११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

अंग्रेजी नयाँ वर्ष: पाहुनाले भरियो बन्दीपुर


जनमञ्च संवाददाता
  • १९ पौस २०७८ , सोमबार

  • अंग्रेजी नयाँ वर्ष: पाहुनाले भरियो बन्दीपुर

    तनहुँ, १९ पुस – अंग्रेजी नयाँ वर्षको अवसरमा तनहुँको बन्दीपुरमा पर्यटकले भरिएको छ । विश्वभर कोरोनाको ओमिक्रोन भेरियन्ट संक्रमण र त्रास फैलिरहँदा बन्दीपुरको पर्यटन भने अंग्रेजी नयाँ वर्षले बौरिन सघाएको हो ।

    कोरोना कहरले थला परेर विस्तारै तंग्रिदै गरेको बन्दीपुरमा अंग्रेजी नयाँ वर्ष मनाउन आएका आन्तरिक पर्यटकको घुँइचो लाग्यो । बन्दीपुर बजार र टुँडिखेलमा पर्यटक चहलपहल निकै भयो । सडक खाना महोत्सवको कारण शुक्रबार र शनिबार कठ्यांग्रिदो चिसोमा पनि आधा रातसम्म बन्दीपुर जागिरहेको थियो ।

    नयाँ वर्षको कारण यहाँका अधिकांश होटल रेस्टुरेन्ट भरिभराउ भएका छन् । बन्दीपुरमा साना ठूला गरेर सयको हाराहारीमा होटल रेस्टुरेन्ट सञ्चालित छन् । शुक्रबार र शनिबार यहाँका होटलमा ९० प्रतिशत बढी अकुपेन्सी रहेको क्षेत्रीय होटल संघ बन्दीपुरका अध्यक्ष विपिन प्रधानले बताए ।

    नयाँ वर्षमा पर्यटकको भिडले बन्दीपुरको पर्यटन उकालो लाग्ने सन्देश दिएको प्रधानको भनाइ छ । ‘यही अवस्थामा बन्दीपुरको पर्यटन उकालो लागेमा कोरोना कहरले भोग्नुपरेको नोक्सानीको क्षतिपूर्ति उठाउन सक्छौं कि भन्ने विश्वासमा छौं,’ उनले भने ।
    शुक्रबार र शनिबार गरिएको सडक खाना महोत्सवमा झन्डै आठ हजार पर्यटक बन्दीपुर उक्लिएको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसन प्रधानले जानकारी दिए । ‘नयाँ वर्षमा देखिएको पर्यटकको घुइँचो बन्दीपुरको पर्यटनका लागि सुखद हो,’ उनी बताउँछन् ।

    ‘सडकमै खाऔँ, सडकमै रमाऔँ’ नाराका साथ बन्दीपुर बजार क्षेत्रको खुला आकाशमुनी खाना महोत्सव गरिएको हो । होटल रेस्टुरेन्टले सडकमै आआफ्नो स्वादका खानाका परिकार पाहुनालाई चखाएका थिए । क्षेत्रीय होटल संघ बन्दीपुर, बन्दीपुर पर्यटन विकास समिति र उद्योग वाणिज्य संघ बन्दीपुर बजार इकाई मिलेर पर्यटक बढाउने उदेश्यले महोत्सव आयोजना गरेका हुन् ।

    नयाँ वर्षमा गरिएको दुई दिने खाना महोत्सवले पर्यटकको संख्या बढेपछि अब हरेक महिना बन्दीपुरमा कुनै न कुनै कार्यक्रम गर्ने यहाँका पर्यटन व्यवसायी जनाएका छन् । पर्यटकलाई आकर्षित गर्नलाई होटल रेस्टुरेन्टले छुटको व्यवस्था दिने तयारी समेत हुँदैछ ।

    बन्दीपुर उक्लिएका ९९ प्रतिशत आन्तरिक पर्यटक हुन्् । कोरोना कहर सुरु हुनु अगाडिसम्म बन्दीपुर आउने विदेशी र आन्तरिक पर्यटकको संख्या बराबर थियो । होटल व्यवासायी बैंश गुरुङका अनुसार बसाइँका हिसाबले बन्दीपुरमा अधिकांश विदेशी पर्यटकको बसाइँ हुन्थ्यो ।

    ‘आन्तरिक पर्यटक त आउने घुम्ने जाने मात्रै थियो । अहिले त बन्दीपुर आउने बस्ने सबै पर्यटक आन्तरिक नै हुन् । विदेशी त शून्य जस्तै भएको छ,’ उनले भने, ‘कोरोनापछि व्यवसाय चलाउन आन्तरिक पर्यटकले भरथेग मिलेको छ ।’ आन्तरिक पाहुनको खर्च गर्ने बानीसँगै क्षमता बढेको उनले बताए । बन्दीपुरमा यतिबेला विदेशी पर्यटक छिटफुट देखिन्छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend