११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

पोखरामा १७ औं फेवा नववर्ष महोत्सव सुरु


जनमञ्च संवाददाता
  • ३० चैत्र २०७८ , बुधबार

  • पोखरामा १७ औं फेवा नववर्ष महोत्सव सुरु

    पोखरा, ३० चैत – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नारायणहिटीलाई व्यापारीको कब्जाबाट छुटाउन खोज्दा आफूलाई मन्त्री पदबाट हटाउन खोजिएको बताएका छन् । १७ औं फेवा नव वर्ष महोत्सवको बुधबार पोखरामा उद्घाटन गर्दै उनले विगतको सरकारले एउटा व्यापारीलाई कौडीको भाउमा नारायणहिटी जिम्मा लगाउने काम गरेको बताए ।

    ‘दिएको छ, ६ आना, कब्जा गरेको छ, १४ रोपनी । कब्जा गर्नुभन्दा पहिला हेर्नुपर्छ कि पर्दैन कति किलोको मन्त्री छ यहाँ भनेर । यसलाई उडाउन सकिएला कि नसकिएला भनेर सोच्नुपर्छ कि पर्दैन ?,’ बतास समूहतर्फ इंगित गर्दै उनले भने, ‘एक सय पाँच किलोको मान्छे मन्त्रीको सिटमा बसेको छ, ५५ किलोको मान्छेले उडाउन खोज्छ, त्यो कदाचित हुनेवाला छैन ।’

    नारायणहिटी र पशुपति धर्मशालाको दुइटा मुद्दा सरकारले जितिसके पनि आफूले सहयोग नपाएको उनले गुनासो गरे । ‘वडाको मुचुल्का बनाउन जाँदा प्रहरी प्रशासन समयमा पुग्दैन । वडाध्यक्ष, वडा सदस्य जम्मै एकैदिनमा बिरामी हुन्छन् । यस्तो दूर्भाग्य !,’ उनले भने, ‘मेरै मन्त्रालयका कर्मचारी पनि को कहाँ मिलेका छन् थाहै छैन । यस्तो खालको विडम्बना छ ।’

    अर्थतन्त्र धरासायी भएको अवस्थालाई मध्यनजर गर्दै मन्त्रालयको जिम्मेवारी सम्हालिसकेपछि ०७१ सालदेखि कर नतिर्ने, नेताको वरिपरि घुम्ने, राज्यलाई बारम्बार ठग्ने मान्छेबाट १ अर्ब ५ करोड राजस्व उठाएको उनले बताए ।

    ‘तीनवटा क्यासिनोबाट ६ वर्षदेखिको राजस्व ९० करोड रुपैयाँ असुल गर्नुपर्ने, विगतको सरकारबाट हुन सकेको थिएन,’ उनले भने, ‘हरेक मन्त्रीलाई व्यक्तिगत प्रलोभन दिने, फाइल डस्टविनमा फाल्दिने खेल भइराखेको थियो । म आइसकेपछि खबरदार भनें । पाँच दिनको लागि अन्तिमपल्ट सूचना प्रकाशन गर्दा पनि अटेर भइसकेपछि तीनवटा क्यासिनोको लाइसेन्स खारेज गरिदिएँ । त्यसपछि उहाँहरु अदालत जानुभयो । बिडम्बना, राजस्व नतिरे पनि अल्पकालीनरुपमा चलाउन दिनु भनेर आदेश आयो ।’

    उनले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल ४ देखि ५ महिनामा उद्घाटन गरी सञ्चालन गर्ने तयारी रहेकोले ल्यान्डफिल साइट जतिसक्दो छिटो सार्न पोखरा महानगरपालिकालाई आग्रह गरे । नेपाल ट्रस्टअन्तर्गत रहेको रत्न मन्दिर र हिमागृहलाई आगामी वैशाख ३० भित्रै सर्वसाधारणका लागि खुला गर्ने प्रतिबद्धता उनले दोहोर्‍याए ।

    ‘मेरो मन्त्रालयमा भएको भए ७२ घण्टामा सक्थे, यो पर्‍यो अर्कैको मन्त्रालयमा । पहिलो रक्षा मन्त्रालयमा हो भनेर रक्षा सचिवसँग कुरा गरेको थिएँ । आर्मीको चिफले पनि खोल्न सहमति दिनुभएको छ,’ उनले भने, ‘तर पछि आएर नेपाल ट्रस्टभित्र पर्ने रहेछ भन्ने थाहा पाइसकेपछि प्रधानमन्त्रीलाई जानकारी गराउने भनेर समय मागेको, उहाँको व्यस्तताले समय पाउन सकिनँ ।’ अब आउने नीति तथा कार्यक्रममार्फत पोखरालाई पर्यटनको राजधानीको रुपमा क्याबिनेटमार्फत निर्णय गरेर घोषणा गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।

    होटल संघ पोखराले नयाँ वर्षको अवसरमा आयोजना गरेको महोत्सव बुधबार र बिहीबार चल्नेछ । कोरोना महामारीका कारण दुई वर्ष रोकिएको महोत्सवले पुनः निरन्तरता पाएको हो । स्थानीय फिस्टेल गेटदेखि हल्लनचोक बीचको तीन किलोमिटर सडकमा महोत्सव चलिरहेको छ । आन्तरिक एवं बाह्य पर्यटन प्रवर्द्धन गर्दै कोभिड–१९ बाट थला परेको पर्यटनलाई पुनरुत्थान गर्ने महोत्सवको उद्देश्य रहेको होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताए ।

    उनले पोखरामा आन्तरिक तथा बाह्य पर्यटकको आगमन विस्तारै बढ्न थालेको जानकारी दिए । होटलमा हाल २५ प्रतिशत हाराहारीको अकुपेन्सी रहेको र नयाँ वर्षलक्षित होटलको बुकिङ ५० प्रतिशत पुगेको पनि उनले सुनाए । महोत्सवकै अवसरमा होटलको ट्यारिफमा ३० प्रतिशत छुटको घोषणा संघले यसअघि नै गरिसकेको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend