९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

सहिद मार्गमा किन हिंडेनन् प्रचण्ड


जनमञ्च संवाददाता
  • ३० जेष्ठ २०८२ , शुक्रबार

  • सहिद मार्गमा किन हिंडेनन् प्रचण्ड

    बागलुङ, ३० जेठ- ÷जनतासँग माओवादी, मध्यपहाडी लोकमार्ग, जनजागरण अभियानको क्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मध्यपहाडी लोकमार्ग छाडेर ताराखोला पुगेर बास बसे । उनले सहिद पार्क उद्घाटन गरे । सहिदकै घरमा बस्ने योजना भएपनि सुरक्षा संयन्त्रले नदिएको भन्दै गाउँपालिकाको आवासमा बसे ।

    ताराखोलाबाट छोटो दुरीमा मध्यपहाडी लोकमार्गको रिजालचोक भेटिन्थ्यो । तर जीर्ण सहिद मार्गको यात्रामा उनले रुचि देखाएनन् । सडक अप्ठ्यारो भएको भन्दै गलकोट फर्केर बागलुङ हुँदै पोखरा पुगे । द्वन्द्वको बेला माओवादीकै अगुवाईमा श्रमदान गरेर बनाइएको सडकलाई सहिद मार्ग नामाकरण गरिएको थियो । रिजालचोकदेखि भातखाने डाँडाहुँदै ताराखोला जोड्ने सडक जीर्ण हुँदा दाहालले सहिद मार्ग नहिंडेको स्थानीयले बताए ।

    सहिद मार्गको काठेखोला गाउँपालिका ४ देखि ताराखोला गाउँपालिका वडा नं. १, २ र ४ सम्मको सडक निकै अप्ठ्यारो छ । खाल्डाखुल्डी छन् । द्वन्द्वकालमा ट्रयाक खुलेपनि स्तरीय र कालोपत्रे गर्ने गाउँपालिकाको योजना बजेट अभावमा अलपत्र छ । पटक पटक धाएर पनि बजेट नआएको गाउँपालिका अध्यक्ष धनबहादुर विकले बताए । ‘संघ वा प्रदेशको बजेटबिना सडक कालोपत्रे गर्न संभवै छैन’ विकले भने, ‘नेताहरुको चासो नभएसम्म यो सडक कालोपत्रे गर्न गाह्रो छ ।’

    ताराखोलामा मात्रै द्वन्द्वको बेला २६ जना मारिएका थिए भने २ जना बेपत्ता छन् । उनीहरुकै स्मृतिमा सडक खनिएकोले सहिद मार्ग नामाकरण भएको हो । दाहाल प्रधानमन्त्री बन्दा ताराखोलाबासीले पटक पटक बजेटका लागि पहल गरेका थिए । बजेट नपर्दा सडक अझै जीर्ण छ । बिकले उक्त सडक देखाएर बजेट व्यवस्थापनमा साथ दिन आग्रह गर्दा दाहालले भनेका छन्– ‘त्यतिबेला के भएछ बजेट पार्न सकिएन, यो पटक पहल गर्छु । अत्यावस्यक सडकलाई बजेट पार्नैपर्छ ।’ रिजालचोकदेखि ताराखोलाको दुरी ४० किमी छ ।

    जनश्रमदानबाटै रिजालचोकदेखि भातखाने डाँडाहुँदै ताराखोला पुग्ने सडकको ट्रयाक खुलाइए पनि स्तरोन्नतीमा भने ढीलाई भएको हो । यो सडक कालोपत्रेका लागि डिपिआर बनेको ६ वर्ष भैसकेको छ । ठेक्कामा जान नसक्दा यो सडकमा वर्षौदेखि जोखिम मोलेर यात्रा गर्न स्थानीय बाध्य छन् । यो सडकले ताराखोलादेखि म्याग्दीको रुम समेत जोड्छ ।

    २०७५ सालको डिपिआरमा १ अर्ब लागतमा सबै सडक कालोपत्रे गर्न सकिने स्टिमेट छ । पहिलो चरणमा बाह्रै महिना सवारी चल्ने बनाउन गाउँपालिकाले पहल गरेको थियो भने बहुवर्षे ठेक्काका लागि गण्डकी प्रदेश सरकारमा लागिएकोमा २०७७ मा बजेट र योजना कटौती गर्दा यो सडक पनि काटिएको थियो ।

    ताराखोलामा जिल्लाकै सबैभन्दा धेरै आलु उत्पादन हुन्छ । सडक अभावमा स्थानीयले ढुवानीमा सास्ती खेपेको गुनासो गरे । ताराखोलामै अल्लो धागो, भाँगो, नेपाली कागज, मुला, गेडागुडी, रातो च्याउ समेत उत्पादन गरेर स्थानीयले बजार पठाउने गर्छन् । तर, सडक अभावमा वर्षातमा निकै सास्ती खेप्नुपर्ने, हिउँदमा पनि सहज यातायात नहुने गर्दा किसानले मूल्य समेत पाउन नसकेको स्थानीयले गुनासो गरे ।

    ट्रयाक खोल्दा ताराखोलाका अधिकांसले तीन महिनासम्म श्रमदान गरेका थिए । २०५७ देखि २०६० सम्मको निरन्तरको श्रमदानबाट सडक खुलेको थियो । यसअघि पनि दाहाल, बाबुराम भट्टराई, अर्थमन्त्रीहरु जर्नादन शर्मा, वर्षामान पुन, तत्कालिन सभामुख ओनसरी घर्ती समेत ताराखोलाका दर्जनबढी कार्यक्रममा सहभागि भएका थिए ।

    गाउँपालिकाले उक्त फाइल गण्डकी प्रदेश सरकारलाई बुझाएको पूर्व अध्यक्ष प्रकाश घर्ती स्मरण गर्छन् । पटक पटक ताकेता गरेपनि पछिल्लो कार्यकालमा त्यो पहल नपुगेको घर्तिले बताए । ‘हामीले चक्रपथकै योजना बनाएका थियौं, त्यसमध्ये २५ किमी खण्ड रिजालचोकदेखि त्रिशुली सम्मको थियो’ घर्तीले भने, ‘बाँकी खण्ड गलकोटदेखि जोड्ने योजना हो ।’ दुवै सडक निर्माण हुँदा चक्रपथ बन्ने, सदरमुकाम र गलकोट नगरपालिकासँग पनि जोडिने अवस्था थियो । ताराखोलादेखि गलकोटहुँदै बुटवलतर्फ र रिजालचोकहुँदै पोखरा जाने सवारी छुटाउने योजना पनि पालिकाले बनाएको थियो ।

    कम्तिमा १० मीटर चौडा बनाएर स्तरोन्नती गर्ने योजना र कालोपत्रे बनाउने लक्ष्य पुरा हुन नसकेको सहायक प्रशासकीय अधिकृत जितबहादुर सुनारले बताए । अघिल्लो वर्ष २ करोड र गत वर्ष १ करोड ५१ लाख रुपैयाँ खर्चेर बनेको संरचनाबाहेक सहिद मार्गमा अन्य प्रगती हुन सकेको छैन । उक्त बजेटले काठेखोला तर्फको केही खण्ड स्तरोन्नती भएको छ । गाउँपालिकाले आफ्नै लगानीमा २०७४÷७५ मा ४० लाख खर्चेर घुम्ती चक्ल्याएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend