काठमाडौं, १५ फागुन – अमेरिकी सहायता सम्झौता एमसीसी संसदबाट अनुमोदन गराउने विषयमा सहमति गर्न सत्ता गठबन्धनका चार दलका शीर्ष नेताबीच छलफल हुँदैछ।
सत्ता गठबन्धनमा रहेका राष्ट्रिय जनमोर्चाबाहेक नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेता अहिले केही बेरमा बालुटारमा भेला हुन लागेका हुन्।
अन्तर्राष्ट्रिय कानुनका एक जना विज्ञले नाम नखुलाउने सर्तमा दिएको जानकारीअनुसार एमसीसीबारे प्रश्न उठेका विषयमा अन्तर्राष्ट्रिय अभ्यासअनुसार व्याख्यात्मक घोषणाको मस्यौदा तयार भएको छ।
सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच व्याख्यात्मक घोषणा गरेर एमसीसी पारित गर्ने सहमति भएबमोजिम तयार पारिएको मस्यौदा केही बेरमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउने तयारी भइरहेको छ।
स्रोतका अनुसार ११ बुँदे परिमार्जनसहित एमसीसी अनुमोदन गर्न गठबन्धन दल सहमति नजिक पुगेको छ । उक्त सहमतिमा माओवादी केन्द्र र एकीकृत समाजवादीले संस्थागत निर्णय लिन बैठक बोलाएका छन् ।
आजै दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा एमसिसीमाथिको छलफल अघि बढाइने कार्यसूची छ । संघीय संसद सचिवालयले सार्वजनिक गरेका सम्भावित कार्यसूचीमा एमसीसी पनि राखिएको छ ।