बागलुङ, ७ चैत – कुनै स्थान विशेषमा महायज्ञ भएको धेरै पटक देखिन्छ । तर बागलुङ, पर्वत र म्याग्दीका ५ स्थानमा एकैपटक एकै समयमा पञ्चश्री महायज्ञ हुने भएको छ ।
पञ्चकोटधामका संरक्षक कमलनयनाचार्यको अगुवाइमा बागलुङको मालिका र रायँरायँकोट, म्याग्दीको टोड्केस्थित पुलाश्रम र गौस्वारा तथा पर्वतको हम्पालमा आगामी वैशाख १ गतेदेखि ५ गते सम्म पञ्चश्रीमहायज्ञ हुने भएको हो ।
यो महायज्ञमा सबै जाती, भाषा र धर्मलाई सहभागी गर्न खुला गरिएको कमलनयनाचार्यका प्रवक्ता सुदर्शन बडालले बताए । ‘यो महायज्ञ कुनै आर्थिक कमाइ, धान्यान्चल वा कसैलाई करकापमा लगाउन नभइ विश्व शान्तिका लागि हो’, उनले भने, ‘यहाँ कसैलाई रोकतोक पनि छैन, जो आउँछ, उसलाई जप, ध्यान र पूजा गर्ने तथा हवन गर्ने अधिकार दिइनेछ ।’ बिशेषगरी दलीत समुदाय धार्मिक क्षेत्रमा बहिस्कृत भएका घटनाबारे बडालले टिप्प्णी गर्दै आफ्ना क्रियाकलापमा कतैपनि रोक नहुने बताए ।
हरेक दिन ५ वटै स्थानमा एकै प्रकृतिका अनुष्ठान र गतिविधि हुन्छन् । ती गतिविधिमा सहभागी हुन जो कसैले पनि पाउने उनले बताए । हरेक दिन बिहान ७ बजे दिप प्रज्वलन, ८ बजेदेखि ९ बजेसम्म मण्डपपूजा, १० बजेदेखि १२ बजेसम्म महालक्ष्मी हवन, १२ बजेदेखि १ बजेसम्म बिश्राम, १ बजेदेखि ३ बजेसम्म संकिर्तन, ३ बजेदेखि ४ बजे हवन, ४ बजेदेखि साँढे चार बजेसम्म प्रसाद बितरण हुनेछ । साथै ती स्थानमा गएर रातभर ध्यान गर्नेलाई समेत खुला भएको उनले बताए ।
आम नागरिकलाई आचरण सिकाउने, धार्मिक क्रियाकलापमा लगाउने र जातजाती, भाषा धर्मबीचको विभेद अन्त्यका लागि पनि सबैको सहभागिता आवस्यक भएको उनले जानकारी गराए । आइतबार बिहान महायज्ञबारे पत्रकार सम्मेलनमार्फत् जानकारी गराइएको थियो । कोरोना महामारीले दुइ वर्षअघि नै गर्ने भनिएको महायज्ञ र धार्मिक सभा रोकिएकोले क्षमापूजा समेत गरिने उनले जानकारी दिए । पत्रकार सम्मेलन पूर्वशिक्षक जगन्नाथ आचार्यले सहजीकरण गरेका थिए ।