पोखरा, १६ माघ – प्रधानमन्त्री शेरबहादुर देउवासँग गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीसहितको प्रतिनिधिमण्डलले भेटघाट गरेको छ । आइतबार भएको भेटमा प्रधानमन्त्रीसँग थप बजेट,आवश्यक जग्गाको व्यवस्थासहितका मागहरु राखिएको सरकारका प्रवक्ता तथा मन्त्री कुमार खड्काले बताए ।
‘बजेट अपुग हुँदा हामी अप्ठेरोमा परेको कुरा प्रधानमन्त्रीसमक्ष जानकारी गराउँदै गाँठो फुकाउन अनुरोध ग¥यौँ’,मन्त्री खड्काले टेलिफोनमा भने, ‘अघिल्लो सरकारले सिर्जना गरेको दायित्वका कारण सरकार नै ऋणको अवस्थामा जानसक्नेबारे पनि हामीले जानकारी गरायौँ ।’
मन्त्री खड्काका अनुसार प्रधानमन्त्री देउवाले जवाफमा आफूलाई सबै प्रदेशले व्यहोरेको यो समस्याबारे जानकारी भएको बताउँदै अर्थमन्त्रीसँग छलफल गरेपछि ठोस जानकारी दिने जवाफ दिए । मुख्यमन्त्री नेपाली,अर्थमन्त्री रामजी बराल तथा सरकारका प्रवक्ता खड्कासहितको प्रतिनिधिमण्डल अर्थमन्त्री जनार्दन शर्मासँग भेटको प्रतीक्षामा छ ।
अर्थमन्त्री शर्मा अस्वस्थ भएकाले आइतबार भेट हुन नसकेको गण्डकी सरकारका प्रवक्ता खड्काले जानकारी दिए । संघ सरकारले जग्गा उपलब्ध नगराएको समस्या पनि प्रधानमन्त्रीलाई जानकारी गराएको र प्रधानमन्त्रीले मुख्यसचिवलाई टेलिफोन गरी समस्या समाधान गर्न निर्देशन दिएको पनि उनले सुनाए ।
मुख्यमन्त्रीसँग भेटघाट भएको बताउँदै खड्काले भने, ‘मुख्यसचिव पनि सकारात्मक हुनुहुन्छ । हामीले समस्या राख्यौँ । उहाँले लिजमा समस्या छ । स्वामित्व हस्तान्तरणमा कानूनी समस्या छ उपयोगको कुरा अगाडि बढाउँदा हुन्छ भन्नुभएको छ ।’
उनका अनुसार प्रतिनिधिमण्डले गठबन्धनका शीर्ष नेताहरुलाई पनि भेट्ने कार्यक्रम छ । भेटमा हालै सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा अन्तरघात भएको विषय पनि उठान हुनसक्ने उनले बताए ।