८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

कथा: रमिताको भट्टी


मुना चौधरी
  • १४ फाल्गुन २०७८ , शनिबार

  • कथा: रमिताको भट्टी

    उदास आँखामा अथाह प्यास थियो । सियो–धागोले सिउन नसकिने उध्रेको मन थियो । विनाअँध्यारोको रात र विनाउज्यालोको दिन भएको रमिताको मनको मैदान खाली थिएन ।

    कसैको पर्खाइमा बस्दा छुट्टै आह्लादित थिइन् उनी । अनिदो रात सूर्यका लागि तड्पिरहेको थियो । आशा थियो, सूर्य फेरि फर्केर आउनेछ उही जाँगर र उही पे्रमिल बिहान बोकेर ।

    नीरवमय रातमा छटपटिको त्यान्द्रा बढिरहेको थियो । आत्मानुभूतिको अँगालोमा तृप्त हुने गरी आँखाहरू निदाएको थिएन ।जब उनका लोग्नेले छेउ बसेर उनको काँधमा हात राखे, उनले घुम्टो उघारेर आँसुले लतपत भिजेका आँखाले हेरिन् । अपरिपक्व प्रेमको वियोग खेपेको आँखाको भाव प्रस्ट्याउन खोजिन् । मनको बह आँखाले पोख्दै सबै तडप बुझाउने प्रयास गरिन् ।

    उनको आँखा पढ्न सक्ने सामर्थ्य उनको लोग्नेमा थिएन । उनले लोग्नको अनुहारमा ताराकान्तलाई खोजिन् । ताराकान्तको प्रेमले हृदयको कुनाकुना स्पर्श भएको थियो । मनमा लोग्ने अटाउने कतै ठाउँ थिएन ।

    उनको मनको कुनाकाप्चामा ताराकान्तको आकृति थियो । उनी उदास थिइन् । मनमनै तडपका साथ भनिन्– मलाई मेरो ताराकान्त ल्याइदिनुस् । म ऊविना बाँच्न सक्दिनँ । उसले मेरो सिउँदोमा सिन्दूर हालेको छ ।

    लोग्नेले उनको तडपलाई बेवास्ता गर्दै फेरि प्रेमपूर्वक उनको गालामा चुमे । उनलाई लोग्नेको स्पर्श पराई पुरुषको जस्तो खल्लो र दिक्कलाग्दो लाग्यो । उनले क्रोधित हुँदै भनिन्, ‘हमरसे दुर रह् ।’
    ‘कथिले हमरसे बियाह करलिही ?’
    ‘हम नै मानैचियै यी बियाह ।’

    उनको व्यवहार देखेर उनका लोग्नेले सोधे, ‘गामके छौरासे प्रेम करने छेलहि ?’
    लोग्नेको कुरा सुनेर उनको हृदयमा एक प्रकारको स्फूर्ति पैदा भयो । उनलाई डर लागेन । बरु, खुसी भइन् । उनलाई लाग्यो, सबै कुरा लोग्नेलाई बताए यहाँबाट निस्किन दिन्छन् । सदासदाको लागि ताराकान्तकहाँ पठाउनेछन् ।

    उनले साहसका साथ भनिन्, ‘हँ, हम् ताराकान्तसे प्रेम करने चियै । ऊ हमरा सिनुर देने छै ।’

    जवाफ सुनेर उनको लोग्ने केही बोलेनन् । लाग्यो, उनको कुरा सुनेर गाली गर्नेछन् वा तेरो प्रेमीसँग जा भन्ने छन् । तर, त्यस्तो केही भनेनन् । केही जवाफ नआउँदा उनले अनुमान् लगाइन्, सबै कुरा थाहा हुँदाहुँदै पनि उनले रमितालाई स्वीकारेका हुन् । केही प्रतिक्रिया नपाउँदा उनी रिसाइन् ।

    ‘तँ बूढी भइसके पनि तँलाई म भगाएर ल्याउनेछु ।’ प्रेमी ताराकान्तले गरेको यही वाचा उनको मस्तिष्कमा अहिलेसम्म तरंगित भइरहेको थियो । तर, उनले सबै दायरालाई भत्काउन सकिनन् । उनी बाआमाको चेपुवामा पर्न बाध्य भइन् । उनलाई बेस्सरी विरोध गर्न मन लागेथ्यो– म ताराकान्तसँग जान्छु ।

    उनको कानमा ‘आँम गाच्छीमे पुल्लीडन्डा खेलैले चल’ उही प्रिय र सुन्दा कहिले कान नथाक्ने ताराकान्तको आवाज गुन्जिन्थ्यो । डगहरबाट इसारा गर्दै बोलाउने ताराकान्त जो उनको मानसपटलमा ताजा हुने गरी बसेका थिए ।

    ती दिनहरू फेरि फर्केर आउने छन् वा छैनन्, उनलाई थाहा छैन । तर, ताराकान्तको आशा उनले अझैसम्म मार्न सकेकी थिइनन् । उनी प्रत्येक पल ताराकान्तकै लागि तड्पिरहेकी थिइन् ।

    विछोडको तडपले उनको हृदयलाई रुवाउँथ्यो । सम्झनाले उनको मनलाई पिरोल्थ्यो । ताराकान्तको सम्झनामा हराउँदा उनी आफैँलाई बिर्सिन्थिन् । टोलाउँथिन् निःशब्द आँखाले ।

    उनको हृदयमा राज गर्ने ताराकान्तले उनलाई खेल्न बोलाएको सुनेर उनकी आमा रिसाउँदै भन्थिन्, ‘हमर बेटीसे दूर रह ? हमर घर नै या ।’

    रमिताकी आमा रिसाएको देखेर ताराकान्त उदास मन र निराशनिराश आँखाले उनको घरतिर हेर्दै फर्किन्थे । रमिता खेल्न नआउँदा उनी पटकपटक रमिताको घरतिर हेर्दै खेल्थे ।

    दुई दिनसम्म रमिता खेल्न नआउँदा एक दिन उनले बडो साहसका साथ रमिताकी आमालाई सोधे, ‘बरका मैया ! रमिता कत छौ ?’
    ‘कथिले रौ ?’
    ‘खेलैले नै आबै छौ, कथिले ?’
    ‘रमितासे दूर रह तु । अतसे भाग् ।’

    रमिताकी आमाले रिसाउँदै डाँट लगाएपछि उनी डराउँदै आफ्नो घरतिर दौडिए । त्यति बेला नै खुट्टामा ठेस लाग्यो । ठेस लाग्दा कच्च बोल्यो । उनको खुट्टाको बूढीऔँलाको नङ निस्कियो ।

    उनी जहाँको त्यहीँ बसे । नङ निस्केर रगत बग्न थाल्यो । रक्ताम्मे खुट्टा लिएर सकिनसकी उनी हिँड्दै घर पुगे ।

    उनकी आमाले राति घाउमा खाँटी तेल तताएर लगाइदिन्थिन् । महिनौँ लागेको थियो नयाँ नङ पलाउन र घाउ सन्चो हुन ।

    बालविवाह भएकी रमिता सानैदेखि घर–व्यवहारको जिम्मेवारीले थिचिएकी थिइन् । उनले लोग्नेलाई देखेकी भने थिइनन् ।

    विस्तारै दिन बित्दै थियो । बालसखा ताराकान्त र रमिता ठूला हुँदै गए । उनीहरूबीच अपरिपक्व प्रेमको बीउ उम्रिँदै गयो । कहिले अनुहार नदेखेको लोग्नेभन्दा उनी ताराकान्ततिर आकर्षित हुन थालिन् ।

    उनी कल्पनामा रमाउँथिन् । ताराकान्तसँग आफ्नो संसार सजाउने सपना देख्थिन् । उनको मनभित्र रहेको यो गोप्य राज ताराकान्तबाहेक कसैलाई थाहा थिएन ।

    उनीहरू बाआमाको आँखा छलेर घर पछाडिको गोरहा बारीमा भेट्थे । अपरिपक्व प्रेमको आडमा ताराकान्त रमितालाई भन्थे, ‘हम तोहरसे बियाह करबौ ।’
    यो कुरा सुनेर रमिता टाढा हेरेर टोलाउँथिन् । टोलाउँदै निराश मनले भन्थिन्, ‘हमरा बियाह भ्यागेल छै ।’
    ‘कैहिया ?’
    ‘कनियेटामे ।’

    उनको जवाफ सुनेर ताराकान्तको मन खिन्न हुन्थ्यो । हजारौँ टन भारी बोकेजस्तो दुवैजनाको मन गह्राँै हुन्थ्यो । मनमा एक प्रकारको अप्रसन्नता, असहज स्थिति सिर्जना हुन्थ्यो ।

    दुवै एकार्कालाई निराश आँखाले हेर्थे । दुवैका आँखाले यही भनिरहेको हुन्थ्यो– सानैमा बिहे नभइदिएको भए हुन्थ्यो नि ! मन परेको मान्छे किन कहिल्यै आफ्नो हुँदैन ? मन परेको मान्छेलाई आफूले जिउ, ज्यानले चाहँदाचाहँदै पनि किन पराई मान्छेको भइदिन्छ ?

    सानैदेखि उनले सिन्दूर र सारी लगाएकी हुन्थिन् । खेल्ने बेलामा ताराकान्तले धेरैपटक सोधेका थिए, ‘तोहे मुरीमे यी ललका कथि लगाइने चिही ?’
    ‘सिनुर ।’
    ‘कथिले सिनुर लगाइने चिही ?’
    उनलाई पनि थाहा थिएन बिहे भएको केटी मान्छेले सिन्दूर लगाउनुपर्छ भन्ने । उनले जवाफ फर्काउँदै भन्थिन्, ‘हमर मैया लग्या दैछै सिनुर ।’

    पढाइ र प्रेम कस्तो हुन्छ ? उनले कहिले अनुभूत गरेकी थिइनन् । यद्यपि, ताराकान्तको प्रेममा परेर उनी प्रेमको अनुभूति गरिरहेकी थिइन् ।

    हातमा कुचो र काँधमा जिम्मेवारी बोकेर जन्मेकी केटी, जातीय भेदभावको दायरामा हुर्केकी थिइन् । उनलाई घरको कामबाहेक अन्य सांसारिक कुराको ज्ञान थिएन ।

    उनलाई सिकाइयो, ठूला र साना जात, भेदभाव । उनी धेरैपटक ताराकान्ततिर हेर्थिन् । ताराकान्तलाई पनि आफूजस्तै देख्थिन् । फेरि सोच्थिन्– मेरा बाजस्तै ताराकान्तका बा पनि देखिन्छन् । तैपनि, ताराकान्त र उनका बा किन, कसरी सानो जातका ?

    उनीहरू एउटै गाउँका थिए । ताराकान्तका बा फलामको काम गर्थे । गाउँभरिका मान्छेहरू हँसियामा धार लगाउन ताराकान्तको घर आउँथे । धान काट्ने बेला मंसिर, पुस महिनामा रमिता पनि धान काट्ने हँसिया बोकेर धार लगाउन ताराकान्तको घरमा जान्थिन् । उनी हाँसियामा भएको पुरानो धार ढुंगामा घोटीघोटी मार्थिन् । धार मारेपछि ताराकान्तका बाले नयाँ धार लगाइदिन्थे हँसियामा ।

    गाउँभरिका मान्छे बिहानै हँसियामा धार लगाउन ताराकान्तको घरमा लाम बस्थे । आँगनमा छ–सातवटा मझौला ढुंगा राखिएका थिए । लाम बस्दै मान्छेहरू ती ढुंगामा हँसियाको धार मार्थे ।

    उनी सोच्थिन्– हाम्रा बाले खेतमा काम गर्नुपर्छ । मेलापात जानुपर्छ । घाममा जिउको छाला डढाउनुपर्छ । तर, ताराकान्तका बा घरमा बसीबसी हँसियामा धार लगाउँछन् । त्यति राम्रो काम गरेर पनि गाउँलेहरू किन उनलाई तल्लो जातका भनिरहेका छन् ?

    रमितालाई ताराकान्त र उनका बाआमा कहिल्यै तल्लो जातका लागेनन् । ताराकान्तको दिदीको बिहेमा उनको घर गएर भोज पनि खाइन् ।

    ताराकान्तलाई रमिताका बाआमा ‘तँ मेरी छोरीको छेउछाउ नआ’ भन्थे । उनी बाल्यकालदेखि जातको विवादले हेपिएका थिए । यही भेदभावले उनी बाल्यकालदेखि क्रोधित थिए ।

    रमिता १६ वर्षकी थिइन् । माघ महिनाको चिसोमा बिहानै मिठो घाम लागेको थियो । उनी आँगनको काम सकाएर घर पछाडिको गोरहा बारीमा गोरहा (गुइँठा) बनाइरहेकी थिइन् । उनका बा र दाइ छेउको खेतमा आलुको दङ (ड्याङ) बनाइरहेका थिए ।

    ताराकन्त आवेशमा थिए । मुठीभरि सिन्दूर हातमा लिएर घरबाट निस्के । त्यो दिन रमिताले बिहानै नुहाएकी थिइन् । सिन्दूर लगाएकी थिइनन् । गोरहा बनाइरहेकी रमिताको सिउँदोमा उनले पछाडिबाटै मुठीभरि सिन्दूर हालिदिए । र, सिन्दूर हाल्दै भने, ‘हम तोहरसे बियाह करलियै । आइसे तोहे हमर घरबाली भेलही ।’

    उनको टाउको र अनुहारभरि सिन्दूरको धुलो पर्यो । उनी खुसी हुनुको सट्टा डराइन् । उनी केही बोल्न नपाउँदै सिन्दूर हालेको देखेर दङ बनाउँदै गरेका उनका बा र दाइ ताराकान्तलाई कुट्नका लागि दौडे । उनका बा पस्नी र दाइ कोदालो लिएर दौडेका थिए ।

    रमिताका बाले ताराकान्तको ढाडमा पस्नीको बिँडले बेस्सरी हाने । लड्न लागेको ताराकान्त आफूलाई सम्हाल्दै उठे । फेरि रमिताका बाले उनलाई हान्न खोज्दा ताराकान्तले उनका बाको हात समाते ।

    पछाडिबाट रमिताका दाइले कोदालो उचालेर ताराकान्तलाई काट्न खोजे । कोदालो उचालेको देखेर रमिताका बालाई पर हुत्याउँदै ज्यान जोगाएर ताराकान्त भागे । उनले भाग्दै भने, ‘हम रमितासे बियाह करलियै । रमिता हमर घरबाली चियै ।’

    रमिता चाहन्थिन् उनको विवाह टुटोस् । उनका बाले रमितालाई भने, ‘तोहे ताराकान्तसङे जेबही त हम बिख ख्यालेबौ ।’
    ताराकान्तसँग गएँ बाले विष सेवन गर्ने कुरा सम्झेर उनी डराइन् । त्यसैले उनले ताराकान्तलाई भेटेर ‘हम तोहरसङे नै जेबौ’ भनिन् । ताराकान्त आवेशमा आए । उनले क्रोधित भएर भने, ‘हम तोहर घरमे आइग लग्या देबौ ।’
    उनी केही बेलिनन् । घर फर्केर खुलेरै विरोध गर्दै आमालाई भनिन्, ‘हम ताराकान्तसे प्रेम करैचियै ।’

    उनकी आमालाई थाहा थिएन प्रेम र त्यसको तडप । उनकी आमाले प्रेमको अनुभूति कहिल्यै गरेकी थिइनन् । उनको बाको इच्छानुसार जीवन बिताएकी थिइन् ।
    पितृसत्ताले थिचिएकी उनकी आमा उनको बाको विरोध गर्न चाहन्थिन्, तर विरोध गर्न सकिरहेकी थिइनन् ।

    त्यसउपरान्त रमिताका बाले उनको ससुरालीका मान्छेलाई खबर गर्दै आफ्नी बुहारीलाई दुरागमन (गौना) गराएर लैजान समाचार पठाए । हप्ता दिन उनको तडपका साथ बित्यो । उनका ससुरालीपट्टिका मान्छेले सबै कुरा थाहा पाएर पनि उनलाई लिएर गए ।

    उनका लोग्ने घरमा भट्टी चलाउँथे । उनी दिनभरि घरको काममा व्यस्त हुन थालिन् । काममा जति व्यस्त भए पनि उनी पलपल ताराकान्तलाई सम्झिरहेकी हुन्थिन् ।

    ताराकान्तलाई सम्झँदा उनको मन खुसी हुनुको सट्टा दुख्थ्यो । उनी भित्रभित्रै रुन्थिन् । त्यति बेला बाआमाको विरोध गर्दै ताराकान्तसँग भाग्न नसकेकोमा आफूलाई थुकिरहेकी थिइन् । ताराकान्तसँग बस्ने सहास जुटाउन नसकेकोमा पछुताइरहेकी थिइन् ।

    उनी गइसकेपछि ताराकान्त बौलाहाजस्तै भएका थिए । रमिता पनि ताराकान्तलाई बिर्सिन सकिरहेकी थिइनन् ।

    समय चलिरहेको थियो आफ्नै गतिमा । एक वर्ष बितिसकेको थियो । ताराकान्तका बा बिते उनकै चिन्ताले । ताराकान्तले पुर्ख्यौली सीप सिकेका थिएनन् । घरमा आमा र बैनीलाई पाल्नुपर्ने जिम्मेवारी उनीमाथि थपियो । उनी जिम्मेवारीले थिचिएपछि ऋण लिएर विदेशिए ।

    रमिताका लोग्ने बाल्यकालदेखि नै मुटुरोगी थिए । समयसमयमा बिरामी परिरहन्थे । सबै कुरा थाहा पाएर पनि उनलाई स्वीकारेकोमा सुरुमा रमितालाई दुःख लाग्यो । ताराकान्तसँग आफूलाई छुटाएको दोष लोग्नेको थाप्लामा थुपारिन् पनि ।

    तर, लोग्ने बेलाबेलामा बिरामी परिरहँदा उनलाई लोग्नेको औधी माया लाग्न थाल्यो । एक दिन उनका लोग्नेको मुटु चल्न बन्द भयो । लोग्नेको असामयिक निधनपछि उनको काँधमा सासू, ससुरा र तीनजना नन्दहरूको पालनपोषणको जिम्मेवारी थपियो ।

    दारुको भट्टी चलाउने मान्छे नभएर घर खर्च धान्न धौधौ परिरहेको थियो । अभाव र जिम्मेवारीले थिचिएपछि रमिताले भट्टी चलाउन थालिन् । उनलाई भट्टी चलाउने अनुभव थिएन । कहिले चलाएकी नै थिइनन् । तर, जिम्मेवारीले थिचिएपछि लोग्नेले गरेकै काम समातिन् ।

    हिसाब गर्न जान्दिनथिन् । एक बीस, दुई बीस औँलामा गनेर हिसाब गर्थिन् । रुपैयाँ चिन्दिनथिन् । उनलाई यति थाहा थियो पाँच बीस सय रुपैयाँ हुन्छ । भट्टीमा रक्सी खान आउनेले पैसा दिँदै पैसा चिनाइदिन्थे । विस्तारै उनले रङका आधारमा पैसा चिन्न थालिन् ।

    रमिता पूरा समय भट्टीको काममा व्यस्त हुन थालिन् । उनको भट्टी राम्ररी चल्न थाल्यो । काममा व्यस्त हुँदा उनले विस्तारै ताराकान्तलाई बिर्सँदै गइन् ।

    भट्टीमा आउने पुरुषहरू मन खोलेर कुरा गर्थे । बोल्न नसक्ने सबैसँग डराउने उनी विस्तारै बलियो र निडर भइन् ।

    एक दिन रामहरि नामको मान्छेले उनको तिघ्रामा स्पर्श गर्दै भने, ‘साउनी कि छै ? ठिक चिही ने ?’
    उनलाई रामहरिको स्पर्श नराम्रो लाग्यो । उनले हातमा हिर्काउँदै रिसाएर भनिन्, ‘हात हटा ।’
    रामहरिको आँखा रातो थियो । बोली लरबराइरहेको थियो । उनले हातमा हानेको देखेर नाटक गर्दै रोयो । छिनमै हाँस्यो । उनको वक्षस्थलतिर हेर्दै थुक निल्यो । फेरि हाँस्यो ।
    उनले आफनो वक्षस्थलतिर हेरेको थाहा पाएर सारीको आँचल माथि सम्याउँदै ल्याइन् । रामहरिको आँखा तिरमिराइरहे पनि उनको छातीतिर हेर्न छोडेको थिएन ।
    ऊ खित्का छोडेर हाँस्यो । फेरि, रोएको जस्तो अभिनय गर्यो । ऊ जहाँको त्यहीँ निदाउन लागेको थियो ।
    निदाउन लागेको देखेर भट्टी बन्द गर्न लागेकी रमिताले रामहरिको हात समात्दै उनलाई जबरजस्ती भट्टी बाहिर बसाइन् । रामहरि त्यहीँ निदायो ।

    दिनदिनै उनको भट्टीमा आउने पुरुषहरू उनी काममा व्यस्त भएको बेला कसैले पछाडिबाट पाखुरा समाउँथे । कसैले पिठ्युँमा बेस्सरी धाप मार्थे । कोही गाला छुन आउँथे ।
    गाला छुन आउनेको हात समातेर उनी पर हुत्याउँदै भन्थिन्, ‘अतसे अखैन निकल ।’
    उनको कुरा सुनेर नौटंकी पारामा हाँस्दै भन्थे, ‘अइ, साउनी ! कथिले पिताइलही ? नै पिताइ न ।’

    कोही उनको जिउभरि आँखा डुलाउँथे । कोही मनभरि आफ्ना शत्रुलाई गाली गर्थे । कोही विनाकारण खित्का छोडेर हाँस्थे । कोही मनपरी तरिकाले फतफताउँथे । कोही खुसीले उफ्रिन्थे ।

    अंग्रेजी बोल्न नजान्नेले पनि पिएका बेला मनपरी अंग्रेजी बोल्थे । बढाइचढाइ कुरा गर्थे । कसैले आफ्नै छोराछोरीको प्रशंसा गर्थे । कोही आफ्नै परिवारबारे नचाहिँदो कुरा काटिरहेका हुन्थे ।

    यथार्थमा, त्यहाँ आउने प्रत्येक मान्छेले मनभित्रको भडास निकाल्थे र आफूलाई चिन्तामुक्त अनुभव गर्थे ।

    कोही भने आफ्नै सम्पत्तिको धाक देखाउँथे त कोही गरिबीको चपेटामा परेको गुनासो पोख्थे ।

    गाउँकै बिन्दीले एक घुट्को पिउँदै उनको पिठ्युँ पछाडिबाट मुसार्दै भन्यो, ‘हमरा एक गिलास ला ।’ उनलाई बिन्दीको स्पर्श नराम्रो लाग्यो ।
    ‘हमरा कथिले छुबलिही हँ ?’ उनले जवाफ फर्काइन् ।
    ‘तोहर घरबला नै छो । तोहर मन हमरा बुझहैले परतै,’ उसले अर्को घुट्को पिउँदै उनको छातितिर हेर्दै भन्यो ।
    यो सुनेर उनले भनिन्, ‘अतसे जो । निकल् ।’
    रमिताको कुरा सुनेर ऊ घरी हाँसिरहेको थियो, घरी रिसाइरहेको थियो ।
    उसको नाटकीय अभिनयलाई रमिताले वास्ता गरिनन् ।

    सधैँ आउने अर्को ग्राहक धरमले उनको गालामा स्पर्श गर्दै भन्यो, ‘तोहरमे जवानी और बाँकी छौ ।’
    उनले धरमको हात फट्कारेर पर हुत्याउँदै भनिन्, ‘धरम ! हात आपन बशमे राख् । ग्राहक चिही । ग्राहक जेखा रह ।’

    यसरी रमिता भट्टी चलाएर परिवार पालिरहेकी थिइन् । भट्टी चलाएरै तीनजना नन्दको विवाह गराइन् । र, आफ्नो काँधमा आएको जिम्मेवारी पूरा गरिन् ।

    एकल महिला भएर भट्टी चलाएकोमा गाउँलेहरूका आँखामा बिझ्न थालिन् । गाउँलेहरूले उनको प्रगति देख्न सकेनन् । उनका बारेमा नानाभाँती कुरा काट्न थालेँ ।

    ‘ऊ भट्टीमा अश्लील काम गर्छे । माइतीमा तल्लो जातको केटोले सिन्दूर हालिएकी स्वास्नीमान्छेको के भर ! गाउँका पुरुषलाई बिगारीरहेकी छे’ भन्ने आरोप उनीमाथि लगाउन थाले ।

    गाउँलेहरूले कुरा काटेको सुनेर सासूससुराले उनलाई भट्टी बन्द गरी मेलापात गरेर घर चलाउन अह्राउँदै भने, ‘भट्टी नै चला आब ।’
    ‘कथिले ?’
    ‘गामके लोक नै निक बात काटैछै ।’
    ‘केहेन बात काटैछै ?’
    ‘दुई नमरके धन्दा करैचिही कहैछै ।’
    ‘के कहै छै ?’
    ‘सैब कोइ ।’
    ‘लोकके काम चियै बात कट्नाई । काटे दहै बात् ।’

    उनले धैर्यताका साथ सोचिन् । सासूससुरालाई सम्झाइन् । व्यापार चलाउनु कुनै गलत कुरा होइन । व्यापार गर्ने अधिकार पुरुषसरह महिलाको पनि छ । त्यही भट्टी उनका लोग्नेले चलाउँदा कसैले कुरा काट्दैनथे । उनले चलाउँदा कुरा काटेको देखेर उनले आफू अन्यायमा परेको अनुभव गरिन् ।

    गाउँका पोषण पनि लोग्नेस्वास्नी मिलेर भट्टी चलाउँथे । गाउँका अझै दुईजना बजारमा विदेशी मदिराका दुकान चलाउँथे । उनीहरूका बारेमा कसैले कुरा काट्दैनथे ।

    तर, रमिता एक्लैले भट्टी चलाउँदा उनलाई अश्लील काम गरेको आरोप लगाए । उनी आफूमाथि झुटो लाञ्छना लगाएकोमा क्रोधित पनि भइन् ।

    उनले मनमनै भनिन्– मान्छेले जे सोचे सोचून् । सोचाइ अश्लील भएकाहरूले जस्तोसुकै भलाद्मी मान्छेलाई पनि अश्लील देख्छन् । कसले मेरो बारेमा के सोच्छ त्यसको पछि लागेर म टाउको दुखाउँदिनँ । मेरा बारे जसले जे सोचे सोचून् । म आफ्नो बारेमा के सोच्छु, त्यसैमा विश्वास गर्छु ।

    पुरुष नभएको स्वास्नीमान्छेलाई गाउँलेहरूले लाञ्छना लगाउन छोडेनन् । जति लाञ्छना लगाए पनि उनले पनि भट्टी चलाउन छोडिनन् । संघर्ष गर्न थाकिनन् ।

    उनले काममा व्यस्त भएर आफ्नो स्याहार गर्न समय दिन सकेकी थिइनन् । उनी पहिलेभन्दा मोटाइसकेकी थिइन् । उनको अनुहारभरि पोतो आइसकेको थियो । पहिलेभन्दा भद्दा देखिन्थिन् ।

    पाँच वर्षपछिको एक साँझ । खुइलेको तालु, दुब्लो मान्छे रमिताको भट्टीमा आयो । तर, हिँडाइ उही, आवाज उही थियो । उनले हिँडाइ र बोलीले नै त्यो मान्छेलाई चिनिन् ।

    उनी अरू कोही नभएर ताराकान्त थिए । उनले ताराकान्तलाई देखेर पहिलाको खाइलाग्दो ताराकान्तलाई सम्झिइन् । उनको मनसपटलमा पहिलाको सबै सम्झना एकाएक ताजा भएर आयो ।

    त्यस दिन ताराकान्त उनको भट्टीमा धेरै बेरसम्म बसे । दुवैजनाले दुःखसुखका कुरा गरे ।

    रमिताले बडो आशाका साथ ताराकान्ततिर हेरिन् । ग्राहकहरू पातलिन थालेपछि  उनले ताराकान्तलाई भनिन्, ‘हमरा ल्याजेबही, अतसे घरबाली बन्याके ?’ मलाई लैजान्छौ ?’

    उनको कुरा सुनेर ताराकान्तले उनको पाउदेखि शिरसम्म हेर्दै भने, ‘तोहे बुर्ह (बूढी) भ्यागेलचिही ! एहन बुर्ह लोकके हम नै लजाइबौ ।’

    आफूलाई स्वास्नी बनाएर लैजान गरेको अनुरोधमा ‘तँ बूढी भइसकेकी छेस्, यस्तो बूढीलाई कसले स्वास्नी बनाएर लग्छ ?’ भन्ने ताराकान्तको कुरा सुनेर रमिताको अनुहार उदास भयो ।

    उनको मनमा अथाह पीडा उब्जियो । उनले जसको प्रतीक्षा मनमनै आजसम्म गरेर बसेकी थिइन्, त्यही मान्छेले बूढी भनेपछि उनको मनको कुनाकुना टुक्राटुक्रा भयो ।

    उनको जिउको सबै ऊर्जा हराएजस्तो भयो । संसार नै नरमाइलो लाग्यो । उनलाई बूढी देख्ने ताराकान्तको कुरा सुनेर उनी निराश भइन् । उनले सोचिन्– ताराकान्तको आशा मनमा बोकेर बस्नु मूर्खता थियो । म बूढी हुने, ऊचैँ सधैँ जवान रहने !

    उनले ताराकान्तलाई खरो जवाफ फर्काउँदै भनिन्, ‘हमर घरबला रहतियै त हमरा कैहियो ने बुर्ह देखतियै । हम कतबोहोक बच्चाके महताइर भेलरहतियै त ऊ सैब दिन एकेरङ प्रेम हमरा करैत रहतियै । हम नेङर रहतियै त हमरा जीवन भोइर बैठ्याके खियेतियै । तोहे हमर प्रेमी ने भेलही । ओहोमे भूतपूर्व । प्रेमी जवानी रहैछै ताब तक मात्रे प्रेमीकाके रोजैछै ।’ (मेरा लोग्ने भइदिएका भए मलाई कहिले बूढी देख्ने थिएनन् । म जतिजना बच्चाको आमा बनिसके पनि मलाई सधैँ एउटै थरीको माया गरिरहन्थे । म अपांग भए पनि मलाई बसाएर खुवाउँथे । तँ आखिरमा मेरो प्रेमी त होस् । त्योे पनि भूतपूर्व । प्रेमीले जवानी छउन्जेल प्रेमिकालाई रोज्ने त हो ।)

    ताराकान्तले उनको पाउदेखि शिरसम्म हेरेको देखेर उनले पनि ताराकान्तको शिरदेखि पाउसम्म हेर्दै फेरि थपिन्, ‘तोहे छौरा आद्मी भेलाके कारणसे अपने आपके जवान देखै चिही ने ? हम बुर्ह देखैचियै त तुहु बुर्ह देखैचिही ? तोरो गाल सुइखके भित्रर ढुइक गेलछौ । कनचैट लगके तोहर सैब केस पाइक गेलछौ ।’
    उनको यस्तोे कुरा सुनेर ताराकान्त केही नबोली निस्केर गए ।
    ताराकान्त भट्टीबाट निस्केपछि ताराकान्तका लागि पलाइरहेको प्रेम उनले मनमनै जलाइन् ।

    जसका लागि उनी अहिलेसम्म पर्खिरहेकी थिइन्, त्यही मान्छेले त्यस्तो भनेपछि उनको मनमा ताराकान्तप्रति घृणा जागृत भयो । उनले ताराकान्तको प्रतिमा त्यही दिनबाट आफ्नो मनबाट पनि हटाइन् । रमिता अझै पनि भट्टी चलाइरहेकी छन् । नराम्रो नियतले स्पर्श गर्ने पुरुषहरूलाई उनी भट्टीबाट निस्कने आदेश दिन्छिन् । उनले विरोध गरेको देखेर उनलाई स्पर्श गर्ने प्रयास कसैले गरेका छैनन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend