१४ साउन २०८३ , बिहिबार

१४ साउन २०८३ , बिहिबार
  • १४ साउन २०८३ , बिहिबार
  • July 30 2026

जग्गा बेच्न नमान्दा सुकुम्बासी बस्तीमा आमाको हत्या !


जनमञ्च संवाददाता
  • ७ चैत्र २०७८ , सोमबार

  • जग्गा बेच्न नमान्दा सुकुम्बासी बस्तीमा आमाको हत्या !

    पोखरा, ७ चैत = होलीको भोलिपल्ट पोखरा-१२ शितलादेवीको सुकुम्बासी बस्तीमा ६७ वर्षीया नौमाया नेपाली आफ्नै घरमा मृत भेटिइन् । जेठो छोरा ओमबहादुरले छिमेकी बोलाएर आमाको मृत्यु भएको भन्दै अन्त्येष्टिको तयारी गरे ।
    नौमायाको घाँटीमा निलडाम देखेपछि भने टोलवासीलाई शंका लाग्यो । उनीहरूले प्रहरीलाई खबर गरे । स्थानीयहरूका अनुसार नौमायाको घाँटीमा थिचेजस्तो डाम परेको र अनुहारमा समेत आलो घाउ थियो ।

    उनको मृत्यु स्वभाविक नभई हत्या हुनसक्ने प्रहरीले लख काट्यो । ओमबहादुरले छिटो पोस्टमार्टम गरेर उम्काइदिन प्रहरीलाई भनेपछि प्रहरीको शंकाको सुई ओमबहादुरतिरै सोझियो ।

    अनुसन्धानका क्रममा ओमबहादुरले नै अर्को व्यक्तिलाई आमाको हत्या गर्न लगाएको खुल्यो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी सुन्दर तिवारीका अनुसार ओमबहादुरले नौमायाको नाममा रहेको सुकुम्बासीको घरजग्गा बेच्न प्रयास गरिरहेका थिए ।

    उनको साथी पोखरा माटेपानीका कुमार गुरुङले १५–१६ लाख रुपैयाँमा जग्गा बेच्न ग्राहक खोजिदिएका थिए । नौमायाले मानेकी थिइनन् । चैत ३ मा होलीको दिन ओमबहादुर र कुमारले सँगै बसेर मदिरा पिए । नौमायाको हत्याको योजना बनाए । हत्या गरेवापत कुमारलाई एक लाख रुपैयाँ दिने ओमबहादुरले बचन दिए ।

    नौमाया पक्षघातकी बिरामी थिइन् । पिसाब नरोकिने समस्या थियो । श्रीमानको निधन भइसकेको र कान्छो छोरा टेकबहादुर काठमाडौंमा भएकाले त्यस रात उनी घरमा एक्लै थिइन् । राति साढे १० बजे ओमबहादुर र कुमार घरमा आए । ओमबहादुरले नै ढोका खोलेर कुमारलाई भित्र पठाए । आफू घरअघिको चौतारोमा बसे । नौमाया निदाइरहेको बेला कुमारले उनको घाँटी थिचेको प्रहरीको अनुसन्धानमा देखिन्छ ।

    त्यस रात दुवैजना कुमारकै कोठामा गएर सुतेको पनि प्रहरी अनुसन्धानमा खुलेको छ । ‘बिरामी आमाको उपचार गर्नुपर्नेमा बरु हत्या गरिदिए हाइसञ्चो हुने र जग्गा पनि बेच्न पाइने निहुँमा हत्या गरेको देखिन्छ,’ प्रवक्ता तिवारीले भने, ‘कुमार पनि जग्गा बेचेर आउने कमिसनको लोभमा परेको देखिन्छ ।’

    प्रहरीले दुवैलाई सोमबार सार्वजनिक गर्दै प्रारम्भिक अनुसन्धानका क्रममा हत्या स्वीकार गरेको बताएको छ । नौमायाको कान्छो छोरा टेकबहादुर नेपालीको जाहेरीको आधारमा प्रहरीले दुवैलाई पक्राउ गरेको हो । उनीहरुलाई फौजदारी अपराध संहिता २०७४ अनुसार ज्यान सम्बन्धी कसुरमा ६ दिनको म्याद थप गरी अनुसन्धान थालेको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend