पर्वत, १८ चैत –तीर्थालु तथा प्रकृतिमा रमाउन जाने आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षणको केन्द्रका रूपमा रहेको मुस्ताङमा पर्यटकको चाप बढेको छ । कोभिड महामारी सामान्यावस्थामा पुगेसँगफेरि पर्यटक ह्वात्तै बढेका हुन् ।
कोभिड१९ संक्रणको जोखिमका कारण लामो समयसम्म हवाइतथा स्थल मार्गमार्फत मुस्ताङ जान बन्देज लगाइएको थियो। त्यसपछि मौसममा परिवर्तनसँगै दिनहुँको वर्षा र पहिरोका कारण सुनसान बनेको मुस्ताङमा अहिले पर्यटकहरु उपस्थिति हवाइर स्थल मार्ग दुवैबाट बाक्लो बनेको छ। विगतका वर्षमा यो बेलामा कोभिडको जोखिमका कारण पर्यटकहरु जान नपाएको भए पनि यो वर्ष सिजन सुरु भएको बेलामा कोभिडको जोखिम कम हुँदै गएको छ।
मुस्ताङ घुम्नका लागि उपयुक्त सिजन सुरु हुनु, कोभिडको जोखिम कम हुनु दसैंको बेलामा कागबेनीमा पुगेर दिवंगत भएका आफन्तहरूलाई पिण्ड दान गर्न जानु र लामाहरूले लोमान्थाङमा लगाउने तिजी मेलाको रौनक पनि सुरु हुनु जस्ता कारणले कोभिडमा सुनसान बनेको मुस्ताङ अहिले लयमा फर्किएको छ।
मुस्ताङको जोमसोम विमानस्थलका प्रमुख पुस्कलराज शर्माका अनुसार पोखरा–मुस्ताङ आउजाउ गर्ने विमानहरूले अहिले पूर्ण उडान भरिरहेका छन्। झन्डै साढे दुई महिनापछि गत फागुन २२ गतेबाट मुस्ताङ–पोखरा उडान पुनः सञ्चालनमा आएपछि अहिले दैनिक १५ ओटासम्म उडान भएको शर्माले बताए।
एउटा उडानमा १८ जनाको क्षमता रहेकोले हवाइमार्गबाट मात्रै दैनिक साढे दुई सय जना भन्दा बढी पर्यटकहरु मुस्ताङ प्रवेश गरिरहेका छन्। ‘अस्ति १२ र १३ गते सबैभन्दा बढी एकै दिनमा १५ ओटा उडान भरिएका थिए। त्यसपछि दैनिक कम्तीमा १३ ओटा उडान भइरहेका छन्,’ विमानस्थल प्रमुख शर्मा भन्छन्, ‘त्यसमा अधिकांश पर्यटकहरु भारतका रहेका छन्। फाटफुट मात्रामा तेस्रो मुलुकका पनि रहेका छन्। जहाजबाहेक पोखरा र काठमाण्डौंबाट हेलिकोप्टर चार्टर गरेर सिधै मुक्तिनाथमा ल्यान्ड गर्नेहरू पनि छन्।’
भारतबाट आउनेहरू अधिकांश धार्मिक पर्यटकहरु भएकोले उनीहरू आएको भोलिपल्टै फर्किने गरेका छन्। जहाजमा गएर मुक्तिनाथ र कागबेनीमा पूजाआजा गरेपछि उनीहरू भोलिपल्टै फर्किन्छन्। यस्तै धार्मिक कार्यका लागि गएका आन्तरिक पर्यटकहरु पनि प्रायः भोलिपल्टै फर्किन्छन्। तर, घुम्नकै लागि भनेर जानेहरू तथा तेस्रो मुलुकबाट आउने पर्यटकहरु भने उपल्लो मुस्ताङ र तिब्बतसँग जोडिएको कोरला नाकासम्मै पुग्ने भएकाले उनीहरूको बसाई भने केही लामो हुने गरेको छ।
भारत बाहेकका अन्य देशबाट आउनेहरू लोमान्थाङ सहित उपल्लो मुस्ताङमा जाने गरेको बताउँदै शर्माले मौसममा आएको सुधार, कोभिडको कम जोखिम र मुस्ताङ घुम्नको लागि राम्रो समय रहेकाले पर्यटकहरूको चाप बढ्दै गएको जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक आशिष अधिकारीका अनुसार स्थल मार्गबाट मुस्ताङ छिर्नेहरूको पनि उस्तै भिड रहेको छ। हिजोआज औसतमा दैनिक दुई हजार जना बस, जिप र मोटरसाइकलमा मुस्ताङ आइरहेको उनको भनाइछ।
‘मुस्ताङ छिर्ने नाकामा रहेको घाँसा प्रहरी चौकीले सवारीहरूको आवागमनको तथ्यांक र चेकजाँच गर्ने गरेको छ। त्यहाँको रेकर्ड अनुसार अहिले दैनिक दुई हजार जना औसतमा आएका छन्। होलीको दिनमा त ३४ सय जना भित्रिनुभएको थियो,’ इन्स्पेक्टर अधिकारीले भने, ‘हाम्रो तथ्यांकमा दैनिक दुई हजार जति भारतीय, पाँच सय जति नेपालीहरू आइरहेको भन्ने छ। दुई हजार भारतीयको बिचमा अरू अरू देशका पनि केही पर्यटकहरु हुन्छन्।’
मौसममा आएको सुधार र कोभिडको जोखिम कम भएसँगै पर्यटकहरूको चाप निकै बढेको उनको भनाई छ। सवारी पर्यटकको चाप बढेसँगै आवागमनलाई सहज बनाउन तथा उनीहरूको सुरक्षाको लागि प्रहरीले सकेसम्मको भूमिका निर्वाह गरिरहेको अधिकारीको भनाई छ।
पाहुनाको अभावमा लामो समयसम्म सुनसान बनेको मुस्ताङको पर्यटन र होटेल व्यवसाय अहिले पूर्ण रूपमा चलायमान रहेको कागबेनीमा होटेल सञ्चालन गर्दै आएका छेप्तेन गुरुङले बताए।
पाहुनाहरूको आगमन बढेसँगै होटेल बास बस्न होटेल नै नपाउन सक्ने भएकाले मुस्ताङ आउन लागेकाहरूले पहिले नै बुकिङ गर्ने क्रम बढेको पनि उनको भनाई छ। होटलहरुमा भित्रिएका पर्यटकहरूमध्ये धेरैको सङ्ख्यामा भारतीय र नेपाली रहेको जानकारी दिँदै गुरुङले अन्य मुलुकका पर्यटकहरु पनि बिस्तारै देखिन थालेको बताए।
‘कोरोनाको बेलामा सुनसान भएर मुस्ताङ टिठलाग्दो बनेको थियो । अहिले फेरि प्रि–बुकिङ गर्नैपर्ने जस्तो अवस्थामा आएको छ,’ उनले भने, ‘तहसनहस भएको पर्यटन व्यवसाय चलायमान भएको छ। पर्यटनमा काम गर्ने, होटेल चलाउने तथा यातायात व्यवसायीहरूलाई पनि बल्ल श्वास फेर्न भएको छ।’
बडादसैँ र चैतेदशैँको अगाडि आउने औँसीमा दिवङ्गत भएका आफन्तहरूलाई पिण्ड दान गर्नेहरू ठुलो सङ्ख्यामा मुस्ताङ छिर्ने गरेका छन्। चैत १८ गते परेको औँसीमा कागबेनीमा पिण्ड दान गर्न जानेहरूका कारण पनि पर्यटकहरूको सङ्ख्यामा एकाएक वृद्धि भएको हो।
लोमान्थाङमा लामाहरूले आयोजना गर्ने तिजी मेला अवलोकनका लागि तेस्रो मुलुकका पर्यटकहरु धेरै आउने गरेका छन्। आउनै लागेको अप्रिलमा हुने उक्त मेलामा विगतका वर्षहरूमा पनि बाह्य पर्यटकहरूको उपस्थिति बाक्लो हुने गरेको थियो।