बागलुङ, २७ चैत – ‘चैते दसैं बागलुङको मेलैमा, लाइदेउ माया भेट भा’को बेलैमा । चैते दसैं मेलैमा, भेट भयो, जाने बेलैमा’ जस्ता दर्जनबढी गीत बागलुङ कालिका र यहाँ लाग्ने चैते दसैं मेलालाई लक्षित गरेर बनेका हुन् ।
चैते दसैं पश्चिम नेपालकै ठूलो र मौलिक मेला हो । यहाँ तीन दिनदेखि सयौं भक्तजन, पर्यटक, कलाकार समेतको जमघटमा मेला लागिरहेको छ । अझै तीन दिन मेला लाग्ने छ । झन्डै ५ सय वर्ष पुरानो चैते दसैं मेला बागलुङ मात्र नभइ पश्चिम क्षेत्रका धेरै जिल्लाको किनमेल गर्ने बजार पनि हो । चैते दसैंमा यो क्षेत्रमा बनाइने मौलिक कलाका सामानहरु किन्न पाइन्छ । डोको, डालो, ठेकी, कुटो कोदालो, नाङला लगायतका दर्जनौं हस्तकलाका सामानहरुको मेला लाग्ने गर्छ ।
कोरोना संक्रमणका कारण दुई वर्षसम्म मेला भएको थिएन । यो वर्ष भने संक्रमण नभएको मौका परेकोले कालिका भगवती गुठी व्यवस्थापन समितिले चैते दसैं मेलाको व्यवस्थापन पनि गरिदिएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले शनिबार मेलाको उद्घाटन समेत गरे । चैते दसैं मेला धार्मिक महत्व जस्तै खेलकुद, संगीत र किसानको उत्पादनको बजारीकरणको केन्द्र समेत भएको उनले बताए ।

मेलाकै अवसर पारेर कालीका कप खुला भलिबल प्रतियोगिता पनि सुरु भएको छ । १७ जिल्लाका खेलाडी यहाँ भेला भएको कालीका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए । चैते दसैंको अवसर पारेर देशविदेशमा गएका युवा घर फर्कने पुरानो चलन हो । यो क्रम अहिले पनि छ । ‘चैते दसैंको बेला पारेर घर आएको छु,’ स्थानीय सचिता गौतमले भनिन्, ‘यो बेला धेरै साथी भेटिन्छन् ।’ उनी रोजगारीका लागि काठमाडौं बस्छिन् ।
कालिका मन्दिरमा पूजा गर्न आउनेहरु पनि हजारौं छन् । गुठीका अनुसार चैते दसैंको साता दिन लामो मेलामा १० लाखभन्दा बढी भक्तजन आउने गरेको रेकर्ड छ । मेलामा रमाइलो मेला, फेन्सी तथा अन्य उत्पादनहरुको बजार समेत लागेको छ । मेलालाई व्यवस्थापन गर्न प्रशासन र प्रहरीले पनि आफ्नो सक्रियता बढाएको छ । सुरक्षा व्यवस्था कडा गरिएको प्रहरी उपरीक्षक दयानीधि ज्ञवालीले बताए ।
राष्ट्रिय र स्थानीय कलाकारले आफ्नो प्रस्तुतिसहितका सांगीतिक कार्यक्रम पनि गरेका छन् । खड्काका अनुसार बिहानी समयमा पूजा र भलिबल प्रतियोगिता, दिउँसो मेला र साँझ कलाकारहरुको प्रस्तुति भइरहेको हो । गुठीले पछिल्लो १० वर्षदेखि लगातार गर्दै आएको थियो ।
कोरोनाका कारण भने गत वर्ष मेला सञ्चालन भएको थिएन । पर्वतका राजा प्रतापी नारायण मल्लले पाल्पाकी राजकुमारी विवाह गरेर ल्याउँदा दाइजोको रुपमा कालीका मूर्ति ल्याएको इतिहास छ । राजाले उक्त मूर्ति घना जंगलको बीचमा यहाँ ल्याएर स्थापित गरेपछि पूजा गर्ने चलन बसेको किंवदन्ती छ । अहिले पनि यहाँ चैते दसैं र बडा दसैंमा ठूलो मेला लाग्छ भने अन्य समयमा पनि सैयौं भक्तजन आएर पूजा गर्ने क्रम रोकिएको छैन । बागलुङको पर्यटक प्रवर्द्धनका लागि पनि यो मेला र कालीका मन्दिर महत्त्वपूर्ण गन्तव्य भएको पर्यटन समितिका सचिव अर्जुन चोखालले बताए ।
पछिल्लो समयमा अन्य गन्तव्य सुरु भएपनि बागलुङको पहिचान चैते दसैं मेला र कालिका भगवती मन्दिर नै भएको उनको तर्क छ । स्थानीयले पनि कालिका मन्दिरमा लाग्ने मेलाको महत्त्व र यसले जिल्लाकै पर्यटनमा योगदान पुगेको बताए ।