लमजुङ, २ बैशाख – लमजुङ क्व्होलासोथर गाउँपालिका-३ स्थित घलेगाउँलाई सुखी गाउँ घोषणा गरिएको छ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले लमजुङको घलेगाउँलाई ‘सुखी गाउँ’ घोषणा गरेका छन् ।
घलेगाउँलाई शुक्रबार सुखी गाउँ घोषणा गर्दै पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले घलेगाउँ आधुनिक गाउँ र स्मार्ट भिलेजका रूपमा अघि बढ्नुपर्ने बताए ।
उनले भने, ‘घलेगाउँ घरवासले नयाँ ढङ्गले विकास गरेको छैन, अरुका लागि पनि उदारणीय बनेको छ, घलेगाउँबाट सिक्न जरुरी छ ।’
गाउँमा बसी आफैं उत्पादन गर्ने, आत्मनिर्भर बन्ने र आर्थिकरूपमा बलियो भएकाले यस गाउँलाई सुखी गाउँ भनिएको घलेगाउँ क्व्होलासोंथर गाउँपालिका अध्यक्ष प्रेमबहादुर घलेले बताए ।
‘शहरमा पाउने सुविधा घलेगाउँ पाउन सकिन्छ । सडक, बिजुली, टेलिफोन, इमेल, इन्टरनेट, घरघरमा खानेपानी, शौचालय, विद्यालय, आधारभूत स्वास्थ्य सेवालगायतको सुविधा पुगेको छ,’ उनी भन्छन्, ‘स्थानीयले पर्यटन विकास गरी सुखी भएको र आनन्दका साथ बसेकाले सुखी गाउँ भनिएको हो ।’
एक सय ३० घरधुरी रहेको यहाँ सबै एकै प्रकारको रातो रङको जस्ता पाताको छानो छ । विसं २०५७ वैशाख २३ गते प्रथम महोत्सव गरी घलेगाउँमा १२ घर घरवास (होमस्टे) स्थापना गरेको यहाँ यतिबेला ४२ घरमा घरवास कार्यक्रम छ । सडक, बिजुली, टेलिफोन, इन्टरनेट, खानेपानी, विद्यालय, स्वास्थ्यलगायत आधारभूत सुविधापछि घलेगाउँ २०७६ साल मङ्सिर १७ गते स्मार्ट भिलेज घोषणा भएको थियो ।

होमस्टे सञ्चालन गरिएको ४२ घरबाहेक अन्य घरका वासिन्दाले पर्यटकका लागि आवश्यक अन्न, तरकारी, फलफूल, मासु, अण्डालगायत उत्पादन र स्वरोजगारमा जीवनयापन गर्दै आएका छन् । केही चोया, ऊन, अल्लोलगायतबाट हस्तकलाका सामग्री तयार पार्छन् ।
भेँडाको लागि गाउँलेको आफ्नै गोठ छ । घुम्ती पशुपालन र कृषिबाट पनि गाउँलेले आम्दानी गरेका छन् ।