१३ साउन २०८३ , बुधबार

१३ साउन २०८३ , बुधबार
  • १३ साउन २०८३ , बुधबार
  • July 29 2026

टिकट नपाएपछि कार्यकर्ता र नेताबीच तिक्तता बढ्दै


जनमञ्च संवाददाता
  • १६ बैशाख २०७९ , शुक्रबार

  • टिकट नपाएपछि कार्यकर्ता र नेताबीच तिक्तता बढ्दै

    बागलुङ\टिकट नपाएपछि दलका कार्यकर्ता र नेतामा तिक्तता शुरु भएको छ । उमेदवारी दर्ताको समयमा दलले टिकट नदिएपछि स्वतन्त्र उठेका तथा औपचारिक उमेदवार बन्न नपाएकाहरुले दलै त्याग्ने सम्मको काम गरेका छन् ।
    चुनावको मुखमा आएर दलमा प्रवेश गर्ने र त्याग्नेको होडबाजी नै छ । कतिपयले अवसर पाउनका लागि दलमा प्रवेश गरेका छन् भने कतिपयले असन्तुष्टी जनाएर पार्टी छाडेका छन् । यसरी दल त्याग्नेमा प्रमुख तीन दलका कार्यकर्ता छन् । एमाले, कांग्रेस र माओवादीका नेताहरुले दलको सदस्यसमेत त्यागेर उमेदवार बन्ने होड चलेको हो । टिकट नपाएपछि नेपाल महिला संघकी सचिव उषा पौडेलले जैमिनीको उपप्रमुखमा कांग्रेसकै उमेदवारविरुद्ध एमालेको चिन्ह लिएर उठेकी छिन् ।
    अघिल्लो दिनसम्म पार्टीभित्रै उमेदवार बन्न रस्साकस्सीमा लागेकी पौडेलले सोमबार एमालेबाट टिकट पाइन् । एमालेले अन्य पालिकामा पनि फरक दलबाट ल्याएर निर्वाचनमा टिकट दिएको छ । उनीहरुले समयमा उमेदवारी फिर्ता लिएर आत्माआलोचना नगरे पार्टीले कारवाही गर्ने कांग्रेस नेताले बताए ।
    माओवादीका गलकोट नगर अध्यक्ष तिलक उप्रेतीले पनि पार्टी छाडेको घोषणा गरेका छन् । उनले पार्टी छाडेर उपप्रमुखमा मनोनयन गरेका थिए ।
    कांग्रेसकै काठेखोला–१ का सभापति गणेश नेपालीले पनि वडा अध्यक्षको टिकट नपाएको भन्दै पार्टी छाडेका छन् । उनले सामाजिक संजालमै राजिनामा पत्र राखेका छन् । एमालेमा पनि पद नपाएकाहरु असन्तुष्ट छन् । कोही भने टिकट नपाउने पक्का भएपछि अघिल्लै दिन स्वतन्त्र उमेदवार बनेका छन् । बागलुङ नगरपालिका–२ मा टिकटको चर्चा चलेपनि नपाएका रामराज गुरुङ र वडा नं. ३ का पुनम शर्माले स्वतन्त्र उमेदवारी दिएका छन् । एमालेको टिकट लिएकै उमेदवारबिरुद्ध उनीहरु बागी उठेका हुन् ।
    बागलुङ नगरपालिकाको उपप्रमुखमा मनोनयनपछि पवित्रा रोकालाई त्यागेर एमालेले राप्रपाका संजय खड्कालाई उमेदवार बनायो । रोका अहिले अलमलमा छिन् । ढोरपाटन नगरमा टिकट दिएर मनोनयनको बेला एमालेले विद्रोही राजमोसँग गठबन्धन गरेपछि टिकट खोसिएकी करमती पुनले भने पार्टीको लागि त्याग गरेको बताइन् । टिकट छाड्नेहरु अलमलमा छन् । उमेदवार नपाएपछि जैमिनी–१ का काशीराम आचार्यले कांग्रेसबाट बीपी पार्टीमा लागेर प्रमुखमा मनोनयन गरेका छन् । एमालेका सचिवालय सदस्य खिमबहादुर थापाले वडा अध्यक्ष नपाएपछि दल त्यागेका छन् । एमालेका नेता तुलसी अर्यालले ढोरपाटन नगरमा टिकट वितरणमा असन्तुष्टी जनाएर माओवादी प्रवेश गरेका छन् ।
    निर्वाचनको बेला टिकट नपाएर दल त्याग्ने र अप्ठ्यारो पर्दा घर छाडेर हिंड्ने काम राम्रो नभएको कांग्रेसका पूर्व सभापति हरिप्रसाद श्रेष्ठले बताए । ‘५० वर्षदेखि झण्डा बोकेकै छु, पार्टीको सभापति भए, लाभको पद नपाएपनि निरन्तर खटिएको छु’ श्रेष्ठले भने, ‘बाटो बिराएकाहरुले पछि चेत्ने छन् ।’ उनले राजनीतिलाई जागिर र फाइदामा तुलना गर्नेहरुले पार्टी छाड्ने गरेको उनले बताए ।
    एमालेका सांसद डा. सूर्य पाठकले हरेक दलले आफ्नो जनमत परीक्षण गर्ने बेला भएकोले टिकट पाउने र नपाउने बीचको झगडाभन्दा एक भएर कार्यकर्ता प्रशिक्षणमा लाग्नुपर्ने बताए । ‘दश जना आकांक्षीबाट एक जनाले टिकट पाउने हो, नौ जना असन्तुष्ट बन्ने होइन, बरु चुनाव जिताउन लाग्नुपर्छ’ पाठकले भने, ‘लोकतन्त्रका साझा एजेण्डा पुरा गर्नेकाममा मात्रै प्रतिष्पर्धा राम्रो हो ।’ टिकट नपाएर पार्टी छाड्नेबाट पछिसम्म असर पर्ने उनले बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend