१३ साउन २०८३ , बुधबार

१३ साउन २०८३ , बुधबार
  • १३ साउन २०८३ , बुधबार
  • July 29 2026

रायडाँडाको टोलटोलमै सडक


जनमञ्च संवाददाता
  • २० चैत्र २०७८ , आइतबार

  • रायडाँडाको टोलटोलमै सडक

    बागलुङ, २० चैत – भीरैभीरको बाटोमा जोखिम मोलेर हिँड्नुपर्थ्यो । विद्यालय र स्वास्थ्य चौकी पुग्न सास्ती थियो । भौगोलिक कठिनाइकै कारण बागलुङ नगरपालिकाले वडा ११ को रायडाँडालाई ५ वर्षअघि विशेष क्षेत्रमा सूचीकृत गर्‍यो ।

    विशेष क्षेत्रलाई लगानीमा प्राथमिकता दिने नीति र वडाको निरन्तर प्रयासपछि यहाँका पहरा फोडेर २० किमिभन्दा धेरै सडक सञ्जाल बनेको छ । त्योमध्ये ११ किमि लामो पूर्वपश्चिम फैलिएको सडक बनेको हो । त्यसबाहेक ४ वटा छोटा सडक पनि बनेपछि यहाँका सबै टोलमा जिप चढेर पुग्न सकिने भएको छ ।

    पाँच वर्षअघि वडाको मुकाम पुग्ने सडकको ट्रयाक मात्र थियो । रायडाँडावासीले बिरामी पर्दा समयमा उपचार नपाउने बाध्यता थियो । आफ्नै वडाको सदरमुकाममा रहेको स्वास्थ्य चौकी आउन रामतोलाबासी छिमेकी भकुण्डेको बाटो हिँड्नुपर्थ्यो । आफ्रे र सल्यानबासी चार घण्टा लगाएर काठेखोला हुँदै सदरमुकाम जान्थे ।

    गर्भवती, सुत्केरी र बुढापाका डोकोमा बोकिएर स्वास्थ्य चौकी आउन बाध्य थिए । यहाँको रामतोला बस्तीका बासिन्दालाई वडा कार्यालय पुग्नुभन्दा सदरमुकाम जान छिटो हुन्थ्यो । भौगोलिक जटिलताका कारण वडाका ६० प्रतिशत स्थानीयको सदरमुकाममा डेरा हुन्थ्यो । गाडी चढेर पनि दुई/तीन घण्टासम्म पैदल यात्रा गर्नुपर्थ्यो ।

    नगरभित्रै भए पनि सदमुकाम आउन अझै ५ सय रुपैयाँ एकतर्फी भाडा लाग्छ । तर अहिले गाउँपुग्ने सडक स्तरीय भएको छ । सदरमुकामदेखि झण्डै ३० किमि दूरीको आफ्रे र सल्यानसम्म गाडीको सुविधा पुगेको छ ।

    वडाका टोलटोलमा बाटो पुगेको छ । जटिल भूगोल चिरेर गौरवको आयोजना अर्न्तगत वडा भित्रै ११ किमि लामो छुट्टै सडक बनेको हो । यो सडकले तत्कालीन रायडाँडा गाविसको वडा १ देखि ९ सम्मका सबै बस्ती जोड्छ ।

    ‘यो ट्रयाक खुलेपछि हामीलाई बलेवा, जैमिनी नगरको कुश्मीसेरा र सदरमुकाम जता गए पनि बाटो खुल्यो,’ रामतोलाका धनबहादुर हरिजनले भने, ‘टोलटोलमा चोक बनिसकेको छ ।’ गैराघर, रामतोला, मौरीभीर, रायडाँडा, आफ्रे, सल्यान हुँदै सडकले जैमिनी नगरको वडा ३ तर्फको पहुँच बढाएको छ ।

    नगरको बजेटले नपुगेपछि संघ र प्रदेशमा धाएर योजना पूरा गरेको वडाध्यक्ष ज्ञानेन्द्र गौतमले बताए । गौतमले भने, ‘अहिले सदरमुकामसहित छिमेकी जैमिनी नगरपालिका र काठेखोला गाउँपालिका जाने नाका खुलेका छन् ।’

    सानो बजेटबाट भएको परिवर्तन देखेर नगर प्रमुख जनकराज पौडेल पनि सन्तुष्ट छन् । ‘दुर्गम भए पनि काम राम्रो भएको रहेछ,’ जिल्ला समन्वय प्रमुख राजेन्द्र ढुंगानाले भने, ‘जटिल भूगोलमा काम गर्दा राम्रो नतिजा देखिएको छ ।’ यहाँबाट सदरमुकाम जोड्ने सडक पनि स्तरीय बनेको छ । डाँडो चिरा पारेर चारवटा छुट्टै ट्र्याक खुलेका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend