बागलुङ, २५ मंसिर – उच्च अदालत बागलुङका मुख्य न्यायाधिस द्वारिकामान जोशीले कानून व्यवसायीको दक्षताले मात्रै पीडितले न्याय पाउन सक्ने बताएका छन् ।
उच्च अदातल बार एसोसिएसन, मानवअधिकार तथा जनसरोकार समितिको आयोजनामा शुक्रवार सम्पन्न अन्तरक्रियामा बोल्दै जोशीले न्यायको सारथीनै कानुन व्यवसायी भएको बताए ।
‘कानून व्यवसायी नभएमा अदातलले मात्रै न्याय दिन सक्दैन, त्यसमा तथ्यप्रमाण खोज्ने र अनुसन्धान गर्ने पक्ष भनेकै वकिलहरु हुन्’ जोशीले भने, ‘वकिलको क्षमता र लगनशिलताले देश न्यायको बाटोमा जान सक्छ ।’
उनले अन्तराष्ट्रिय मानवअधिकार दिवशको अबसरमा वहसकला र व्यवस्थापन बिषयमा कार्यपत्र प्रस्तुत गर्दै समाजमा हिंसा अन्त्यकालागि समेत वहसकला र कानून व्यवसायीको भूमिका महत्वपूर्ण भएको बताए ।
‘राम्रो बहस गर्ने वकिलले पीडितलाई न्याय दिने देखि कानूनको राम्रो व्याख्या पनि गर्छ’ उनले भने, ‘न्यायाधिसको मन जित्ने र तथ्यप्रमाण पेश भएपछि मात्रै पीडितले न्याय पाउने अबस्था आउँछ ।’
कार्यक्रममा बरिष्ठ अधिवक्ता पद्मनाथ शर्माले कानून व्यवसायीले पीडितको न्यायकालागि लड्नुपर्ने भन्दै कानूनको दक्षता पनि राख्नुपर्ने बताए ।
बारका उपाध्यक्ष बलराम शर्माको अध्यक्षता, मानवअधिकार तथा जनसरोकार समितिका सचिव हरिकृष्ण सुवेदीको संचालन र बारका सहसचिव लक्ष्मी बास्कोटाको स्वागतमा अन्तरक्रिया सम्पन्न भएको थियो ।
बारले मानवअधिकारको क्षेत्रमा विभिन्न क्रियाकलाप र कार्यक्रम गर्दै आएको छ । ग्रामीण तहमा पुगेर कानूनी साक्षरता संचालन गर्ने देखि मानवअधिकारको पक्षमा बहस गर्ने काम निरन्तर गरेकोले दिवशमा गरिने औपचारिक कार्यक्रम समेत ती क्रियाकलापको निरन्तरता भएको बारका सचिव रमेशबहादुर खड्काले बताए ।
‘हामीले विभिन्न क्रियाकलाप पनि गरिरहेकै छौं, दिवशलाई अझै फलदायी बनाउन अधिकार र कर्तव्यको क्षेत्रमा बढी केन्द्रीत भएका हौं’ उनले भने, ‘हरेक कानून व्यवसायीले पालना गर्नैपर्ने नियमबारे यो अभियान र कार्यक्रमले झनै प्रष्ट बनाएको छ ।’ कानून व्यवसायीले पालना गर्नुपर्ने आचारसंहिता बारेपनि कार्यक्रममा छलफल भएको थियो ।