पर्वत, १५ जेठ- प्रतिनिधि सभाको निर्वाचनमा जस्तै गरेर मतदान केन्द्र निर्माण गरिएका। विद्यार्थी उम्मेद्वारहरु मत पेटीका, तिनमा प्रयोग हुने सुरक्षा शिल, मतपत्र लगायतका कुराहरूको अवलोकन गर्दै मुचुल्कामा हस्ताक्षर गर्दै थिए । तीन वटा मतदान केन्द्रमा मतदान गर्न विद्यार्थीहरूको लाइन थियो । मतदान सुरु भयो, निर्वाचन आयोगको पोखराका उपसचिव श्रीधर ज्ञवाली, जिल्ला निर्वाचन कार्यालय पर्वतका निर्वाचन अधिकारी लक्षु शर्मा, मतदान अधिकृत भीमनाथ रेग्मीले निर्वाचनको पर्यवेक्षण गरिरहेका थिए ।
यो दृश्य पर्वत सदरमुकाम कुश्मा बजारस्थित नारायण माध्यमिक विद्यालयमा मङ्गलवार दिउसो चलिरहेको थियो। मतदान सकिएपछि मतगणना सुरु भयो । विद्यार्थीबाट तोकिएका कर्मचारीहरूले अन्तिम मत परिणाम सार्वजनिक गरे । उनीहरूले विद्यालयको कक्षा १० ‘सेक्सन’ ‘ए’ मा आर्यन पाण्डे, ‘बी’ मा कुशलमणी रेग्मी र ‘सी’ मा सोबिता परियार कक्षा ‘मनिटर’ को रूपमा निर्वाचित भएको घोषणा गरे । आयोगका कर्मचारीले विजयीलाई टीका र माला लगाएर बधाई दिए । निर्वाचनमा पराजय भोगेकाहरूलाई पनि सँगै राखेर आफ्ना साथीहरूको मतलाई सम्मान गर्दै विजेताहरूलाई बधाई दिन लगाए ।
निर्वाचन आयोगको निर्वाचन शिक्षा कार्यक्रम अन्तर्गत सात प्रदेशका सात वटा विद्यालयहरू छनोट गरिएका छन् । जसमा गण्डकी प्रदेशमा पर्वत सदरमुकाम कुश्मा बजारमा रहेको नारायण माध्यमिक विद्यालय छनोटमा परेका थियो। भोलिका जनप्रतिनिधि र निर्वाचन गराउने कर्मचारीहरू आजका विद्यार्थीहरू नै भएकोले आयोगले विद्यार्थीहरूलाई निर्वाचन शिक्षा दिनका लागि प्रतिनिधि सभा तथा स्थानीय तहको निर्वाचनमा जस्तै सबै कुराहरू वास्तविक रूपमा सञ्चालन गरेको हो ।
कक्षामा ‘मनिटर’ बन्न इच्छुकहरूबाट मनोनयन दर्ता, फिर्ता, उजुरी, अन्तिम नामावली, चुनाव चिन्ह, निर्वाचन आचारसंहिताको पालना, मौन अवधि, निर्वाचन, मतगणना, मत परिणाम घोषणा लगायतका सबै क्रियाकलाहरू निर्वाचनमा अपनाइएको थियो । उम्मेदवार तथा मतदाताहरूले पनि निर्वाचनको सबै प्रक्रियाको बारेमा थाहा पाए ।
जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले विद्यार्थीमार्फत हरेक सन्देश फैलाउन छिटो र प्रभावकारी हुने भएकोले निर्वाचन शिक्षाका लागि उनीहरूलाई छनोट गरिएको बताए । भोलिका जनप्रतिनिधि तथा निर्वाचन गराउन खटिने कर्मचारीहरू आजका विद्यार्थीहरू नै भएकोले पनि उनीहरूमा अहिले विकास गरिएको धारणा प्रभावकारी हुने उनको भनाई छ । ‘उनीहरूको अहिलेको मस्तिष्कमा जे कुरा भरिन्छ त्यो जीवनपर्यन्त प्रभावकारी बनेर बस्छ । मर्यादित निर्वाचन प्रक्रियाको बारेमा आजैबाट सिकाउँदा उनीहरूले भोलि त्यही गर्नेछन्’, शर्मा भन्छन्, ‘हामीले निर्वाचन सुरु गर्नु अगाडि निर्वाचन शिक्षा दिने कक्षा चलायौँ। जहाँ बिद्यार्थीहरुले लोकतन्त्रमा निर्वाचनको महत्त्व, निर्वाचनको प्रभावकारिता र आवश्यकता लगायतका विषयमा गम्भीर प्रश्नहरू उठाउनुभयो । जसले उहाँहरूमा रहेको चेतको स्तर बुझाएको छ ।
विद्यालयको सामाजिक विषयका शिक्षक भीमनाथ रेग्मीले कक्षा दशमा रहेका झन्डै एक सय ५० जना विद्यार्थीहरूलाई सेक्सन अनुसारको ‘मनिटर’ छनोट गर्ने निर्वाचनको प्रक्रिया अपनाइएको बताए । देशको निर्वाचन प्रक्रिया र लोकतान्त्रिक अभ्यासको बारेमा पाठ्यक्रममा विषयवस्तु नै रहेकोले पनि निर्वाचन शिक्षा उपयोगी रहेको बताए । पाठ्यक्रममा समावेश विषयवस्तुलाई प्रयोगात्मक रूपमा जान्ने मौका पाउनुका साथै आफ्नो देशको निर्वाचन प्रणालीको बारेमा बाल मस्तिष्कमा नै जान्न पाउँदा सिकाई स्थानीय हुने रेग्मीको भनाई छ ।