काठमाडौं, २ चैत – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सांसदहरूलाई स्थानीय तहको निर्वाचनमा जुट्न निर्देशन दिएका छन्। बुधबार बसेको एमाले संसदीय दलको बैठकमा उनले सांसदहरूलाई नेताजस्तो होइन कार्यकर्ता जस्तो भएर जनताको बीचमा जान निर्देशन दिएको प्रमुख सचेतक विशाल भट्टराईले बताए।
ओलीले ६५ देखि ७० प्रतिशत सिटमा एमालेले जित्ने अनुमान गरेका छन्। यदाकता स्थानीय तहमा हुने एकताबाहेक एमाले एक्लै चुनाव लड्ने भट्टराईले बताए।
महाभियोग प्रस्ताव पास हुँदैन भन्ने जान्दाजान्दै गठबन्धनले ल्याएको ओलीले बताएका छन्। अदालतलाई अस्थिरतामा राख्ने नियतका साथ प्रधानन्यायाधीशविरुद्ध महाभियोग ल्याइएको ओलीले बैठकमा बताएका छन्। महाभियोग पास र फेल हुने अवसर नै प्रदान नगर्ने तरिकामा गठबन्धन लागेको बताउँदै त्यसलाई भण्डाफोर गर्ने ओलीले बताएका छन्।
अब एमालेले चुनावी घोषणापत्र र उम्मेवार छान्न मात्र बाँकी रहेको भट्टराईले बताए। ‘अब चुनावी घोषणापत्र जारी गर्न र उम्मेदवार छान्न बाँकी छ। एमाले चुनावका लागि पूर्ण रूपमा तयार छ। सर्वसम्मतिले उम्मेदवार छान्ने प्रयास हुन्छ,’ प्रमुख सचेतक भट्टराईले भने।