पोखरा, ३० पुस – त्रिभुवन आर्मी क्लबको महिला तथा पुरुष दुबै टिम दोस्रो टाइगरकप महिला-पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशाला स्थित भलिबल कोर्टमा शुक्रबार भएको राउन्ड रोविन लिगको महिला तर्फको खेलमा आर्मीले पुलिसलाई ३–१ को सेटमा हराउँदै तालिकाको शीर्ष स्थानमा रहँदै फाइनल प्रवेश गरेको हो ।
पुलिसले खेलमा अग्रता लिएपनि आर्मीले दोस्रो तेस्रो र चौथो सेट आफ्नो पक्षमा पार्दै जित हासिल गरेको हो । पहिलो सेट पुलिसले २५–२१ ले आफ्नो पक्षमा पारेको थियो ।
दोस्रो सेटमा आर्मीले २५–१८, २५–२१ र २५–१३ ले हराउँदै फाइनल प्रवेश गरेको हो । उता गण्डकी र पुलिस तेस्रो स्थानका लागि भिड्नेछन् ।
यस्तै महिला तर्फकै अर्को खेलमा एपिएफले आयोजकलाई ३–१ ले हरायो । एपिएफले २५–१४,२५–२०,२३–२५ र २८–२६ ले हराएको हो । बिहिबार रात परेपछि स्थगित भएको खेलले भने न्यु डायमन्डलाई घाटा परेको छ ।
२ सेट जितिसकेको अवस्थामा अध्यारो भएपछि खेल रद्ध गरिएको थियो । शुक्रबार खेलाइएको खेलमा पुलिसले ३–० को सोझो सेटमा न्यु डायमन्डलाई हराउँदा एपिएफलाई फाइदा पुगेको हो ।
अब फाइनलमा एपिएफ र आर्मी भिड्ने भएको छ । पुलिस र डायमन्ड भने तेस्रो स्थानका लागि भिड्नेछन् ।