पोखरा/ केन्द्रीय सत्ता साझेदारी गठबन्धनले पोखरा महानगर प्रमुख नेकपा एकीकृत समाजवादी र उपप्रमुख नेपाली कांग्रेसले पाउने सहमति गरेको थियो । सोही सहमतिअनुसार मेयरमा नेकपा एसका धनराज आचार्यले उम्मेदवारी दिएका छन् भने उपप्रमुखमा नेपाली कांग्रेसकी कोपिला राभानाटले उम्मेदवारी दिएकी छन् ।
तर, उम्मेदवारी दर्ता भइसकेपछि पनि बाँकी वडाका विषयमा भने अझै सहमति हुन सकेको छैन । मनोनयन दर्ता गर्ने अन्तिम समयसम्म सहमति हुन नसकेपछि गठबन्धन दलका प्रमुख २ घटक नेपाली कांग्रेस र नेकपा माओवादीले ३३ वटै वडामा छुुट्टाछुट्टै उम्मेदवारी दिएका छन् । प्रमुखमा दाबी कायम राखेको कांग्रेसका ३ जनाले प्रमुख पदमा बागी उम्मेदवारी नै दिइसकेका छन् ।
कांग्रेसले प्रमुख र उपप्रमुखमा मात्रै गठबन्धन गर्न सकिने तर, वडागत तहमा तालमेल गर्न नसकिने अडान कायम राखेको छ भने अन्य दल मनाउने क्रम जारी छ । तर, मनोनयन फिर्ता लिने दिन नजिकिँदै गर्दासमेत कांग्रेससँग सहमतिमा पुग्न नसकिएको नेकपा माओवादी केन्द्र पोखरा महानगर कमिटीले जनाएको छ ।
माओवादी पोखरा नगर कमिटीका अध्यक्ष हरिनारायण गिरी ‘विज्ञान’ हस्ताक्षरित प्रेस विज्ञप्तिमा गठबन्धनके मूल मर्मविपरीत एक्लै लड्ने गरी ३३ वटै वडामा कांग्रेसले उम्मेदवार उठाएकाले शंका उत्पन्न गराएको बताएका छन् । ‘उम्मेदवारको मनोनयन फिर्ता लिनेबेलासम्म छिटोभन्दा छिटो निर्णयमा पुग्न गठबन्धनमा रहेका सम्पूर्ण राजनीतिक दलहरुलाई हार्दिक अनुरोध गर्दछु,’ विज्ञप्तिमार्फत उनले भनेका छन् । उनले कार्यकर्तालाई माओवादीकै चुनाव चिन्हको प्रचारप्रसारमा लाग्नसमेत आह्वान गरेका छन् ।
कास्कीका ५ पालिकामध्ये पोखराबाहेक ४ पालिका प्रमुख कांग्रेस र उपप्रमुख माओवादीले प्रारम्भिक सहमति भएको थियो । तर, माओवादीले ५ वटा मागेको र दिन नसकिने भन्दै कांग्रेसले सहमति पत्रमा हस्ताक्षर गर्न मानेको थिएन ।
कास्कीको मादी गाउँपालिकामात्रै कांग्रेस र माओवादीले गठबन्धन गरेका छन् । जसअनुसार अध्यक्षमा कांग्रेसका देवीजंग गुरुङ र उपाध्यक्षमा माओवादीका लालबहादुर गुरुङले उम्मेदवारी दिएका छन् ।
पालिका प्रमुखका विषयमा भएको सहमतिमा समेत जनता समाजवादीले माओवादी र कांग्रेसले द्विपक्षीय रुपमा सहमति गरेको भन्दै गठबन्धनबाट बाहिरिएको थियो । यता, बिहीबार गठबन्धनले राखेको साझा प्रतिबद्धता तथा घोषणापत्र सार्वजनिक गर्न बोलाएको कार्यक्रममा समेत गठबन्धन घटक नेपाली कांगेस कार्यकर्ताले नाराबाजी गर्दै अवरोध सिर्जना गरेका थिए । उनीहरुले आफ्नै प्रदेश कार्यालयमा पनि तोडफोड गरेका छन् ।
अघिल्लो निर्वाचन नतिजाअनुसार पोखरामा नेकपा एमाले पछि सबैभन्दा ठूलो दल नेपाली कांग्रेस हो । अघिल्लो निर्वाचनमा पोखराका ३३ वटा वडामध्ये ११ वटा वडामा कांग्रेसले जित निकालेको थियो ।
केन्द्रीय गठबन्धनले गरेको निर्णयबाट कास्कीका नेता कार्यकर्ता असन्तुष्ट छन् । एक्लै चुनाव लड्दासमेत जित्न सक्ने जनाधार बनाइसकेको भन्दै गठबन्धन आवश्यक नरहेको जिल्लाका नेताहरुले नै बताउँदै आएका छन् । पोखराको मेयर नेकपा एसलाई दिने निर्णय गरेपछि केही दिनअघि कास्की कांग्रेसका सचिवद्वयले एससँग सहकार्य गर्न नसकिने भन्दै प्रेस विज्ञप्ति नै जारी गरेका थिए ।
कास्की कांग्रेसका असन्तुष्ट पक्षले आइतबार आफ्नै जिल्ला नेतालाई ५ घन्टाभन्दा बढी समय कार्यालयमै थुनेका थिए । लेकसाइडस्थित एक होटलमा गठबन्धन बैठक बसिरहेका जिल्ला नेताको टोलीलाई ल्याएर पार्टी कार्यालयमा थुनेका थिए । अन्तिममा जिल्ला सभापतिले प्रमुख र उपप्रमुखबाहेक अन्य वडा र पालिकामा तालमेल नगर्ने निर्णय सुनाएपछिमात्रै तालाबन्दी खुलेको थियो ।
तर, गठबन्धन घटक अन्य दलले भने केन्द्रीय गठबन्धनमर्मविपरीत कांग्रेसले एक्लै निर्णय गरेको भन्दै मान्न तयार छैनन् । जसका कारण अहिलेसम्म पोखराको गठबन्धन के हुने भन्नेमै अन्योल बनेको छ ।
यता, नेकपा एमालेबाट प्रमुखमा कृष्ण थापा र उपप्रमुखमा मञ्जुदेवी गुरुङले उम्मेदवारी दिएका छन् । महानगर प्रमुखका लागि २८ र उपप्रमुखमा ११ जनाको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ ।