बागलुङ, ३० बैशाख – बागलुङ बजारमा व्यवसाय गरेर बस्ने टिकाराम शर्मा बिहीबार बिहानै घरतर्फ लागे । बजारमा रहेको उनको किराना पसल दुई दिन बन्द हुनेछ । परिवारसहित उनी घर हिँडेका हुन् । मतदानको दिन सवारी नचल्ने भएकाले उनले अघिल्लो दिन नै परिवारलाई घर पु¥याए । जैमिनी नगरपालिका–१ कुश्मीशेरामा रहेको शान्ति मा.वि. मतदान केन्द्रमा शर्मा मतदानमा सहभागि हुँदैछन् ।
काठमाण्डौंमा बसोबास गर्ने गलकोट नगरपालिका–५ का बिक्रम सुनार चार दिन अघिदेखीनै गाउँमा छन् । स्थानीय तह निर्वाचनमा मतदानका लागि उनी गाउँ पुगेका हुन् । निर्वाचनको मौका पारेर बर्षमा एक पटक दशैंको बेला मात्रै घर फर्किने टिकाराम र बिक्रम जस्तै हजारौं बागलुङबासी अहिले गाउँ पुगेका छन् ।
निर्वाचनसँगै बागलुङका गाउँघर भरिभराउ भएका छन्भने शहरहरु सुनसान हुँदैछन् । निर्वाचनको अघिल्लो दिन बिहिबार बागलुङ बजार सुन्य देखियो । बजारका अधिकांश पसलहरु बन्द रहेकाले क्रेता र बिक्रेताका कोही देखिएनन् । अन्य समयमा मानिसहरुकै भीडका कारण सडकमा ओहोरदोहोर गर्न कठिन हुने बजार अहिले सुनसान छ । ‘अघिल्लो दिनदेखि नै सवारी नचल्ने हल्लाले धेरै व्यवसायी दुई दिन पहिला गाउँ पुगे’ बागलुङ बजारमा व्यवसय गर्ने लेखनाथ शर्माले भने ‘दुई दिन त बजार सुन्य हुने भयो ।’
काठमाण्डौं, पोखरा, बुटवल जस्ता ठुला शहर र साना व्यापारिक केन्द्रहरुमा व्यवसाय गरेर बस्ने अधिकांश निर्वाचनका लागि गाउँ पुगेका छन् । बसाइँसराइको अध्याधिक चाप रहेको बागलुङका गाउँहरु निर्वाचनको समयमा भने भरिभराउ हुन्छन् । ‘बसोबास र काम काठमाण्डौंमा छ, मतदाता नामावली यतै भएकाले यहाँ आईयो’ जैमिनी नगरपालिका–१ कुश्मीशेराका अधिबक्ता नेत्र आचार्यले भने ‘यो निर्वाचनमा मतदानका लागि मात्रै होईन, साथीभाई इष्टमित्र भेटघाटका निम्ति समेत महत्वपूर्ण मौका हो ।’ पाँच वर्षमा हुने निर्वाचनमा सबै जम्मा हुने भएकाले भेटघाटका लागि महत्वपूर्ण हुने उनीहरुको धारणा छ ।
खेतबारीमा मकै लगाएर बसेकाले गाउँघरमा समेत अधिकांश किसानहरु फुर्सदमा छन् । गाउँ बाहिरबाट आएका र गाउँमै बसेकाहरुका बिचमा स्नेह मिलनको समयसमेत निर्वाचनले जुराएको आचार्य बताउँछन् । शुक्रबार मतदानपछि भने गाउँ खाली हुने र शहर भरिने अवस्था दोहोरिने उनले बताए । नयाँ पुस्तालाई गाउँमै बस्ने वातावरण सिर्जना गर्नु जनप्रतिनिधिको अहिलेको मुख्य दायित्व भएको उनीहरु बताउँछन् ।