउँपालिकाअन्तर्गत ७ वटा वडाहरुमा लोप हुन लागेको विभिन्न जातजातिहरुको संस्कृति संरक्षण गर्ने लक्ष्यका साथ पालिकास्तरीय झाँकी प्रतियोगिताको आयोजना हुन लागेको हो ।
झाँकी प्रतियोगिताको प्रथमले ४०, दोस्रो हुने टोलीले ३० र तेस्रोले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । खुल्ला पुरुष भलिबलतर्फको विजेताले नगद १ लाख २० हजार, उपविजेताले ९० हजार, तेस्रो हुनेले ६० हजार र सान्त्वनन हुने टिमले ३० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उत्कृष्ट स्पाइकर, उत्कृष्ट सर्भर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर र उत्कृष्ट लिब्रोले समान ३÷३ हजार रुपैयाँ प्राप्त गर्नेछन् । गाउँपालिकाले सोहि अवसरमा पालिकाले पाँच वर्षमा गरेका प्रगति विवरणका साथै पञ्चवर्षीय योजनाको समेत सार्वजानिक गर्ने कार्यक्रम रहेको छ ।