१२ साउन २०८३ , मंगलबार

१२ साउन २०८३ , मंगलबार
  • १२ साउन २०८३ , मंगलबार
  • July 28 2026

कालोपत्रे बलेवा विमानस्थल हस्तान्तरणको तयारी


जनमञ्च संवाददाता
  • २३ फाल्गुन २०७८ , सोमबार

  • कालोपत्रे बलेवा विमानस्थल हस्तान्तरणको तयारी

    बागलुङ, २३ फागुन – गतवर्ष सकिनुपर्ने बलेवा विमानस्थल एक वर्ष ढिला गरी सम्पन्न हुने भएको छ । कालोपत्रे गरेर सकेको ठेकेदार कम्पनीले केही दिनमा रङरोगनसमेत गरेपछि चैत मसान्तभित्र हस्तान्तरण गर्ने तयारी गरेको हो ।

    बागलुङ नगरपालिका-१४ को बलेवामा निर्माणाधीन विमानस्थल कोरोना महामारी र निषेधाज्ञाले रोकिँदा काम पूरा नभएको ठेकेदार कम्पनी काठमाडौं उमा जेभीका साइट इन्चार्ज बासु थापाले बताए । ‘काम लगभग सकिएको छ, केही रङरोगन र नाली सफाइ गरेर हस्तान्तरण गर्ने हो‚’ थापाले भने, ‘सिंगो एयरपोर्ट १ प्रतिशत मात्रै स्लोपको छ ।’ यो स्लोप दुवै साइटबाट जहाज अवतरण गर्न सकिने अवस्थाको भएको उनले बताए ।

    कम्पनीले ८ करोड २४ लाख ३४ हजार रुपैयाँमा विमानस्थल कालोपत्रे गरेको हो । यहाँको ७ सय मिटर लामो धावनमार्गमा ६ सय ५० मिटर कालोपत्र गरिएको छ । लामो समय काम रोकिए पनि हाल गरेको काम गुणस्तरीय देखिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका परियोजना व्यवस्थापक सत्यनारायण दुवालले बताए । ‘कोरोनाले समस्या भएर ढिला भए पनि अहिलेको काम सन्तोषजनक छ‚’ उनले भने, ‘चैत मसान्तमा हस्तान्तरण भएपछि हवाइ उडानबारे काम सुरु हुनेछ ।’

    यो विमानस्थल सञ्चालन भएमा बागलुङ, पर्वत र म्याग्दीका बासिन्दालाई राजधानी र भैरहवा लगायत स्थानमा हवाई मार्गले जोड्नेछ । २०१६ देखि २०१८ सम्म लगाएर स्थानीयले बनाएको ८ सय मिटर लामो यो विमानस्थलमा २०५० सम्म नियमित जहाज चल्थे ।

    बलेवाबाट काठमाडौं, पोखरा र भैरहवाका नियमित भइरहेको उडान पोखरा-बागलुङ सडक खुलेपछि रोकिएको वडाध्यक्ष चक्रबहादुर खत्रीले बताए । २०७२ सालमा तत्कालीन पर्यटनमन्त्री लोकेन्द्र विष्ट र शिक्षामन्त्री दिनानाथ शर्मा आएर जहाड उडाउने आश्वासन दिएका थिए । कच्ची धावन मार्ग भएकाले जहाजको ‘टेक अफ’ मा समस्या भएपछि उडान रोकिएको थियो ।

    विमानस्थलमा ७ सय मिटर लामो पक्की नालीसमेत बनेको छ । मैदानमा १ हजार ५ सय मीटर लामो बार बनाइएको छ । एउटा मुख्य गेट र अर्को आपत्कालीन गेटसमेत तयार भएको छ । मैदानको सबै भाग १ किलोमिटर लामो छ । तर हाल ७ सय मिटर लामो क्षेत्रमा तारबार लगाइएको हो ।

    मैदानमा १८ देखि २० सिट क्षमताका जहाजहरू चल्ने दुवालले बताए । ‘आकस्मिक रुपमा २५ सिटको जहाजले अवतरण गर्न सके पनि सामान्य अवस्थामा सम्भव हुँदैन‚’ उनले भने, ‘प्राविधिक रुपमा परीक्षण गरेपछि मात्रै अन्य जहाजको अवस्था थाहा हुन्छ ।’ ठूला जहाजका लागि भने रनवे कमी हुने उनले बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend