पर्वत, ३ चैत – फलामका पाता बिछ्याएर बेलिब्रिज शैलीमा निर्माण भएको दोबिल्ला पुल पछिल्लो समय धराप बनेको छ । दुई दशकअघि दक्षिण पर्वत जोड्ने गरी दोबिल्ला–फलेबास सडकअन्तर्गत मोदी खोलामाथि निर्मित पुलको मर्मत नहुँदा जोखिम बढेको हो ।
पुलमा बिछ्याइएका फलामका पाता छिन्नभिन्न भएका छन् । फुटपाथका लागि बनाइएको दुवैतर्फको रेलिङ कुच्चिएर पैदलयात्री हिँड्न मुस्किल छ । फलामे पाता नट फुक्लिएर असरल्ल छन् । बढीमा १० टन क्षमताका लागि स्टमेट गरी बिछ्याइएका फलामे पातामाथि दोब्बरभन्दा धेरै भार बोकेका टिपर, ट्रक, एक्स्काभेटरलगायतका साधन गुड्दा पुल जीर्ण बन्दै गएको हो ।
२०५६ सालमा ट्र्याक खुलेको यो सडकमा लामो समय अस्थायी काठेपुलले काम चलाइएको थियो । पर्वतको करिब दुई तिहाइ बस्ती समेट्ने मुख्य सडकका लागि २०६३ सालमा पुलको डिजाइन गरिएको हो । सुरुमा पक्की पुल नै राख्न सरोकारवाला र उपभोक्ताले दबाब दिएको भए पनि केही समयका लागि भन्दै तत्कालीन जिल्ला विकास समितिले कमजोर पुल डिजाइन गरेको स्थानीयको आरोप छ ।
यस्ता पुलमा बिछ्याइएका फलामे पाताको बढीमा ५ वर्ष आयु हुने भए पनि लामो समयसम्म नफेर्दा पुल धराप बन्दै गएको स्थानीय चित्रसागर श्रेष्ठले बताए । उनका अनुसार दैनिक सयभन्दा बढी सवारी ओहोरदोहोर गर्ने पटकपटक सवारीसाधन फस्ने गरेका छन् ।
दुवैतर्फ फलामका लट्ठा तानेर बेलिब्रिज शैलीमा निर्मित पुलको भुइँमा पाता राखिएको छ । पाता धस्सिएका छन् । साँघुरो पुलमा धस्सिएको भागबाटै सवारी गुडाउनु बाध्यता छ । पुलका दुवैतर्फका पाता धस्सिएर नटबोल्ट फुस्किँदासमेत सम्बन्धित निकायबाट मर्मतको चासो नदिनु दुःखद पक्ष भएको कुश्मा-९ का वडाध्यक्ष कृष्ण शर्मा लामिछानेले बताए ।
कुश्माका आधाभन्दा धेरै वडाका साथै फलेबास नगरपालिका, बिहादी, महाशिला र पैयुँ गाउँपालिका जोड्ने मुख्य सडकको पुल मर्मतमा तत्काल ध्यान नगए ठूलो मूल्य चुकाउनुपर्ने कुश्माका नगर प्रमुख रामचन्द्र जोशी बताउँछन् ।
‘हामीले सम्बन्धित निकायमा खबर गरिसकेका छौं,’ उनले भने, ‘जतिसक्दो छिटो पुल मर्मत हुनुपर्छ ।’ पुल मर्मतको माग गर्दै प्रभावित स्थानीय गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलकहाँ गएकोमा उनले सम्बन्धित निकायलाई तत्काल पुल मर्मतका लागि निर्देशन दिएका छन् ।
‘मुख्यमन्त्रीज्यूले पूर्वाधार मन्त्रालयमा ताकेता गर्नुभएको छ,’ कांग्रेस नेतासमेत रहेको स्थानीय राम शर्मा पौडेलले भने, ‘तत्कालका लागि मर्मत गरेर लगत्तै नयाँ पुलका लागि काम हुने कुरा भएको छ ।’ चैत्र महिनाभित्र पुल मर्मत सक्ने गरी काम हुने उनले बताए । गत साता सडक कालोपत्रका लागि गिट्टी बोकेको टिपर पुलमा धस्सिएपछि एक्स्काभेटर लगाएर निकालिएको थियो । त्यसयता पनि कैयौं सवारीसाधन पुलमा धस्सिएका छन् ।