बागलुङ, २१ माघ – विदेशमा रहेर नेपाली गीत संगीतको क्षेत्रमा लगानी गरिरहेका दिपक केसीको नयाँ गीत ‘ए मैना’ सार्वजनिक भएको छ । किशोरावस्थाको मनोभावनालाई समेटेर तयार भएका शब्द संगीतमा केसीले उक्त गीत बजारमा ल्याएका हुन् ।
गीत युट्युवमार्फत सार्वजनिक भएको हो । चर्चित गायिका शान्ति श्री परियार र गायक कुशल विश्वकर्माले गीतमा स्वर दिएका छन् । गीतको म्युजिक भिडियो झझल्को डिजिल युट्युव च्यानलमार्फत सार्वजनिक भएको हो । गीतमा चर्चित मोडल लोमस शर्मा र नम्रता सापकोटाले अभिनय गरेका छन् ।
कुशल विश्वकर्माको लय सिर्जना रहेको गीतमा राम केसीको छायाँकन, अमृत चापागाँईको सम्पादन तथा दिलिप रेग्मीको निर्देशन रहेको छ । नेपाली जीवन शैलीलाई शब्दमा उतार्न सक्ने कुशल संगीतकार केसी हाल जन्मभुमि छोडेर बैदेशिक रोजगारीको शिलसिलामा संयुक्त राज्य अमेरिकामा छन् ।
बागलुङ नगरपालिका वडा नं. ३ खहरेमा जन्मिएका केसीले यसअघि ‘पिरतीको छाता’ र ‘शिखर छुनेछ’ भन्ने बोलका गीतहरु बजारमा ल्याइसकेका छन् ।