१३ साउन २०८३ , बुधबार

१३ साउन २०८३ , बुधबार
  • १३ साउन २०८३ , बुधबार
  • July 29 2026
गण्डकीमा जनप्रतिनिधिलाई अभिमुखीकरण कार्यक्रम

८५ स्थानीय तहका प्रमुख र उपप्रमुख पोखरामा भेला


जनमञ्च संवाददाता
  • २८ जेष्ठ २०७९ , शनिबार

  • ८५ स्थानीय तहका प्रमुख र उपप्रमुख पोखरामा भेला

    पोखरा, २८ जेठ – स्थानीय सरकार सञ्चालन र विकाससम्बन्धी अभिमुखीकरणका लागि गण्डकी प्रदेशका सबै ८५ स्थानीय तहका प्रमुख र उपप्रमुख पोखरामा भेला भएका छन् ।

    उनीहरूलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहजीकरणमा शुक्रबार र शनिबार अभिमुखीकरण दिएको छ ।

    मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार अभिमुखीकरणको उद्घाटन गर्दै स्थानीय सरकार सञ्चालनका लागि सजिला कानुन निर्माण गर्न आवश्यक रहेको बताए । ‘कानुनका प्रक्रिया अप्ठ्यारा हुने भएकाले कानुन बने पनि कार्यान्वयनमा सजिलो हुँदैन,’ उनले भने, ‘हामीसँग कानुन बनेर कार्यान्वयन गर्न नसकेका उदाहरण प्रशस्त छन् । स्थानीय तहमा यो समस्या नहोस् । जनतासँग प्रत्यक्ष जोडिने सरकार सञ्चालनमा पनि सजिलो हुनुपर्छ ।’

    उनले तीनै तहका सरकारबीच समन्वय आवश्यक रहेको उल्लेख गर्दै अन्तरपालिकाको समन्वय पनि जरुरी रहेको बताए । ‘हाम्रा सपना पूरा गर्ने पनि स्थानीय सरकारले हो,’ उनले भने, ‘स्थानीय तहको समन्वय र सहयोगबिना प्रदेश र संघका कार्यक्रम सफल हुँदैनन् ।’

    पोखरा महानगरका मेयर धनराज आचार्यले ५ वर्ष जनप्रतिनिधिका लागि लामो समय रहेको उल्लेख गर्दै गोष्ठीबाट स्थानीय सरकार सञ्चालनसम्बन्धी र कार्यसम्पादनमा सहजीकरण हुने बताए । ‘कानुनमा थाहा छैन भन्ने कुरा मान्य हुँदैन,’ उनले भने, ‘नीति नियम, कार्य सम्पादन, कानुन निर्माणलगायतमा धेरै कुरा सिकिनेछ । पुनः दोहोरिएका जनप्रतिनिधिले ५ वर्षे सिकाइ आदानप्रदान गर्नु हुनेछ ।’

    गण्डकीका मुख्य न्यायाधिवक्ता रोहितराज बाँस्तोलाले काम, कर्तव्य र अधिकार संविधानले नै तोकिदिएको भन्दै आफ्ना क्षेत्राधिकारभित्र रहेर काम गर्नुपर्ने बताए । प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष रघुनाथ काफ्लेले स्थानीय सरकारले असार १० मा बजेट ल्याउने भएकाले यसका लागि तयारीमा जुट्नुपर्ने र आम्दानीका स्रोत वृद्धिमा पनि ध्यान दिनुपर्ने बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend