बागलुङ, १३ फागुन – बाग्लुङ नगरपालिकाका तत्कालीन प्राविधिक प्रमुख दयाराम अधिकारी सहित आठ जना विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्राविधिक अधिकारी सहित आठजनाविरुद्ध ५ लाख ९० हजार रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा शुक्रबार मुद्दा दायर गरेको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए ।
उनीहरुले बाग्लुङ नगरपालिकाले कामै नभएको काममा काम भएको देखाएको, निर्माणाधीन बसपार्कमा कामै नभएकोमा भुक्तानीमा सही गरेको भन्दै उनीलाई ५ लाख ९० हजार बिगो कायम गरी जरिवाना र कैद सजाय माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
बागलुङ नगरपालिकाका उपप्रमुख सुरेन्द्र खड्का, इञ्जिनियर मनोज शर्मा, सवइञ्जिनियर घनश्याम रिजाल, बागलुङ नगरपालिका–४ का अध्यक्ष ध्रुवबहादुर केसी, बागलुङ बसपार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष सुभाषचन्द्र राजभण्डारी, कोषाध्यक्ष भीम कुमारी आचार्य र सचिव गुणनिधि शर्माबिरुद्ध मुद्धा दायर भएको हो । केही समयअघि निर्माण सम्पन्न भएको आधुनिक बसपार्कमा कामै नभएकोमा भुक्तानी दिएको अख्तियारले उल्लेख गरेको छ ।
दावगह्रा बसपार्क निर्माण योजनामा माटो खन्ने, सम्याउने, ढुंगा बिछ्याउने लगायतका काम कागजमा लेखिएको र कार्यस्थलमा नदेखिएको भन्दै प्राबिधिक प्रमुख रिजाल र इञ्जिनियर शर्माले पाँच लाख नब्बे हजार पाँच सय नौ रुपैयाँ सरकारी हानि नोक्सानी गरेको अख्तियारको आरोप छ । उनीहरुले फिल्डमा नभए नगरेको कामहरू लागत अनुमानमा भन्दा केही आईटमहरूमा नापी किताबमा अस्वभाविक रूपमा परिमाण परिवर्तन गरेको अख्तियारले बिज्ञप्तीमा उल्लेख गरेको छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) को कसुर गरेको भन्दै दयाराम अधिकारी, घनश्याम रिजाल र मनोज शर्मालाई ऐनको दफा ८ को उपदफा (१) बमोजिम सजाय माग गरिएको हो । दावगह्रा बसपार्क निर्माण योजनामा वडाध्यक्ष ध्रुव बहादुर केसीले वडाबाट गरेको अनुगमन प्रतिवेदन संतोषजनक रुपमा सम्पन्न भएको भनी पेश गरेको आरोप अख्तियारले लगाएको छ ।
‘नगर उपप्रमुख सुरेन्द्र खड्का संयोजक र इन्जिनियर मनोज शर्मा सदस्य सचिव भएको समितिबाट फिल्डमा भएगरेको कामहरू बास्तविक रुपमा भए नभएको एकिन गरी अनुगमन प्रतिवेदन तयार गर्ने तथा सिफारिस गर्ने जिम्मेवारीविपरीत तोकिएको कार्यसम्पन्न भएको भनी विभिन्न कामहरूको परिमाणसमेत उल्लेख गरी प्रतिवेदन दिएको तथा फरफारकको लागि सिफारिससमेत गरेकोले’ अख्तियारले बिज्ञप्तीमा उल्लेख गरेको छ ‘निज ध्रुब बहादुर के.सी., सुरेन्द्र खड्का र मनोज शर्माले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) को कसुर गरेको देखिँदा निजहरुलाई ऐ.ऐ. ऐनको दफा १९ को उपदफा (२) बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।’
फिल्डमा भए गरेको कामहरू वास्तविक रुपमा भएको कार्यभन्दा बढी मुल्यांकन गराई भुक्तानी माग गर्ने गरेको तथा कार्यसम्पन्न भएको भनी सम्झौताबिपरीत काम गरेर ५,९०,५०९.४८ (रुपैया पाँच लाख नब्बे हजार पाँच सय नौ पैसा अड्चालिस मात्र) माग गरेको भन्दै बसपार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष सुभाषचन्द्र राजभण्डारी, भीम कुमारी आचार्य र गुणनिधि शर्माबिरुद्ध मुद्धा दायर भएको अख्तियारले जनाएको छ । उनीहरुलाई कसुर अनुसारको सजाएँ माग गरिएको सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए । मुद्धा दायर भएसँगै कर्मचारी र पदाधिकारी निलम्वित हुने कानूनी व्यवस्था छ ।