बागलुङ, ३० जेठ-
एक्का चिडिको
के सुनाउँ बेदना रित्ता पीँडिको….
माथिको पंक्ति पर्वते कलाकार सुवास शर्माको गीत ‘रित्तो पिँढीको’ गीतको थेगो हो । वैदेशीक रोजगारी र चरम बसाईसराईका कारण रित्तिएका गाउँमा रहेका वृद्धवृद्धा बेदना समावेश गरेर तयार भएको शर्माको गीत जस्तै छन्– बागलुङका गाउँहरु ।
राष्ट्रिय जनगणना २०७८ को तथ्यांकले जिल्लाकै जनसंख्या घट्दो देखाउँछ । त्योमध्ये पनि जिल्लाको जैमिनी नगरपालिका देशभरमै अछामको साँफेवगर पछिको सबैभन्दा धेरै ऋणत्मक जनसंख्या भएको नगरपालिका हो । जैमिनीमा जनसंख्या घट्नुमा जन्मदर एउटा कारण हो भने बसाइसराइ अर्को महत्वपूर्ण कारकतत्व हो ।
कुनै समय वडाभरिकै बाक्लो बस्ती भएको ठाउँ हो जैमिनी नगरपालिका वडा नं. १ को ‘भण्डारा गाउँ’ । २०४६ सालमा गाउँमा विद्यालय जाने समुहका बालबालिका धेरै तर विद्यालय टाढा भएपछि यहाँका स्थानीय आँफै मिलेर पाखोमा गल, गैंची र बेल्चा लगाए । विद्यालयको भवन बन्यो । प्राथमिक तहसम्मको पढाई त्यहिं सुरु गरे । तत्कालिन कुश्मीशेरा गाविसको सबैभन्दा धेरै विद्यार्थी संख्या भएको विद्यालय बनेको थियो– सिद्धिगणेश प्रावि । आज त्यहिं विद्यालय विद्यार्थी संख्या सुन्य भएपछि बन्द भएको छ ।
निर्वाचनका समयमा यहाँका युवाको सक्रियता र यहिं गाउँको मत निर्णयक हुन्थ्यो । आज यहिं गाउँमा एकाद घरमा रहेका वृद्धवृद्धालाई मतदान केन्द्र पुर्याउने पनि कोही छैन् । गाउँका अधिकांश घरको ढोकामा ठूल्ठूला ताल्चा लगाइएको छ । आधुनिक चुना, गेरु र रंगले रंगिएका घरहरु स्याहारसम्भारको अभावमा रंगहीन बन्दै गएका छन् । वरिपरि सफा भइरहने घरहरुमा अहिले झार उम्रेका छन् । घरको आँगन गौचरनको रुपमा परिणत हुँदै गएको छ । घर परिसरमा झाडी मौलाउँदै गएका छन् ।
तीन, चार वर्षअघि तामझामले भरिपूर्ण भण्डारा गाउँ अहिले सुनसान छ । मानवरहित सिंगो बस्ती अनकन्टार बन्ने अवस्थामा पुगेको छ । केही वर्ष पहिले ७६ घरपरिवार रहेको भण्डारामा अहिले एकाद घरमा सीमित भएको वडाध्यक्ष विष्णुप्रसाद आचार्यले बताउँछन् ।
स्थानीय ८५ वर्षिय दुर्गादत्त पाध्यालाई आजभोली गाउँ उराठ लाग्छ । छोडेर जाने ठाउँ छैन््, गाउँमै बस्न कठिन छ । ‘बसाइसराइँले गाउँ रितिँदै गएको छ,’ पाध्याले भने ‘गाउँका सबै शहर पसेपछि अहिले हाम्रो गाउँ सुनसान भएको छ ।’ पहिले गाउँमा केही काम पर्दा सबै गाउँले जम्मा भएर सहयोग गर्ने गरेकोमा अहिले कोही आउँदा बोल्न समेत मान्छे नपाइने अवस्था आएको उनको भनाई छ ।
बसाइसराइको कारण अहिले गाउँघरमा बस्नेहरुलाई जिउँदाको जन्ती र मर्दाको मलामी पाउन समेत पाउन कठिन हुने गरेको छ । युवाहरु वैदेशिक रोजगारीले विदेश गएपछि उनीहरुका परिवार बालबच्चालाई शहरमा पढाउने भन्दै निस्कन्छन् । धेरथोर कमाएकाहरु शहर तथा तराई झर्छन् । ‘युवाहरु रोजगारीको लागि युरोप लगायतका देशमा जानेक्रम बढेको र राम्रो कमाईपछि शहरमै घरजग्गा किनेर बस्दा गाउँ रितिदै गएको छ । गाउँमा केही बस्न मान्दैनन्’, पाध्याले भने, ‘कोही मधेश पसे, कोही ठूला शहरमा ।’
भण्डारा गाउँका बासिन्दाहरु अहिले काठमाडौं, चितवन, बुटवल, पोखरा, बागलुङ बजार लगायतका क्षेत्रहरुमा बसाइँ सरेका छन् ।
यहाँ बसाईसराई हुनुको मुख्य कारण भने बाँदर आतंक र आगलागी हो । उत्पादन भएको बाँदरले खाने र बस्ती छेउमा बढेको जंगलमा हरेक वर्ष आगलागी हुँदा घरगोठ नै मासिने गरेकाले बसाई सर्ने गरेको स्थानीय कृष्ण प्रसाद पौडेलले बताए । ‘वरिपरी जंगल बढिरहेको छ । हिउँदमा वर्षेनि आगलागी हुन्छ,’ पौडेलले भने, ‘वर्षेनी आगलागी हुँदा बस्ती जोखिममा पर्छ । आगलागीकै कारण बस्ती छोडेर शहर बजार बसाइ सर्ने क्रम बढेकोले बस्ती रितिँदै गयो ।’ पहिले स्थानीयहरु मिलेर घाँस, दाउरा फाँड्ने गरेपछि अहिले संख्या घट्दा वनजंगल फाँड्न नसक्दा आगलागीको जोखिम बढदो रहेको उनको भनाई छ ।
बसाइसराइकै कारण विद्यार्थी नभएपछि भण्डाराको सिद्धिगणेश विद्यालयलाई जैमिनी नगरपालिकाले गाँभ्दै बन्द गरेको छ । ‘हामीले दुःख सहेर पहरो काट्दै २०४६ सालमा विद्यालय स्थापना गरेका थियौं,’ स्थानीय पाध्याले भने, ‘अहिले पढ्ने बालबच्चा नहुँदा विद्यालय बन्द भयो । दुःख लागेको छ ।’ गाउँमा काम गरेर खाना गाह्रो हुने र शहरमा किनेर खाना सहज हुँदा बसाइसराइ भएको उनको बुझाई छ ।
जैमिनी नगरपालिका वडा नं. १ बाट पछिल्लो दुई वर्षमा ४२ घरका १५७ जनाले बसाइसराइ गरेको वडा अध्यक्ष आचार्यले बताए । उनले गाउँमा स्थानीयलाई टिकाउन कृषि क्षेत्रमा काम गरेपनि रोक्न नसकिएको बताउँछन् । ‘हामीले बसाइसराइ कम गर्नको लागि कृषिका कार्यक्रमसहित खानेपानी, सडक लगायतमा बजेट विनियोजित गरेर काम गरेका छौं,’ उनले भने, ‘सडक निर्माणपछि झन् बसाइ सर्ने क्रम बढ्दो छ ।’ वडा नं. १ ले ‘शेरा जाउँ, केरा खाउँ’ योजना अनुरुप सबै टोल, बस्तीमा केरा खेती गर्न अनुदान प्रदान, तरकारी उत्पादनको लागि विऊ वितरण गर्दै आएको छ ।
जैमिनीमा बसाइसराइ बढ्नुमा बाँदर आतंक प्रमुख कारण रहेको स्थानीय बताउँछन् । ‘बाँदर आतंक नै फैलिएको छ,’ स्थानीय खगराज पौडेलले भने, ‘बाँदरले उब्जनी नहुँदै अन्नबालीमा क्षति पु¥याउँछ । खर्च गरेर लगाएको खेतीबाली भित्र्याउन नपाउँदा के खाने ?’ बसाइसराइको कारण अहिले गाउँका खेतीयोग्य जमिन जंगलको रुपमा रिणत हुँदै गएको पौडेलको भनाई छ । ‘गाउँ छोडेर शहर भाडामा बसेका छन् भने किनेर खाद्यान्न खाएका छन् । गाउँमा अन्न उत्पादन हुने खेतबारी बाँझै हुँदा जंगलमा परिणत हुँदैछन्’ उनले भने ।