बागलुङ, १६ जेठ- गणतन्त्र दिवस बागलुङमा विभिन्न कार्यक्रम गरेर मनाइएको छ । बिहिवार बिहान गणतन्त्र दिवश मुल समारोह समितिको अगुवाइमा प्रभातफेरी गरियो । उक्त अबसरमा राजनीतिक दल, सामाजिक संस्था, कर्मचारी, स्थानीय बासिनदा समेतले बाजागाजा, गीत–संगीत सहितको प्रदर्शन गरेका हुन् ।
अघिल्लो दिन बुधबार आधादर्जन कार्यक्रम गरेको समितिले बिहिवार मुल समारोह गरेको हो । उक्त अबसरमा जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले गणतन्त्र आम नागरिकको जीवनमा आउनुपर्ने बताए । उनले हरेक नागरिकले स्वतन्त्रपुर्वक बाँच्ने र जीविकोपार्जन गर्न पाउने बन्नुपर्ने धारणा राखे ।
कार्यक्रममा संविधानसभाका सदस्य प्रकाश शर्मा पौडेलले नागरिकको जनजीविकामा सुधार ल्याउने, हरेक नागरिकले सुशासनको प्रत्याभूति पाउने तथा समृद्द नेपालको परिकल्पनाका साथ गणतन्त्र घोषणा र संविधान लेखन भएको बताए । तर पछिल्लो समय संविधान लेखन गरेका दलहरुकै गतिविधि जनताको सोच बाहिर पुगेको भन्दै निरासा अन्त्य गर्ने कार्यक्रम चाहिएको बताए ।
अर्का सदस्य चम्पादेवी खड्का, गण्डकी प्रदेश सदस्य दिपेन्द्रबहादुर थापा, एमाले जिल्ला अध्यक्ष हीराबहादुर केसी, अन्तरपार्टी महिला संजालकी अध्यक्ष सीतादेवी सापकोटा कंडेल लगायतले शुभकामना मन्तव्य राखे । जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाको अध्यक्षता, सूचना अधिकारी दुर्गाप्रसाद शर्माको संचालन र प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङको स्वागतमा सम्पन्न कार्यक्रममा रक्तदान कार्यक्रमका सहभागिलाई पुरस्कार बितरण समेत गरिएको थियो ।
दिवशकै अबसरमा मानवअधिकार तथा शान्ति समाज बागलुङ र बागलुङ उद्योग वाणिज्य संघको चियापान, सार्थक प्रकाशनको आयोजनामा ऐतिहासिक पार्कमा रचना बाचन कार्यक्रम तथा मुल समारोह समितिकै आयोजनामा सोही पार्कमा दिप प्रज्वलन तथा चियापान कार्यक्रम पनि गरिएको थियो । मुल समारोह समितिले तीन दिनसम्म विभिन्न कार्यक्रम गरेर दिवश मनाएको हो । शुक्रवार राजनीतिक दलहरुको अगुवाईमा गणतन्त्रको सार्थकतालगायतको विषयमा वृहत अन्तरसंवाद कार्यक्रमसमेत राखिएको बताइएको छ ।