दमौली, २९ जेठ – जिल्लाको बन्दिपुर गाउँपालिका-४ टावरमा शनिबार बेलुका साढे ८ बजे चितुवाको आक्रमणबाट एक बालिका घाइते भएकी छन् । स्थानीय ८ वर्षीया रियाना थापालाई चितुवाले आक्रमण गरी घाइते बनाएको बन्दिपुर गाउँपालिकाका निवर्तमान अध्यक्ष पूर्णसिंह थापाले बताए ।
थापाका अनुसार चितुवाले आक्रमण गरी घाइते भएकी बालिकाको डुम्रेस्थित मोती मेडिकल हलमा उपचार गरिएको र बालिकाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको छ ।
बजारबाट आमाबुवा घर आउँदै गरेको देखेर घरबाहिर निस्किएकी बालिकालाई चितुवाले आक्रमण गरेको बताइएको छ । बुबाआमा दौडिएर आउने बित्तिकै चितुवा भागेको थियो ।
चितुवाको दुई वटा नंग्राले बालिकाको घाँटीमा चिथोरेको छ । तनहुँको बन्दीपुरमै गत वर्ष पनि चितुवाको आक्रमणबाट एक बालिकाको मृत्यु भएको थियो ।