बागलुङ, ७ बैशाख – जनताको जीउधनको सुरक्षा गर्ने प्रहरीले सेवाग्राहीबाटै पैसा असुलेपछि के होला ? बागलुङमा कार्यरत एक प्रहरीले सेवाग्राहीबाट रकम असुलेपछि अख्तियारको फन्दामा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित बागलुङको बिपत व्यवस्थापन गुल्मबाट प्रहरी नायब निरीक्षकलाई पक्राउ गरेको छ ।
मंगलबार बेलुकी प्रहरी नायब निरीक्षक रुपनारायण महतो अख्तियारको फन्दामा परेका हुन् । उनको साथबाट अख्तियारको विशेष टोलीले ३८ हजार नगदसमेत बरामद गरेको हो । पक्राउ परेका महतोले रकम असुल गर्न सेबाग्राहीलाइ लेनदेन विवाद मिलाइदिने आश्वासन पनि दिने गरेका थिए । सेवाग्राहीलाई काम मिलाइदिन्छु भन्दै उनले रकम मागेपछि अख्तियारको विशेष टोली आएको थियो । विशेष टोलीले जनप्रतिनिधिसमेत रोहबर राखेर सेवाग्राहीको तर्फबाट डिल गरेका थिए ।
अख्तियारको पोखरादेखि खटिएको टोलीले महतोलाइ रंगेहात ३८ हजार रुपैयाँ लेनदेन गरेकै अवस्थामा पक्राउ गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । मंगलबार बेलुकी पक्राउ परेका महतोलाई अख्तियारले आधिकारिक रुपमा सार्वजनिक गरेको छ ।
बागलुङ नगरपालिका–२ का जनप्रतिनिधिलाई साछी राखेर अख्तियारले ती प्रहरीलाई पक्राउ गरेर पोखरा लगिसकेको छ । प्रहरीलाई नै पक्राउ गर्नु परेपछि अख्तियारले धेरै भूमिका खेल्नुपरेको बताइएको छ । अख्तियारका एक अधिकारीले प्रहरी पक्राउ गर्न प्रहरी परिचालन गर्नु परेको बताए । सेवाग्राहीलाई पहिलादेखि नै समस्यामा पार्ने, घुस माग्ने गरेको उजुरी पछि अख्तियारको टोली आएको थियो ।
प्रमुख जिल्ला अधिकारी रमेश ढकालले प्रहरी पक्राउ गरेको कुरा अख्तियारले जानकारी गराएको बताए । बिशेष टोलीले पक्राउ गरेपछि प्रशासन र प्रहरीलाई जानकारी गराएको थियो । महतोको साथबाट २ वटा सिम र मोबाइल सेट पनि बरामद भएको बानपा–२ का सदस्य अर्जुन घिमिरेले जानकारी दिए ।
महतोले लेनदेन मुद्दा मिलाइदिने भन्दै २ जना सेवाग्राहीलाई पैसा मागेपछि उनीहरु अख्तियारसम्म पुगेका थिए । घुमुवा प्रहरीको रुपमा काम गरेका महतोले सादा पोशाकमा बजारमा निस्केर सेवाग्राहीलाई सास्ती दिने गरेको गुनासो थियो । अख्तियारले पक्राउ गरेका व्यक्तिलाइ विशेष अदालतमा मुद्दा दायर गर्छ । अदालतमा मुद्दा दायर भएपछि पक्राउ परेका व्यक्ति जागिरबाट निलम्बन हुने प्रावधान छ ।