८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

थकाली स्वाद पस्किदै ढोरपाटनमा मानबहादुर


दिवस गुरुङ
  • २७ मंसिर २०७८ , सोमबार

  • थकाली स्वाद पस्किदै ढोरपाटनमा मानबहादुर

    विजयादशमीको टीकाको दिन । म ढोरपाटनको काखमा थिएँ । आकाश छ्याङ्ग खुलेको थियो । सँगै खुलेको थियोघुमी हिँड्ने मेरो मन पनि । ढोरको फाँटमा अझै फुलिरहेका फूलहरु अनि बिहानको ब्रेकफास्ट इन्जोय गरिरहेका घोडाहरुको दृश्यहरु लोभलाग्दा थिए, हेरिरहुँ खालका । म त्यसै आल्हादित बनेको थिएँ । फुरुंग परेको थियो मन । ६ दिन साइकल कुदाएको थकान छिनभरमै बिलाइगयो । साइकल ढोर आरक्षको हेटक्वाटरमै राखेर म गाउँ डुल्न निस्किएँ ।

    अर्को हप्ताबाट ढोरमा शिकार सुरु हुँदै थियो । त्यसैले फागुने ब्लकतिर शिकारको टोलीमा भरिया बनेर हिँडेका मानबहादुरलाई भेटँे । उनीसँगै बात मार्दै म लागेँ स्यालपाखे गाउँतिर । बाटैमा भेटिए एक जोसिला र हसिला युवा । उनीसँग सानो भिडियो क्लिप लिइरहँदा लाग्यो, उनीसँग बोल्नमा दम मात्र थिएन, ढोरको फाँटमा फुलेका एक आशालाग्दा युवा लाग्यो मलाई । अनि म उनलाई पछ्याउँदै लागँे उनको घरसम्म । अर्थात ढोरपाटन थकाली होमस्टेमा ।
    सुजन । उमेरले भर्खर २२ लागे । स्यालपाखे गाउँ नजिकै उनले तीन वर्षदेखि सञ्चालनमा ल्याएका थिएढोरपाटन थकाली होमस्टे । घर छेवैमा आकर्षक स्याउ फार्म बनाएका छन् । होमस्टेमा चिटिक्क परेका कोठाहरु मात्र छैनन्, ब्रेकफास्ट र खाना खानका लागि चिटिक्क कटेजहरु आँगनमै बनाएका छन् । त्यहीँ बसेर दसैंको सेलरोटी, झिलिङ्गा र कफीको चुस्कीसँगै हामी गफिन थाल्यौं ।

    ढोरपाटनमा जन्मे पनि उनले धेरै समय शहर बजारमै बिताए । रहरले हैन, बाध्यताले । बस्न त उनलाई पनि मन हुँदो हो हाँसीखेली आफ्नै गाउँघर अनि ढोर फाँटमा । पढाइकै सिलसिलामा उनी बुर्तिबाङ, पोखराहुँदै काठमाडौंसम्म पुगे । ब्याचलर पढ्दापढ्दै उनलाई क्यानडा जाने भूत चढ्यो । विदेशमा धेरै पैसा कमाएर आफ्ना सपनाहरु पूरा गर्ने रहर आम युवाहरु झैं उनले पनि पालेकै थिए तर दलालको भूमरीमा नमज्जाले फसे। न उनी क्यानडा पुगे, न त फिर्ता नै भयो उनको लाखौं पैसा । तर उनले हरेश खाएनन्, बरु राजधानीबाट थप उर्जा र साहस बोकेर घर फर्केँ अनि सुरु गरे आफ्नै माटोमा थकाली होमस्टे ।

    ढिलै भएपनि घैटोमा घाम लागेकाले उत्सुकता हुँदै उनी विगतमा फर्कन्छन्, ‘हुन त बुढापाकाले भनेको सुनेको थिए, विदेशमा त हाड छाला घोटेर अर्काको गुलाम गरेर पैसा कमाउने हो, यहाँ आफ्नै माटोमा त्यति नै मिहिनेत र परिश्रम गरे पैसा टिप्ने हैन, सोहोर्ने नै हो । विस्तारै ढोरपाटन क्षेत्र पनि पर्यटकहरुको रोजाइमा पर्दै गएको थियो । त्यसैले यहीँ आफ्नै माटोमा पौरख गर्ने संकल्प गरेँ । घुम्न आउने पाहुनाहरुलाई ढोरमा पनि थकाली स्वाद किन नचखाउने भनेर नै मैले यो होमस्टे सुरु गरेको थिएँ ।’

    घर चाहिँ उनको आधा घण्टा पर भुजी गाउँमा पर्दछ । यो ठाउँ उनलाई सेन्टर पोइन्ट लाग्यो अनि उनले ५–६ वटा कोठाहरुसहितको होमस्टे बनाए । उनलाई लाग्छ,सुरुवात गर्दा त्यति धेरै पर्यटकहरु आएका पनि थिएनन् तर त्यो एउटा उपयुक्त समय लाग्यो । एक्कासी पर्यटन फस्टाएसँगै ब्रान्ड बनिसकेका होटलहरु र होमस्टेहरुसँग प्रतिस्पर्धा गर्न झन् चुनौतीपूर्ण बन्छ, उनलाई लाग्छ ।

    कलेजमा पनि व्यवस्थापन संकाय पढेरै होला, उनी पर्यटनलाई अलि फरक ढंगले नै बुझ्छन्, मनन गर्छन् अनि लागू गर्छन् । उनी भन्छन्, ‘मेरोमा दुईजना पाहुनामात्र आए पनि म निरास बन्दिन्, दुई जनालाई म दुई सय जनाको नजरले हेर्छु । मैले ती दुईलाई राम्रो आतिथ्यता, सत्कार रपूर्ण सन्तुष्टि दिन सके अर्कोपटक दुई सय जना पाहुनाहरु यही होमस्टे खोज्दै आउन सक्छन् । त्यसैले पाहुनालाई म भगवानको रुपमा सत्कार गर्छु ।’
    हुन पनि उनले पाहुनाहरुलाईपस्कने हरेक शैलीहरुपृथक छन् नै । कहिले पाहुनाहरुलाई लिन उनी गाडी लिएरै बुर्तिबाङसम्म पुग्छन् त स्वागतका लागि फूलमाला लिएर पारि देउरालीसम्म जान्छन् । घरमै अर्गानिक थकाली स्वाद चखाउँछन् । फापरको ढिडो, ढोरकै आलु, ढकाइको साग अनि स्थानीय खसीको सुकुटी, त्यो पनि थकाली फ्लेवरमै, पाहुनाहरु थपी थपी खान्छन् । हाँडीमै बसालेर तयार पारेको स्याउको रक्सी स्वाद मानिमानी पाहुनाहरु लिन्छन् । कति त कोसेली बनाएर साथैमा पोको पारेर लग्छन् ।

    पाहुनाहरुलाई कुनै चिजमा कमी नहोस् उनी चाहन्छन् । घोडामा ढोर फाँट फन्को मार्न चाहनेहरुलाई घोडाको व्यवस्था गरिदिन्छन् । पूर्वमा छ्यान्टुङ गुम्बादेखि पश्चिममा निसिल ढोर अनि सुर्तिबाङ देखि फागुनेसँग घुमाएर मात्र पाहुनालाई फर्काउँछन् । ढोर फाँटमात्र नघुमोस् पाहुनाहरुले, साथै यहाँको रहनसहन, धर्मसंस्कृति, जैविक विविधता, तिब्बती शरणार्थीहरुको जनजीवन पनि सँगै सिकेर पाहुनाहरु फर्किउन, उनलाई लाग्छ । अनि उनी लागि पर्छन्, यहाँको फरक स्वादहरु पाहुनालाई पस्कन । हुन पनि पाहुनाहरु फर्कीफर्की आएका पनि छन् ।

    यहीँका स्थानीयहरुले यहीँ नै केही व्यवसाय गरुन् उनलाई लाग्छ । सबैले होमस्टे नै सञ्चालन गर्नुपर्छ भन्ने छैन, उनी थप्छन्, ‘कोहीले घोडा पालेर पाहुनालाई घुमाउने त कोही ट्रेकिङ गाइड बनेरै यहाँका ठाउँहरु घुमाउन सक्छन् । यहाँको स्थानीयले घुमाउनु र अन्यन्त्रका गाइडहरुले घुमाउनुमा आकाश जमिनको फरक हुन्छ ।कोही खेतीपाती गरेर फापर, आलु उब्जाउन सक्छन्, कोही गाईभंैसी पालेर दूध उत्पादन गर्न सक्छन् । त्यही प्रोडक्टहरु होमस्टेमा खपत हुन्छन् । पाहुनाले यहाँ खर्चेको पैसा यहीँभित्र सर्कुलेट गर्न सक्नुपर्छ । अनि मात्र दीगो पर्यटन सम्भव हुन्छ ।’

    ढोरपाटन स्वर्गको टुक्रा हो, यसमा कुनै दुईमत छैन । उहिले यो व्यापार एवं पर्यटनको लागि ट्रान्जिट पोइन्ट थियो । यहीँबाट पर्यटकहरु म्याग्दी, रुकुम, डोल्पा त कति तिब्बतसम्म पुग्थे । त्यही बाटो व्यापारका लागि व्यापारीहरु आवातजावात गरिरहन्थे । उहिले विदेशी पर्यटकहरुको लर्को नै लाग्थ्यो । तर, समय सधैं उस्तै रहेन । वि.स. २०४० ताका ताराचिङ भन्ने ठाउँमा एक जना विदेशी पर्यटकको रहस्यमयी ढंगले हत्या गरियो । ढोरपाटनकै प्रसिद्ध गुम्बा हो छ्यान्टुङ गुम्बा । त्यहाँका मुख्य पुजारीको हत्या एवं अमूल्य वस्तुहरुको चोरी भएपछि एक प्रकारको भय उत्पन्न भएको थियो ढोरपाटन भर । यी यावत घटनाहरुले ढोरपाटनको पर्यटनमा धेरै धक्का पु¥यायो ।

    उनका मावली हजुरआमा उमेरले ८० लागिन् । हजुरआमाले देखे भोगेको विगतको त्यो समृद्धि ढोरको इतिहास हजुरआमाबाट उनले धेरै सुनेका थिए । त्यही उनले यसरी सुनाए, ‘हजुरआमा भर्खर बिहे गरेर आएकी थिइन् ढोरपाटन । १८ सालमा तिब्बतबाट लखेटिएका शरणार्थीहरु ढोरका फाँट भर ढाकिएका थिए अरे !उनीहरु आएसँगै ढोरको समृद्धिमा धेरै उकालो लाग्यो । स्वीस सरकार र अन्य दात्री निकायहरुको पहलमा मिसन अस्पताल सञ्चालनमा आयो । एकदम कम शुल्कमा विभिन्न स्वास्थ्य उपचारहरु हुन्थे । ढोरबासीहरुले हेली र हवाइजहाज देख्न पाए । गाउँमै कार्पेट उद्योग बनेर स्थानीयले रोजगार समेत पाएका थिए । कपडा सिउने मसिन देखि विभिन्न विदेशी उपकरणहरु उपयोग गर्न पाएका थिए तर समय उस्तै रहेन । विस्तारै तिब्बती शरणार्थीहरु पोखरा, काठमाडौं त कोही विभिन्न देशहरुमा पुगे । उनीहरुले ढोर छाडेसँगै फेरि ढोर उहीँ पहिलेकै अवस्थामा फर्कियो । एयरपोर्ट बन्द भयो, मिसन अस्पताल पाल्पा सारियो । कार्पेट उद्योगमा सदाका लागि ताला लाग्यो अनि यहाँको विद्यालय समेत बुर्तिबाङ झर्यो । त्यसपछिका वर्षहरुका ढोरमा जति विकास हुनुपथ्र्यो, त्यति भएन । दोष नेताहरको मात्र हैन, हामी सबैको थियो ।’

    नेताहरुले ढोरको विकासका लागि बोल्दै नबोलेका भने हैनन् । प्रधानमन्त्री हुँदा केपी ओली ढोरपाटनमै आएर ढोरको चौतर्फी विकासका लागि पहल गर्ने वाचा गरेका थिए । कति गृहमन्त्रीहरु आए, कति मन्त्रीहरुले टेके ढोरपाटनमा । तर, मुखमा राम राम बगलीमा छुरा भनेझैं उनीहरु राजधानी पुगेपछि कहिल्यै फर्केर ढोरलाई हेरेनन्, न त पूरा नै गरे खाएका बाचा कसमहरु ।
    उनलाई लाग्छ, ढोरको साक्षरता दर एकदमै कम छ । दलित बस्तीको बाहुल्यता रहेकाले अझै पनि अशिक्षा, रुढीबादी अन्धविश्वास, बालविवाह आदि यहाँका विकासका बाधक बनेका छन् । बूढापाकाहरु उही पहिलेकै व्यवस्था र प्रणालीमा अडिग छन् । बिजुली बाल्छुभन्दा दियालो नै ठीक भन्ने सोच राखेकाहरुको जमात ठुलै छ अझै । अनि पढेका केही युवाहरु समेत सुनौलो भविष्यको खोजीमा विदेशिने तितो यर्थाथ छ । अनि लाग्छ, समाजलाई एकीकृत गर्दै विकासका लहरहरु भित्राउने नेताको सधैं खडेरी छ ढोरमा । अगुवा बनेका टाठाबाठाहरु सोझासाझा जनतालाई लुटेर माथि पुगिसकेका छन् अनि जनताहरु जहाँको त्यहीँ । धनी र गरिबबीचको खाडल जबसम्म पुरिदँैन, तबसम्म सम्मुनत ढोरको कल्पना कल्पनामै सीमित रहन्छ । त्यसैले आम मानिसहरु नै जागरुक भएर अघि बढ्नु पर्नेछ ।

    उनलाई लाग्छ, ढोरको विकासमा धेरै ढिला भइसक्यो तर अझै केही बिग्रिएको छैन । सबै जना एक भएर लागेमा नहुने के नै छ र ? उनलाई लाग्छ । पहिला त ढोरमा आइपुग्ने सडक कालोपत्रे गरिनुपर्नेछ । शिक्षा, स्वास्थ्य, सञ्चार, विद्युत लगायत अति आवश्यक पुर्वाधारहरुको विकास आवश्यक देखिन्छ । पर्यटकहरुलाई आकर्षित पार्ने विभिन्न स्किमहरु बनाउनुपर्छ । अनि त पर्यटकहरुको घुम्ने लिस्टमा ढोरपाटन पहिलोमा पर्दछ ।
    उनले व्यवसाय सुरु गर्नेबित्तिकै कोरोना महामारी फैलियो । पर्यटकहरुको आगमन सुस्तायो । तै पनि उनी आत्तिएनन् । धैर्य भएर लागिरहे । त्यस समय होमस्टेसँगै एप्पल गार्डेन बनाए । होमस्टेको स्तरोन्नतिमा लागे । खेतीपातीमा समय व्यतित गरे ।

    समयसँगै फेरि ढोरपाटनमा पर्यटन उकासिनेमा उनी विश्वस्त छन् । समयसँगै यो होमस्टेलाई विस्तार गर्ने सपना छ उनको । क्वान्टिटीभन्दा क्वालिटी मेन्टेन गराउनेमा उनी सचेत नै छन् । अझ धेरै युवाहरुलाई पर्यटनमा आकर्षित गराउनुपर्छ । यस्तै जोसिला र समर्पित युवाहरु बढ्दै जाने हो भने ढोरपाटन घुम्न आउनेहरुका लागि हट स्पट पक्कै बन्नेछ । अनि फेरिनेछ ढोरपाटनको मुहार । उनको आगामी व्यवसायको यात्रा अझ सफल रहोस् । यस्तै आशालाग्दा युवाहरु ढोरपाटनले अझ धेरै जन्माइरहून् ।अनगिन्ती शुभकामना उनलाई ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend