८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

कथा : दूध बेच्ने केटी


गीतु गैरे
  • ७ जेष्ठ २०७९ , शनिबार

  • कथा : दूध बेच्ने केटी

    आज त्यस्तो व्यक्तिसँग भेट भयो, जसको नजरमा तीर थियो । मुटुमा चस्का पस्यो । मलाई पटक्कै विश्वास थिएन, पहिलो झलकमै प्रेम बस्छ । तर कताकता ऊप्रतिको आकर्षणले मलाई चुम्बक झैं तान्यो ।
    ऊ फरक र रहस्यमय लागी । ऊ उति रहस्यमय थिई वा थिइन, म के जानौं ! तर उसका जुनकीरी जस्ता आँखा रहस्यका उपमेय थिए ।

    उसले गुलाबी रंगको टिसर्ट र निलो सुरुवाल लगाएकी थिई । हातमा दूधको ठेकी हल्लाउँदै ऊ तल झर्दै थिई । बाथरुमबाट म निस्कँदै गर्दा आँखा-आँखा जम्काभेट भएथे । ऊ अपूर्व मुस्कुराई ।

    ‘नमस्ते सर !’

    यो कुनै परिचित आवाज होइन । तथापि त्यो आवाजले मन बेस्सरी हुँडल्यो ।

    बान्किला ओठ । मृदुल मुहार । स्थूल आँखा ।

    म किंकर्तव्यविमूढ थिएँ । रहिरहन सकिनँ ।

    म सोचमग्न भएँ-

    आज म किन छिटो उठें ? मनमा प्रश्न छालझैं बन्यो ।

    सायद उसैलाई देख्न पो हो कि ? अर्को मनले उत्तर दियो ।

    मेरो दिमागले विश्राम पाएको छैन । अनेक सोच्छु । तर्कना गर्छु । मनमा कुरा खेलाउँछु । मनमा अनेकन् काल्पनिक चित्राकृति खडा हुन्छन् । आमालाई धेरै कुरा थाहा थियो उसका बारेमा । तर कसरी के भनेर सोधुँ ? मलाई साहस जुट्दैन । खै उसमा के आकर्षण थियो त्यो त म यसै भन्न सक्दिनँ । तर म उसकै बारेमा यतिविघ्न किन सोचमग्न छु ! प्रयोजन नखुल्दा आफैं छक्क पर्छु ।

    हिजोजस्तै ऊ आज पनि आई, गई । बोल्ने मौका नै दिइन । हुन त बोल्ने मौका नै दिएको भए पनि मेरो ओठ कसरी उघ्रन्थ्यो, म यसै भन्न सक्दिनँ ।

    “म यही दूध बेचेरै पढें । घर आएका बेलामा यति काम गर्न किन लाज मान्नू, अरूले के भन्लान् भन्ने सोच्ने हो भने आफ्नो जिन्दगी त्यतै छुट्छ । बाँच्नै बिर्सन्छ मानिसले । पहिले पहिले कसैले ‘तिम्रा बाले के काम गर्नुहुन्छ नि’ भन्ने प्रश्न कसैले नगरून् भन्ने लाग्थ्यो । तर अचेल म खुलेरै कृषक हो भन्छु । कामको सम्मान गर्न सक्ने भएँ । सायद धेरै कुरा बुझें पनि । अहिले त म माटोलाई प्रेम गर्ने भएकी छु । आफैंले उब्जाएका बालीनालीसँग मितेरी लगाएकी छु । गाईवस्तुसँग मीठो संवाद गर्ने भएकी छु । यो आनन्दको अनुभव बटुल्न पाउँदा दंग छु ।”

    म इन्ट्रोभर्ट हुँ । अन्तरमुखी भन्छन् नि, हो त्यही । अझ सिए पढ्न भारत गएपछि मलाई झन् नबोल्ने बानी पर्‍यो । पढाइको रापचापमा साथी-संगातीहरूसँगको सम्बन्ध पातलिंदै गयो । पछिपछि त परिवारसँग बाहेक गफगाफै हुन छोड्यो । बोल्ने आदत पछि पर्‍यो । बच्चामा निकै फरासिलो म अहिले अत्यन्त कम बोल्छु । समयसँगै बानीहरूले बाटो बदल्दा रहेछन् । कुन बानी छाड्ने, कसलाई पछ्याउने, कुन आदतको ओत लाग्ने वास्तवमै आफ्नो हातमा नहुने रहेछ । अझ भनौं, समयसँग सम्बन्धित हुने रहेछ ।

    उससँगको आसक्ति दुई दिनमै हृवात्तै बढेको थियो । त्यसैले त, आमा म एकछिन बाहिर निस्कें है भन्दै स्कुटरको चाबी बोकेर तल झरें । उसैलाई पछ्याउँदै अघि बढें । मैले पछ्याएको उसले भेउ नै पाइन । पाओस् पनि कसरी ? उसको हल्का गुलाबी रंगकै साइकल थियो । अगाडिको टोकरीमा ठेकी राखेर वायु वेगमा बत्ताई । मैले सोचें- गुलाबी रङ र साइकलमा बत्तिन उसलाई खुब मन पर्छ । हावाले फरफर सल्लाझैं हल्लाइरहेका केशराशि । हावाको साउती उसलाई मजा लाग्दो हो । आफैंसँग हराउँदै, केश हल्लाउँदै, साइकल बत्ताउँदै ऊ सायद गीत पनि गुनगुनाउँदै अघि बढिरहेकी छे । सायद उसले मज्जा मानिरहेकी थिई । यो देखेर म भित्रैबाट गद्गद् भएँ । अनुहारमा खुसीको आभा चढ्यो ।

    अलिक पर पुगेपछि साइकल पसलअगाडि अडिई । पम्प मिलाई । टायरमा हावा भर्ने उपक्रममा लागी । हावाले टायरको आकार दिलाइरहँदा मेरा आँखा उसको शरीरमा अडिइरहेको थियो । उसको शरीरको लचकता वणर्ानातीत र चित्ताकर्षक थियो । यसैयसै मलाई हेरिरहन मन लाग्यो । ऊ आफ्नो काममा दत्तचित्त देखिई । काममा एकाग्र उसले मलाई हेरेकी भए देख्दी हो । तर, त्यो जमर्को गरिन । हावा हाल्ने कृत्य सकेपछि ऊ त्यही रफ्तारमा अघि बढी । जसरी ऊ हावाको वेगमा बत्तिएर आएकी थिई । अनि म घर फर्कें ।

    घर पुग्दासम्म सम्झना छिप्पिइसकेको थियो । आँखामा ऊ नै नाचिरही । सम्झनाको वृक्ष कति चाँडो हुर्कंदोरहेछ ? मैले अनुमानसम्म गर्न नसेकेकोमा आश्चर्यमा परें ।

    उसका स्थूल आँखा । मृदुल अनुहार । उसको सरलता । काम प्रतिको प्रेम । कल्पना गर्दा पनि मलाई विछट्टै आनन्द हुन थाल्यो । झन् उसले नमस्ते सर भन्दै बोलेको शब्द । धन्न दाइ भनिन मोरीले !

    कुन कुरा चुम्बकीय गुणयुक्त थियो, म यसै भन्न सक्दिनँ । खै किन भन्न सक्दिनँ त्यो पनि भन्न सक्दिनँ । मेरा निम्ति ऊ साधारण सौन्दर्य थिइन । असाधारण, अद्वितीय सौन्दर्यले भरिएकी थिई ऊ ।

    मनमा बेचैन सघन बन्दैथियो । मनमा ज्वरो बढेको थियो । अनुहारबाट पसिना निःसृत भइरहेको हुँदो हो । फेसबुकमा स्टाटस लेखेर मन चिस्याउने जमर्को गरें- ‘हर रहरको सामीप्यतामा नै पुग्न जरूरी हुँदैन । केही केही टाढै बसेर नियाल्नु छ ।’

    यसपछि मलाई मोबाइलमा हराउनु उपयुक्त लागेन । कल्पनाबाट आस्वादित हुनु नै स्वर्गीय आनन्द अनुभूत भयो ।

    उसको उमेर । उसको जिजीविषा साँच्चै नै कल्पनातीत थियो । उसले साइकलको अगाडिपट्टि टोकरीमा राखेको दूधको ठेकी साँच्चै नै संघर्षको विम्ब थियो । त्यसले ऊ हुनुको परिचय दिएको थियो । मानिसको सौन्दर्य उसको कर्म न हो ।

    जीवनको यात्रामा धेरै अनुहारसँग यी आँखा ठोक्किए । स्कुल, कलेज हुँदै भारतसम्मको यात्रामा कति कामिनी फेला परे होला । तर, उसको दाँजोमा ती सबै फिक्का थिए । यो उमेरमा यति साधारण केटीसँग आकषिर्त हुँला भन्ने लागेको थिएन ।

    आकर्षण वस्तुसँग हुन्छ कि भावना ? या यसको पछाडि कुनै इन्जायम हुन्छ म अहिले यसै भन्न सक्दिनँ । हो, सायदै कहिल्यै भन्न सक्दिनँ ।

    अहो ! उसले बोकेको ठेकी ! उसको रापिलो मुहार । त्यो खुला अधर । सपक्क मिलेका आँखी भौं । म अहिले पनि उसको सौन्दर्यमा मोहित होइन, सम्मोहित नै हुन्छु । जीवनमा कहिल्यै प्रेममा नपरेको म, प्रेमबाट भागी-भागी हिंडेको म अचानक कस्तो सम्मोहनमा परें । सम्मोहित भएँ ? कसरी भएँ त्यो पनि म भन्न सक्दिनँ ।

    यस्तो सोच्छु- समयमा प्रेम हुन्छ कि प्रेम समयमा हुन्छ ?

    मभित्र कुनै उत्तरले जन्म लिंदैन ।

    सोच्दासोच्दै रात ढल्किगयो । निद्रा खज्मजियो । बिथोलिएन छ ।

    आश्चर्य, सपनामा पनि उसकै रजगज थियो ।

    हिजोको झलकको धीत मरेको रहेनछ । विपना उसकै खोजीमा थियो । नढाँटी भनुँ, उसलाई देख्न पाइन्छ भन्ने लोभैले म चाँडो उठ्न पुगेछु ।

    उठेर फ्रेस भएर भान्छामा के छिरेको थिएँ । आमा र ऊ चिया पिउँदै गफ गरिरहेको देखें ।

    एक छिन त अलमलमा परें ।

    छिट्टै उठेको देखेर आमा पनि छक्क पर्नुभएछ, मुखै फोरेर भन्नुभयो- ‘हैन तँलाई अचेल निद्रा लाग्दैन कि कसो ?

    एकै सासमा पानी घुट्क्याउँदै भनें- ‘कति सुतिरहनु ? भर्खरै उठेको ।’

    भान्छामा चिया चिसो भइसकेछ । आमाले मेरो कुरा बेवास्ता गर्दै भन्नुभयो, ‘तताएर खा !’

    ‘म तताइदिन्छु नि !’

    उसको कुरा सुनेर म आश्चर्यमा परें । लौ उसले घरको बुहारीझैं पो कुरो गरी ।

    चिया तताउन खोज्दै थिई । आमाले रोक्नुभयो ।

    ‘यसको बिहे गर्ने बेला भइसक्यो, बुहारीलाई सघाउने बनाउनु परेन । बानी पार्नु परेन ?’ आमाको तर्क थियो ।

    ऊ मुस्कुराउँदै बसी । मैले चिया ल्याएर ऊछेउको कुर्सी समातेर बसें । म बसेपछि जान्छु भन्दै अड्डी कसी । बस न बस भन्न मन थियो भनिनँ ।

    आमाले कुरा बुझेझैं भन्नुभयो, ‘किन हतार गरेको ?’

    ‘अँ कति काम छ घरमा, फुर्सत नै हुँदैन घर आउँदा त ?’

    ‘घर आउँदा ? हँ..’ ‘भनेसि के माइत नि छ र ?’

    उसले मुख बिगारी । ठेकी हल्लाउँदै उही रफ्तारमा गई ।

    मैले त केही सोधेकै थिइनँ । आमा डियरले आफैं पो उसको गुणगान गाउन थाल्नुभो ।

    ‘यसको नाम गीताञ्जली हो । तैंले चिनिस् कि नाइँ हरि अंकल क्या त.., उहाँकै कान्छी छोरी हो के । साह्रै सुन्दर र असल छे । हेर न कति साधारण छे तैपनि यति सुन्दर देखिन्छे । पढ्न पनि सानैदेखि तेज थिई । अहिले पुल्चोक क्याम्पसमा इन्जिनियरिङ गर्दैछे त्यो पनि स्कलरसिपमा । साह्रै व्यावहारिक छे । अस्ति मैले केही त भनेको थिइनँ, खै के सोची आफैंले केही कुरा गरी ।’

    उसले भन्दै थिई ‘म यही दूध बेचेरै पढें । म घर आएका बेलामा यति काम गर्न किन लाज मान्नू, अरूले के भन्लान् भन्ने सोच्ने हो भने आफ्नो जिन्दगी त्यतै छुट्छ । बाँच्नै बिर्सन्छ मानिसले । पहिले पहिले कसैले तिम्रा बाले के काम गर्नुहुन्छ नि भन्ने प्रश्न कसैले नगरून् भन्ने लाग्थ्यो । तर अचेल म खुलेरै कृषक हो भन्छु । कामको सम्मान गर्न सक्ने भएँ । सायद धेरै कुरा बुझें पनि । अहिले त म माटोलाई प्रेम गर्ने भएकी छु । आफैंले उब्जाएका बालीनालीसँग मितेरी लगाएकी छु । गाईवस्तुसँग मीठो संवाद गर्ने भएकी छु । यो आनन्दको अनुभव बटुल्न पाउँदा दंग छु ।’

    त्यही दिनदेखि आमाले उसलाई बुहारीको रूपमा देख्न थाल्नुभएछ ।

    ‘यस्तो बुझकी र व्यावहारिक केटी त भेटिन्नन् केटा आजकालको जमानामा । विचार गर है ।’ आमाले मुख खोली हाल्नुभयो ।

    अहो ! म त छक्कै । रोजाइ त एउटै नै पो परेछ । आखिर म आमाकै दूध खाएर हुर्किएको छोरो न परें !

    Tags :
    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend