११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

कमरेडको रातो श्रीपेच


केशव दाहाल
  • १० पौस २०७८ , शनिबार

  • कमरेडको रातो श्रीपेच

    नारायणी किनारमा ओली कमरेडको महाउत्सव चलिरहँदा म भने आफ्नै अतितको यात्रामा मग्न थिएँ । आँखाको डिलमा नाँच्दै थिए, स्कुले जीवनका चञ्चल र मगनमस्त क्षणहरू । एक दिन, ०३९ सालको कुरा हो । शरद् ऋतुको साँझ, दाइको सिरानेमुनि के–के खोजीबस्दा एउटा सानो चिट्ठी फेला पर्‍यो । पठाउनेको नाम थियो भैरु न्याैपाने । उनले दाइलाई कमरेड भनेर सम्बाेधन गरेका थिए । मैले कमरेड शब्द पहिलो पटक पढेको त्यही हो ।

    अर्को वर्ष अनेरास्ववियुको जिल्ला सम्मेलनका लागि सहयोग संकलन गर्न स्कुलमा केही थान रसिद आइपुगे । एक बुक मेरो हातमा पनि पर्‍यो । मैले सहयोग माग्दै गुरु तुलसी न्यौपानेलाई पत्र लेखेँ । सम्बाेधन ठोकेँ ‘कमरेड’ । अनेरास्ववियुको सम्मेलनस्थल थियो, संखुवासभाको उत्तरपूर्वी गाउँ । र, म थिएँ सम्मेलनको कान्छो प्रतिनिधि । चैनपुरमा पुष्पलता र प्रगति दिदीको घरमा खाना खाईवरी साँझ हामी लुक्दैलुक्दै सम्मेलनस्थलतिर लाग्यौँ । अँध्यारोमा लड्न लागेको बेला मेरो हात समाउँदै दाइ गोपाल थोप्राले मलाई सम्बाेधन गरे– कमरेड । म गदगद् भएँ । त्यसपछि मलाई कमरेड शब्द बिछट्टै मन पर्न थाल्यो ।

    उमेरसँगै कमरेडहरूको गोलोभित्र म पसेँ । मानौँ, लेकमा शीत झरेजस्तो यत्रतत्र कमरेड । अथवा, कमिलाको ताँतीजस्तो जताततै कमरेड । त्यसपछि त कवितामा कमरेड, कथामा कमरेड, उपन्यासमा कमरेड । कहिलेकाहीँ मनमा प्रश्न आउँथ्यो, यो धर्तीमा सर्वप्रथम कमरेड भनेर कसले कसलाई बोलायो होला ? कतै घनघोर जंगलमा हराएको प्रिय मित्रलाई कुनै लडाकु युवकले गरेको पहिलो सम्बाेधन त हैन यो ? कि उहिल्यै दास युगमा, सम्राटको आदेशले जिब्रो काटिन अभिशप्त दासले आफ्नो बालसखालाई गरेको अन्तिम सम्बाेधन हो यो ? जीवनका अनेक अक्करमा कमरेडहरू भेटिँदै गए, छुट्दै गए । धुलोमा, खेतमा, कारखानामा । लाग्थ्यो, संसारका करोडौँ भुइँ मान्छेहरूको जीवनमा उज्यालो खोज्न म पनि कमरेडहरूसँगै लामबद्ध छु । यद्यपि त्यो बाटो किन यतिसारो घुमाउरो र भिरालो छ, मलाई थाहा थिएन ।

    ०४६ पछि बिस्तारै कमरेडहरू सिनेमाघर, डान्सबार, जुवाखाल र दरबारहरूमा भेटिन थाले । हेर्दाहेर्दै गाउँ खाली भए, कमरेडहरू राजधानीका सडकमा झण्डा हल्लाउँदै गुड्न थाले । अस्ति भर्खर कमरेड ओलीले नारायणी किनारमा नयाँ श्रीपेच पहिरनुअगाडि, विराटनगरबाट काठमाडौं आएका मेरा दाइ दिनेश श्रेष्ठले भने, ‘शहरमा सरकारी कमरेडहरूको अद्भुत द्वन्द्वयुद्ध चल्दैछ केशव । यो कलियुग हो र सायद कलियुगमा कमरेडहरू यसरी  नै यदुवंशीजस्तो लड्नलाई श्रापित छन् ।’

    प्रिय पाठकहरू, नारायणी किनार त यो लेखको बहाना मात्र हो । खासमा म कमरेडहरूको समयको कथा भन्न चाहन्छु । अनुरोध छ, पढिसकेपछि कृपया यसलाई दु:स्वप्न ठानेर बिर्सिदिनुहोला ।

    एकादेशको कथाः

    कथा सुरु गर्छु कार्ल मार्क्सबाट । जर्मनीमा अद्भुत शीतवर्षा भएको कुनै चिसो दिन युवा मार्क्सले भने, ‘धर्तीका सबै वस्तुहरू निरन्तर एकता, सङ्घर्ष र परिवर्तनमा हुन्छन् । त्यसैले विश्व ब्रह्माण्ड परिवर्तनशील छ । जीवन र जगत् परिवर्तनशील छ । राज्य र राजनीति परिवर्तनशील छ ।’ सन् १८४५ मा मार्क्स पहिलो बेलायत यात्रामा निस्किए । ज्ञानको खोज उनको मुख्य लक्ष्य थियो । उनले लन्डनका अनेकौँ पुस्तकालयहरू चहारे । अन्तर्क्रियाहरू गरे । दार्शनिकहरूलाई भेटे । अन्त्यमा आफ्नो ज्ञानको संश्लेषण गर्दै भने, ‘मानव समाज आफैँमा एक गतिशील कुरा हो । उत्पादन सम्बन्धमा आउने द्वन्द्वले विकासको ऐतिहासिक प्रक्रिया निर्धारण विजयी हुन्छ श्रमिक वर्ग । मार्क्सले ऐतिहासिक भौतिकवादको मात्र कुरा गरेनन् । उनले आह्वान गरे, ‘संसारका दुःखी जनहरू हो, अगाडि बढ । परिवर्तन सम्भव छ ।’

    यो त्यस्तो समयको कुरा हो, जतिखेर धर्तीमा अँध्यारो र उज्यालोबीच घनघोर युद्ध चलिरहेको थियो । अर्थात्, हाम्रो सभ्यतामा शाेषण थियो र त्यसबाट निस्कन छटपटी, उथलपुथल र संघर्षहरू थिए । यद्यपि बाटो स्पष्ट थिएन । कतै भावुकता थियो, कतै कल्पना । कतै आदर्श थियो, कतै तिर्सना । तर पनि मान्छेहरू उज्यालोको खोजीमा हिँडिरहे । तिनै उज्यालो खोज्नेहरूको प्रयत्नबाट अमेरिका स्वतन्त्र भयो । बेलायतमा गौरवमय क्रान्तिको ज्वाला उठ्यो । फ्रान्समा राज्यक्रान्ति भयो । तर, त्यो सब हुँदा पनि भोकाहरूको दुःख गएन । मजदुरको जीवन फेरिएन । महिलाहरूको अँध्यारोमा घाम लागेन । बरु शाेषण नयाँ–नयाँ रूपमा अझ भीमकाय बन्दै आयो ।

    मार्क्सले भने, ‘जबसम्म शोषण रहन्छ, शोषितहरू चुपचाप नबस । संघर्ष गर ।’ यो आह्वान समकालीन विश्वलाई ब्युँझाउने सर्वाधिक शक्तिशाली आह्वान बन्यो ।

    आफ्ना निष्कर्षहरूलाई संगठित गर्दै, मार्क्स र एंगेल्सले सन् १८४८ मा ‘कम्युनिस्ट घोषणापत्र’ लेखे । विचार गरौँ, इतिहासमा यो परिघटना नभएको भए के हुन्थ्यो होला ? अथवा, स्वयम् मार्क्स नै नजन्मिएका भए के हुन्थ्यो होला ? तर यो साधारण परिघटनाले मानव सभ्यतालाई नै उथलपुथल गरिदियो । त्यसपछि कथाले नयाँ रूप लियो । सुरु भयो कम्युनिस्ट पार्टी, सर्वहारा आन्दोलन र समाजवादको युग । फ्रान्स, जर्मनी, अस्ट्रिया, इटालीलगायत देशहरूमा मजदुर आन्दोलनहरू सुरु भए । सन् १८७१ मार्च १८ मा विद्रोहीहरूले पेरिस सत्ता कब्जा गरे । र, त्यो विद्रोह पशुवत् जीवन जिउन इन्कार गर्ने मान्छेहरूको ऐतिहासिक विद्रोह बन्यो । अर्थात्, यसरी कमरेडहरूको युग सुरु भयो ।

    १९औँ शताब्दीको उत्तरार्द्धमा रुसी मार्क्सवादीहरूले ‘तोभारिस्’ शब्दको अंग्रेजी अनुवाद गरे– कमरेड । बोल्सेभिकहरूले सोभियतप्रति सहानुभूति राख्नेहरूलाई कमरेड भन्न थाले । यसरी समाजवादी क्रान्तिको सशक्त आह्वान बन्यो– कमरेड । जो प्रकाशजस्तै विश्वभर फैलिँदै गयो ।

    पेरिस क्रान्ति अगाडि संसारभर या त मालिकहरू थिए या त किसान, मजदुर र दासहरू । तर, त्यो विद्रोहले मान्छेमा नयाँ विश्वचेतनाको उदय गरायो । कोही मालिक वा माईलर्ड हुने र बाँकीले तिनको करिया बन्नुपर्ने नियतिलाई मान्छेले इन्कार गर्‍यो । त्यो चेतनाले मान्छेलाई नयाँ सम्बाेधन दियो– कमरेड । त्यो सम्बाेधनभित्र समभावको सर्वोच्च अनुभूति थियो । त्यसपछि जर्मनीमा कम्युनिस्ट र बामपंथीहरूले एकअर्कोलाई कमरेड भन्न थाले । यो सम्बाेधन कलेज, खेलमैदान र पेसाकर्मीहरूबीच चर्चित हुँदै गयो ।

    जर्मन सामाजिक तथा श्रम आन्दोलनले यो सम्बाेधनलाई जनस्तरमा पुर्‍यायाे । १९औँ शताब्दीको उत्तरार्द्धमा रुसी मार्क्सवादीहरूले ‘तोभारिस्’ शब्दको अंग्रेजी अनुवाद गरे– कमरेड । बोल्सेभिकहरूले सोभियतप्रति सहानुभूति राख्नेहरूलाई कमरेड भन्न थाले । यसरी समाजवादी क्रान्तिको सशक्त आह्वान बन्यो– कमरेड । जो प्रकाशजस्तै विश्वभर फैलिँदै गयो ।

    अर्थात्, झिल्कोहरू यत्रतत्र बल्न थाले । सन् १९२१ मा चीनमा, १९२५ मा भारतमा र १९४९ मा नेपालमा कम्युनिस्ट पार्टीहरू खुले । आँगनमै कमरेडहरू भेटिन थाले । सन् १९७० को दशकमा दक्षिण अफ्रिकी रंगभेदविरोधी आन्दोलनको सर्वाधिक प्रिय सम्बाेधन बन्यो कमरेड । अफ्रिकी नेसनल कांग्रेस र कम्युनिस्ट पार्टीका सदस्यहरू अक्सर एक–अर्कालाई कमरेड भन्थे । यसरी कमरेडहरू भोल्गा र राइन नदी तर्दै, सहारा मरुभूमिका पत्रपत्र छिचोल्दै, अमेजोनका घनघोर झाँडीहरू पार गर्दै, सगरमाथाको काख र सरांगेटी मैदानसम्म फैलिए । रमाइलो के भने, यूकेको लेबर पार्टीले समेत आफ्ना सहयोद्धाहरूलाई कमरेड भन्न थाल्यो । र, सांस्कृतिक क्रान्तिताका चीनमा यो सम्बाेधन अझ व्यापक बन्यो । जहाँ महिलाहरूलाई नु टोङ्झी (महिला कमरेड), बच्चाहरूलाई सियाओ टोङ्झी (साना कमरेड) र ज्येष्ठ नागरिकहरूलाई लाओ टोङ्झी (पुरानो कमरेड) भनिन्थ्यो । यो कमरेडहरूको आरोहणको समय थियो । यसरी कमरेड समाजवादी आन्दोलनको एक महत्त्वपूर्ण बिम्बको रूपमा संसारभर स्थापित हुँदै गयो ।

    कथाको नयाँ मोडः

    सन् १९१७ मा जब सोभियत क्रान्ति सम्पन्न भयो, कथाले नयाँ मोड लियो । कम्युनिस्टहरू भन्छन्- सोभियत क्रान्तिसँगै विश्व कम्युनिस्ट आन्दोलनको शिखरयात्रा सुरु भयो । मलाई लाग्छ, सोभियत क्रान्तिको सफलतासँगै मार्क्सवादी समाजवादका दुर्भाग्यहरू प्रकट हुँदै गए । किनभने सोभियत सत्तामा सर्वसत्तावाद र लाल अराजकता देखापर्‍यो । तर, त्यसलाई सच्याउनुको सट्टा लेनिनहरूले उल्टो सैद्धान्तिकरण पो गरे । त्यसपछि झुप्रोका रुमानी सपनाहरूको जगमा उठेको समाजवादमा झुप्रो हरायो, दरबार, सिंहासन र श्रीपेच देखापर्‍यो । श्रीपेच अर्थात्, नयाँ बादशाह । सर्वहाराहरू लालघोडामा सवार भई मान्छेको सार्वभौमिकतामाथि कोर्रा चलाउन थाले । राज्य सत्तामा पार्टी हावी भयो । पार्टी सत्तामा व्यक्तिको प्राधिकार स्थापित गरियो ।

    सोभियत संघमा जब स्टालिनको युग आयो, समय अझ कठिन भयो । सन् १९३४ देखि १९३९ बीचका पाँच वर्षमा लगभग ५० लाख सोभियत कमरेडहरू गुटगत प्रतिशाेधको सिकार भए । झण्डै ५ लाखको हत्या भयो । सन् १९३४ मा पार्टीको सत्रौँ महाधिवेशनमा भाग लिएका १,८२७ प्रतिनिधिमध्ये सन् १९३९ को अठाह्रौँ महाधिवेशनमा ३७ जना मात्र जीवित रहे । बाँकीलाई आफ्नै कमरेडहरूले सफाया गरे ।

    व्यक्तिवाद यतिधेरै हाबी भयो, सन् १९४१ देखि १९४५ सम्म पार्टी केन्द्रको एउटै बैठक बसेन । त्यो समयमा जे थिए, स्टालिन थिए । र, उनले सम्पूर्ण कमरेडहरूको स्वतन्त्रता आफ्नो मुट्ठीमा लिएका थिए । भनिन्छ, लेनिनको मृत्युअगाडिको एउटा केन्द्रीय समितिको बैठकमा स्वयम् स्टालिनले लेनिन पत्नी क्रुप्सकायाको चुल्ठो समातेका थिए र बैठकबाट निकालेका थिए । स्टालिनको क्रुरताबाट दिक्क भएर उनकी दोस्री पत्नी एल्लीलुएवाले सन् १९३२ मा आत्महत्या नै गरिन् ।

    उता लेनिनले काउत्स्कीलाई गद्दार भने, यता मोहनविक्रमले पुष्पलाललाई । शुद्ध मार्क्सवादी हुने होडमा कमरेडहरूले सृजनशीलता गुमाउँदै गए, सूत्र समाउँदै गए । व्यक्तिवाद आम समस्या बन्यो । र, आज पनि प्रचण्डका लागि वैद्य उग्रवादी, वैद्यका लागि विप्लव र विप्लवका लागि अर्को उग्रवादी ।

    बिस्तारै सोभियत सत्ताका गडबडीहरू लेनिनग्रादको चिसो छिचोल्दै विश्वभर फैलिए । त्यसपछि विश्वसर्वहारा आन्दोलनमा कतै लेनिन र स्टालिन हाबी भए, कतै माओ । कमरेडहरूले अनेकौँ देशमा सत्तारोहण गरे, तर सत्तामा जीवन छुट्दै गयो । कमरेडहरूले लगाउने श्रीपेचको रंग मात्र रातो थियो, तर भुइँमान्छेको अनुहारमा लाली चढेन । कमरेड हरायो र सत्तामा भीमकाय शासक प्रकट हुँदै गयो । यहाँ प्रस्तुत सोभियत अनुभव मात्र एक उदाहरण हो । तर, यत्रतत्र भएको यही थियो र यही भइरह्यो ।

    नेपालको कथा सन् १९४९ अप्रिल २२ बाट सुरु गरौँ । त्यो लेनिन जयन्तीको दिन थियो । जुन दिन कलकत्तामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भयो । र, सुरुवाटै यसले माओ र लेनिनका अनुभवहरूको सारसंग्रहबाट आफूलाई दीक्षित गर्न थाल्यो । परिणाम नेकपामा रसियन, चाइनिज र राजावादी धारहरू देखा परे । उता लेनिनले काउत्स्कीलाई गद्दार भने, यता मोहनविक्रमले पुष्पलाललाई । शुद्ध मार्क्सवादी हुने होडमा कमरेडहरूले सृजनशीलता गुमाउँदै गए, सूत्र समाउँदै गए । व्यक्तिवाद आमसमस्या बन्यो । र, आज पनि प्रचण्डका लागि वैद्य उग्रवादी, वैद्यका लागि विप्लव र विप्लवका लागि अर्को उग्रवादी । आज पनि माधवका लागि ओली सुधारवादी, ओलीका लागि सीपी सुधारवादी । कुनै बेलाका केपी विरोधी कमरेड बादल आज केपीको शरणमा लम्पसार छन् । र, प्रचण्डको गोत्र मिल्न पुग्छ राप्रपासँग । मदन भण्डारीलाई सुधारवादी भन्ने कमरेड सीपी, राजाको स्तुति गाउँछन् र क्रान्तिको टालो फ्याँकेर वैद्य कमरेड घनघोर राष्ट्रवादी जामा लगाउँछन् । थाहा छैन, यो भ्रम हो कि इतिहास ? मात्र थाहा छ, आज कमरेडहरू ईश्वरको अवतारमा प्रकट छन् र समाजवाद उनीहरूको पाउमा संकुचित छ ।

    समाजवादको भाग्यः       

    कमरेडहरू भन्छन्- मान्छेको भाग्य क्रान्तिमा बगेको रगतले लेखिन्छ । के यो सत्य हो ? हाम्रो देशमा डेगेन्द्र राजवंशी नामका एकजना पुराना कमरेड थिए । उनले ०६७ वैशाखमा आत्महत्या गरे । एमालेको कार्यालयमा । यो नेपाली कम्युनिस्ट आन्दोलनको ठूलो दुखान्त हो । जसको नाममा कवि विमल निभाले कविता लेखेका छन्- डेगेन्द्र राजवंशीको आत्महत्या । नेपालमा अनेक नामका क्रान्तिहरू सम्पन्न भएका छन् । तर पनि डेगेन्द्र कमरेडहरू आत्महत्या गर्दछन् भने यसको अर्थ के हुन्छ ?

    जनआन्दोलन ०६३ पछि एकदिन सायद प्रचण्डले भनेथे- मान्छेको भाग्य स्वयम् उसको मेहनतले लेखिन्छ । प्रत्येक हिउँद र बर्खा रगत पसिना एक गरेर अन्न फलाउनेहरू भोकै हुने हाम्रो समाजमा मेहनत र क्रान्तिको के साइनो छ ? कमरेड केपी ओलीको एउटा कविता छ, ‘यो देशमा कसैले आँसु झार्नु पर्दैन । कोही भोको बस्नुपर्दैन । कोही उपचार नपाई मर्दैन’ । यहाँ ‘कोही’ भनेको को हो ? के केही भनेको ठेलागाडामा आफ्नो श्रीमान्‌लाई हालेर डायलाइसिस गर्न अस्पताल धाउने अभागी महिला हो ? ओडार, कान्ला र अनकंटार भूगोलमा भोक, रोग र विभेदले थिलथिलो पारिएको चेपाङ हो । अपमानको थप्पड खाँदै, दिनदिनै मर्दै बाँचेका ‘कोही’ दलित, महिला र गरिबका लागि समाजवाद र भाग्यको के साइनो छ ? उत्तर दिने ठाउँमा कमरेडहरू छन् तर उनीहरू स्वयम् अनुत्तरित छन् ।

    एक जना पुराना बामपन्थी नेता छन् युक्त भेटवाल । एक भेटमा उनले प्रश्न गरे- यो देश कसले चलाउँछ यार ? उनको प्रश्न इतिहासकै सबैभन्दा भारी प्रश्न हो । किनभने, देशमा सरकार छ, सरकारमा कम्युनिस्टहरू छन् र संविधानमा छ समाजवाद । तर समाजवाद भुइँमा कतै भेटिँदैन । किन यस्तो ? संखुवासभाको एकान्त गाउँमा मलाई कसैले कमरेड भनेर सम्बाेधन गरेको ३५ वर्षपछि कमरेड भेटवालको प्रश्न सुन्दा मन झसंग भयो । उनलाई सोधे- त्यसो भए सरकारका निर्णयहरू कसको इशारामा हुन्छन् त कमरेड ? पार्टीका बैठकहरू कसले चलाउँछन् ? योजना र बजेट कसले बनाउँछन् ? प्रहरी, प्रशासन कसले चलाउँछ ? अड्डा अदालतमा को बस्छन् ? अख्तियारमा लोकमानहरू कसरी आउँछन् ? आफ्नै प्रश्नहरूमाथि आफैँ गमिबस्दा मलाई लाग्यो, यो सब इन्द्रजाल हो । अर्थात्, यो सम्पूर्ण चमत्कारको अग्रभागमा छन् रातो श्रीपेचधारी कमरेडहरू, तर भित्र इशारा गर्छ कुनै तान्त्रिक मनुवा । तान्त्रिक, जसले सिंहदरबार र बालुवाटारलाई मोहनी लगाएको छ । कमरेडहरूको नेतृत्वमा सम्पन्न समाजवादी क्रान्तिको भाग्य आज तिनै तान्त्रिकहरू लेखिरहेका छन् ।

    को हुन् ती तान्त्रिकहरू ? कतै ती तिनै मान्छेहरू त हैनन्, जसलाई कुनै बेला कमरेडहरूले वर्गदुस्मन करार गरेका थिए ? हो ती तिनै मान्छेहरू हुन् जो जग्गाजमिन, ठेक्कापट्टा र हाइड्रोको दलाली गर्दछन् । जो ठेक्का पार्छन्, ठेक्का बाँड्छन्, र कमिसन खान्छन् । ती तिनै मान्छेहरू हुन् जो कालो धन र सेतो धनको व्यापार गर्छन् । उनीहरूले अडिट गर्नुपर्दैन, बेरुजू फर्छ्योट गर्नुपर्दैन । ती तिनै मान्छेहरू हुन्, जो सरकारी सुविधा लिन्छन्, सरकारी सुरक्षामा हिँड्छन् । ती तिनै मान्छेहरू हुन्, जो राज्यदोहनको रणनीति बनाउँछन् र त्यसको कमिसन लालदरबारमा बुझाउँछन् । त्यसैले सायद, मार्क्स आज पार्टी कार्यालयको कतै कुनामा बसेर कम्युनिस्ट घोषणापत्रका पानाहरू च्यातिरहेका छन् । सृजनशीलताशून्य, समय चेतनाशून्य, प्रतिबद्धताशून्य, विचारशून्य कमरेडहरू उता कुनै नदी वा चौरमा अन्तर्राष्ट्रिय गीत गाइरहेका छन् । र, यता सडकमा भोका मान्छेहरूको जुलुस समाजवादको शोक धुन बजाइरहेको छ ।

    कथाको बिसौनीः

    यो कथा निकै लामो बन्न सक्छ, अतः यसलाई अब छोट्याउन थाल्छु । यतिबेला म मेरो घरछेउ सुकुम्बासी बस्तीमा बस्ने मुसहर साथीलाई सम्झिँदै छु । थाहा छैन ऊ अहिले के गर्दै होला ? उही मुसहर जसले कमरेडहरूको जुलुसमा विगत ३० वर्षदेखि नारा लगाउँदै आएको छ । म सम्झिँदैछु, काठमाडौंको चिसो पेटीमा मागि बस्ने एउटी दुःखी महिला । थाहा छैन उसले आज के खाई ? जसले आफ्नै छेउको पटांगिनीमा पटक–पटक नेता कमरेडका गुलिया भाषण सुनेकी थिई । क्रान्तिमा लडेको युवक होस् कि हड्तालमा हिँडेकी युवती, सायद उनीहरू अहिले अरबको बालुवामा सुन खोज्दै होलान् । थाहा छैन, उनीहरूको मनमा अहिले कस्ता विचारहरू होलान् ? उनीहरूलाई आफ्नो विगतप्रति गर्व होला, कि होला पश्चात्ताप ? मुख्य प्रश्न के भने, नेता कमरेडहरूको भाग्यमा घाम उदाउँदा, भुइँमा किन अझै अँध्यारो ? के क्रान्तिपछि पनि मान्छेको भाग्य लेख्ने मसिको रङ फरक हुन्छ ?

    भाग्यलाई मार्क्सवादको जिम्मा लगाउँदा, त्यसको रङ कस्तो होला ? अथवा, मार्क्सवादलाई भाग्यको जिम्मा लगाउँदा, भाग्यको रङ कस्तो देखिएला ? यी खासमा मात्र मनगढन्ते प्रश्नहरू हुन् । मुख्य कुरा हो सिद्धान्तको पवित्रता र सृजनशीलता । अर्थात् सिद्धान्तलाई समयसँग जोड्ने, यसको पवित्रतालाई अझ प्रखर बनाउने र अगाडि बढ्ने गतिशीलता । अर्थात्, मार्क्सवादको गतिशीलता । अर्थात्, समाजवादको नवीनता । साथी डम्बर खतिवडासँग कहिलेकाँही रमाइला छलफलहरू चल्ने गर्दछन् । कुनै बेला हामी प्रत्येक दिन सैद्धान्तिक विषयमा लामा–लामा विमर्श गर्थ्याैं ।  हाम्रोबीचमा उठ्ने एउटा प्रश्न हुन्थ्यो नियति । अर्थात्, मान्छेको भाग्य ।

    कथाको अन्त्य गर्दै आजलाई यति भन्छु, रातो श्रीपेचमा कमरेडहरूको नयाँ अवतार- यो युगकै सर्वाधिक कुरुप चित्र हो । अतः अनुरोध छ, कृपया श्रीपेच फ्यालौँ । यो गाली हैन, आलोचना हो । र, अझै स्पष्ट भन्छु, अन्यथा अब म तपाईंहरूलाई कमरेड भनिरहन सक्दिनँ ।

    मान्छेको भाग्य कसले निर्धारण गर्छ ? मान्छेको भाग्य न त ईश्वरद्वारा, न त पदार्थद्वारा निर्धारित हुन्छ, बरू यो स्वयम् ऊ र उसका अनेक सम्बन्धद्वारा निर्धारित हुन्छ । यसर्थ मानवीय सम्बन्धहरूलाई ठीक ढङ्गले व्यवस्थापन गर्ने, यसभित्रका द्वन्द्वहरू बुझ्ने र न्यायपूर्ण समाधान निकाल्ने काम नै राजनीति हो । सायद, समाजवाद पनि त्यही हो । अर्थात्, व्यक्ति र समाजका स्वार्थहरूको एकता, संघर्ष र सम्मिलनको रचनात्मक व्यवस्थापन । तर, हाम्रा कमरेडहरूले कहिले व्यक्तिलाई समाते र समाज छोडिदिए, कहिले समाजलाई समाते र व्यक्ति छोडिदिए । भयो के भने, कमरेडहरूले द्वन्द्वको राजनीति गरे, तर जीवनको राजनीति गरेनन् । कमरेडहरूले सिद्धान्तको राजनीति गरे, तर युगको राजनीति गरेनन् । कमरेडहरूले वर्गको व्याख्या गरे, तर मान्छेलाई बुझेनन् । कमरेडहरूले सत्ता देखे तर यसलाई जीवनसँग जोड्न सकेनन् । परिणाम न त समाजवाद बन्यो, न त समाज । आधुनिक राज्य व्यवस्थामा नियतिको खेल भन्नु खासमा राजनीतिको खेल हो । जब राजनीति बिग्रन्छ, नीति बिग्रन्छ र त्यसपछि विग्रन्छ नियति अर्थात् भाग्य ।

    व्यक्तिको ‘भाग्य’ कुनै एकाङ्गी अवधारणा होइन । यो राज्य र राजनीतिको महत्त्वपूर्ण आयाम हो । व्यक्तिको भाग्य र दुर्भाग्य राजनीतिभन्दा पृथक् र निरपेक्ष कहिल्यै हुँदैन । कुनै पनि देशमा मलर सदा, सूर्यबहादुर तामाङ र जोद्धीप्रसादहरू (आशा छ, तपाईं यी नामहरू सम्झनुहुन्छ) भोकै मर्छन् भने बुझ्नुपर्छ त्यहाँको राजनीतिमा गडबडी छ । कुनै पनि देशमा अझै पनि वर्षौं पुरानो सिद्धान्त, नारा र वंशको नामले राजनीति चल्छ भने बुझ्नुपर्छ, त्यहाँ भुतले राजनीति गरिरहेको छ । जहाँ राज्यसंरचना र प्रणालीहरू केही मुट्ठीभर मान्छेको स्वार्थमा बन्धक हुन्छन्, बुझ्नुपर्छ त्यहाँ राजनीति छैन, दलाली छ । यद्यपि आफ्नो अनुहारमा मैलो छ, कमरेडहरू ऐना पुछिरहेका छन् ।

    कथाको अन्त्य गर्दै आजलाई यति भन्छु, रातो श्रीपेचमा कमरेडहरूको नयाँ अवतार- यो युगकै सर्वाधिक कुरुप चित्र हो । अतः अनुरोध छ, कृपया श्रीपेच फ्यालौँ । यो गाली हैन, आलोचना हो । र, अझै स्पष्ट भन्छु, अन्यथा अब म तपाईंहरूलाई कमरेड भनिरहन सक्दिनँ । र, मलाई तपाईंले बनाउने समाजवादमा पनि पटक्कै विश्वास छैन । चैनपुर छेउको त्यो दुर्गम गाउँमा आजभन्दा ३५ वर्ष अगाडि मलाई कमरेड भनेर पहिलोपटक सम्बाेधन गर्ने प्रिय गोपाल थोप्रा अहिले कता छन् थाहा छैन । यद्यपि उनलाई सम्झिँदै फेरि भन्छु, श्रीपेचधारी कमरेडहरू या त तपाईं आफूलाई बदल्नुहोस्, अन्यथा हाम्रो समयलाई क्रान्तिका भ्रमहरूबाट मुक्ति दिनुहोस् । म स्पष्ट छु, अन्यथा तपाईंबाट समाजवादको नेतृत्व किमार्थ हुनेछैन ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend