२४ भाद्र २०८३ , बुधबार

२४ भाद्र २०८३ , बुधबार
  • २४ भाद्र २०८३ , बुधबार
  • September 9 2026

सुनमायाको हाँसो


कृष्ण बाउसे
  • १२ चैत्र २०७८ , शनिबार

  • सुनमायाको हाँसो

    घर भत्किएर
    गाउँ खण्डहर भएको छ
    आफन्तका लासहरू गाडेर
    आँगनमा तुलसी रोपिएको छ
    एक छाक खाने अन्न जोगिएको छैन
    पुरिएका एउटै लुगा निकाल्न सकिएको छैन
    तर पनि
    सुनमाया बारी खोस्रिँदै छिन्
    बोटबिरुवा लगाउनु छ भनेर
    कोदो फलाउनुछ भनेर
    तोरी फुलाउनुछ भनेर।

    बारीको एक कुनामा
    पाल टाँगेर बनाएकी छिन् उनले आफ्नो दरबार
    मस्काउँछिन् त्यहाँ उनी
    मनकारी डोल्माले ल्याइदिएको झोलाको पिठो मुछेर
    चौरासी व्यञ्जनलाई जित्ने ढिँडो
    जहाँ सहभोज चल्छ उनको
    बेघर कुकुर र भोका परेवाहरूका साथ।

    एक्लै त खानै सक्तिनन् सुनमाया
    एक्लै त बस्नै सक्दिनन् सुनमाया
    हुन त
    पूरै गाउँ नै
    एउटै चउरको बासिन्दा भएको छ यसबेला
    तर सुनमायाको कथा अर्कै छ
    आफ्नो साबिक खायलमा
    उनी
    आफ्नो सारा विगत भुलेर एक्लै बसिरहेकी छिन्।

    शंका लाग्छ
    छोराछोरी पनि थिए र उनका!
    शंका लाग्छ
    सासु, ससुरा
    र लोग्ने नामका सदस्य पनि थिए र उनको परिवारमा!
    शंका लाग्छ
    कुनै बस्तीमा घर भन्ने संरचना पनि थियो र उनको!

    अहँ! केही थाहा छैन उनलाई उनको विगतबारे
    वास्तवमा
    जितेको छ उनलाई
    उनको विगत बिर्साउने चोटले
    र त्यसले नै
    बाँच्न सम्भव तुल्याएको छ सुनमायालाई
    हो,
    आफ्नो वशमा केही नभएको परिवेशमा
    चिन्ता गर्न सक्ने शक्ति गुमेर नै
    हाँस्न सम्भव भएको छ सुनमायालाई।

    भूगर्भको रहस्यमय खेलमैदानमा
    दक्षिणको खेलाडी ठेलिँदै आउँदा
    छिरेपछि आफूभन्दा ठूलो उत्तरी खेलाडीको टाङमुनि
    अनायास उचालिनाले नौ सय माइलमाथिको उनले टेकेको धर्ती
    मेटिएको हो सुनमायाको स्मृतिको रेखा
    काटिएको हो सुनमायाको भाग्यको लता
    उल्टिएको हो सुनमायाको पुरानो जीवनको कथा।

    खबरदार!
    उनको अगाडि
    कसैले पनि भुइँचालो सम्झेर विलाप नगरोस्
    खबरदार!
    बेहोसीमै सही
    त्रासद विगत भुलेर
    सुनमायाले आफ्नो ओठमा जडेको यो हाँसो
    कसैले पनि नहरोस्।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend