बागलुङ, १६ जेठ- दोस्रो आदर्श कप एसइई स्तरीय फुटवल प्रतियोगिता बिहिबारदेखि बाङेचौर खेलमैदानमा शुरु भएको छ । आदर्श विद्यामन्दिर खेलकुद क्लबको आयोजना तथा आदर्श विद्यामन्दिर माध्यमिक विद्यालयको सह–आयोजनामा बिहिबारदेखि शुरु भएको प्रतियोगिता २१ गतेसम्म चल्ने छ ।
प्रतियोगिताको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले खेलाडिहरुको क्षमता अभिवृद्धिका लागि प्रतियोगिता महत्वपूर्ण रहने बताए । कार्यक्रममा बागलुङ नगरपालिका वडा नं. २ का अध्यक्ष एवम् नगर खेलकुद विकास समितिका संयोजक सुरज बोसेल र नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
पहिलो दिन भएको उद्घाटन खेलमा छात्रतर्फ फ्युचर ब्राइटर बोर्डिङ स्कुललाई ट्राइबेकरमा पराजित गर्दै गरिमा आवासिय माध्यमिक विद्यालयले बिजयी शुरुवात गरेको छ । खेलको १८ औं मिनेटमा फ्युचरका निशान कार्कीले गोल गर्दै अग्रता दिलाएपनि गरिमाका अप्सन केसीले दोस्रो हाफको १० औं मिनेटमा खेल बराबरी गरेका थिए । निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुट आउटमा धकेलिएको थियो ।
पेनाल्टी सुटआउटमा गरिमा ४–३ गोलले विजयी भएको हो । गरिमाको जितमा अप्सन केसी, गगन थापा, प्रिन्स कुँवर र चिराग रोकाले गोल गर्दा सविन थापाको प्रहार गोलपोष्टबाट बाहिरिएको थियो । फ्युचरका लागि निशान कार्की, भोजबहादुर नेपाली, आशिष सुनारले गोल गर्दा आयुष कुँवर र अरुण भण्डारी गोल गर्न चुके । उक्त खेलमा एक गोल बचाएका गोलरक्षक दिप घर्ति म्यान अफ दि म्याच बने । गरिमाले १८ गते हुने न्यु एभरेष्ट एकेडेमी र रुद्रेपिपल माविबीच हुने खेलको विजयी टोलीसंग प्रतिष्पर्धा गर्ने छ ।
यस्तै, छात्रातर्फ धौलागिरि बोर्डिङ स्कुललाई पराजित गर्दै न्यु ओयसिस एकेडेमी विजयी भएको छ । ओयसिसको जितमा आयुषा आलेले खेलको इनजुरी समयमा गरेको आर्कषक गोल नै जितको आधार बन्यो । आले म्यान अफ दि म्याच समेत घोषित भइन् । ओयसिले शुक्रबार हुने फ्युचर र रुद्रपिपल मावि बीचको खेलको विजयी टोलीसंग सेमीफाइनल खेल खेल्ने छ ।
प्रतियोगिताको दोस्रो दिन शुक्रबार छात्रतर्फ न्यु एभरेष्ट एकेडेमीविरुद्व रुद्रेपिपल, आयोजक एभिएम निलोविरुद्व न्यु ओयसिस र चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलविरुद्व अमर आदर्श माविले खेल्ने छ भने छात्रातर्फ फ्युचरविरुद्व रुद्रेपिपल र एभिएमविरुद्व विद्यामन्दिर माविले प्रतिष्पर्धा गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताको छात्रतर्फको विजेता टोलीले नगद ७५ हजार ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले नगद ३७ हजार ५ सयसहित मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ । यस्तै, छात्रा तर्फको विजेता टोलीले नगद ३० हजार ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले नगद १५ हजारसहित मेडल र प्रमाण पत्र प्राप्त गर्ने आदर्श विद्यामन्दिर खेलकुद क्लवका अध्यक्ष राजेश केसीले जानकराी दिए ।
प्रतियोगिताका उत्कृष्ट मिड फिल्डर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडि, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोल किपर, अनुशासित टिमलाई पनि पुरस्कृत गरिने छ ।