पोखरा/ पाँच वषभित्र कृषि तथा पशुजन्य उत्पादनमा आत्मनिर्भर बन्ने उद्देश्य लिएको पोखरा महानगरपालिकाले कृषकलाई २० लाख बराबरको अनुदान वितरण गरेको छ ।
मेयरमैत्री बाख्रा पालन प्याकेज कार्यक्रम अन्तरगतका चार समूहलाई महानगरपालिकाले प्रतिसमूह पाँच लाख रुपैयाँका दरले २० लाख बराबरको अनुदान वितरण गरेको हो ।
पोखरा महानगरपालिकाको पशु सेवा शाखा द्वारा आयोजित बाख्रा मेला प्रदर्शनी तथा अनुदान वितरण कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कृषकलाई अनुदान वितरण गरेका हुन् ।
अनुदान प्राप्त गर्नेमा पोखरा महानगरपालिका–१३ को मिलीजुली बाख्रापालन कृषक समूह, वडा नं. १८ को सराङकोट बाख्रापालन समूह, वडा नं. ३२ को लगनशील बाख्रा पालन कृषक समूह र वडा नं। ३१ को बेगनास बाख्रा पालन समूह रहेका छन् । अनुदान रकम ती समूहमा आबद्ध भएका कम्तीमा पनि एक सय जना कृषकहरू प्राप्त गर्ने छन् ।
यसैगरी मौजा हिल लाईभस्टक फार्म पोखरा २० का कृषक दुर्गा बहादुर गुरुङलाई ‘सर्वोत्कृष्ट वर्ष कृषक’ घोषणा सहित सम्मान गरिएको छ । गुरुङले पोखराका विभिन्न स्थानलाई बाख्रा पालनको पकेट क्षेत्रको रूपमा विकास गर्न तथा कृषकहरूलाई प्रोत्साहन गर्ने कार्यमा उल्लेखनीय योगदान गरेका छन् । यस्तै पोखरा महानगरपालिका भित्र रहेका १७ वटा उत्कृष्ट कृषि फार्महरूलाई पनि सम्मान पत्रले सम्मान गरिएको छ। सम्मानित कृषकका प्रत्येक फार्महरूमा एक सय बढीको संख्यामा बाख्रा पालिएका छन् ।
महानगरप्रमुख आचार्यले आगामी पाँच वर्षभित्र पोखरा महानगरपालिकालाई कृषि तथा पशुजन्य उत्पादन तरकारी, दूध, अण्डा, मासु तथा फलफूलमा आत्मनिर्भर बनाउने बताए । कृषि तथा पशु बिमामा सबै किसानलाई सामेल हुन अनुरोध गर्दै उनले बिमालाई थप व्यवस्थित गर्ने बताए ।
पोखरा महानगरपालिकाका अनुसार हालसम्म एक सय ५४ जना कृषकहरूले व्यवसायिक कृषक परिचयपत्र प्राप्त गरेका छन् । वर्णशंकर र शुद्ध गरी पोखराका कृषकको फार्ममा ६७ हजार बढी बाख्रा पालिएका छन् ।