१४ साउन २०८३ , बिहिबार

१४ साउन २०८३ , बिहिबार
  • १४ साउन २०८३ , बिहिबार
  • July 30 2026

महिलाहरू स्थानीय तहको नेतृत्वमा आउनबाट बञ्चित


जनमञ्च संवाददाता
  • ७ जेष्ठ २०७९ , शनिबार

  • महिलाहरू स्थानीय तहको नेतृत्वमा आउनबाट बञ्चित

    बागलुङ, ७ जेठ – दलहरू गठबन्धन गरेर निर्वाचनमा प्रतिस्पर्धा गर्दा बागलुङका स्थानीय तहमा महिलाहरूको नेतृत्व संख्यात्मक रुपमा खुम्चिएको छ । सक्षम भएर पनि महिलाहरू स्थानीय तहको नेतृत्वमा आउनबाट बञ्चित हुनुपरेको हो ।
    बागलुङमा पनि नेकपा (एमाले)विरुद्ध पाँचदलीय गठबन्धन चुनावी प्रतिस्पर्धामा थियो । गठबन्धनबाट अधिकांश स्थानीय तहको प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्ष पदमा पुरुष उम्मेदवार थिए । राजनीतिमा महिला सहभागिता बढाउन संवैधानिक रूपमै स्थानीय तहको प्रमुख या उपप्रमुखमा महिला हुनुपर्ने व्यवस्था भएपनि गठबन्धनकै कारण उनीहरू नेतृत्वमा आउने बाटो रोकिएको हो ।
    गठबन्धनबाट स्थानीय तहको प्रमुखमा एकमात्र महिला उम्मेदवार नेपाली कांग्रेसकी गण्डकी थापा अधिकारी बडिगाड गाउँपालिकाको अध्यक्षमा विजयी भइन् । गठबन्धनमा आवद्ध दलले अरु स्थानीय तहको प्रमुख–उपप्रमुखमा महिलालाई उम्मेदवार नै बनाएनन् ।
    एमालेले भने बागलुङ नगरपालिकाबाहेक नौवटै स्थानीय तहको उपप्रमुख–उपाध्यक्षमा महिला उम्मेदवार बनाए पनि सबै पराजित भए । प्रमुख–अध्यक्षमा भने एमालेले पनि महिला उम्मेदवार खडा गर्न सकेको थिएन ।
    तमानखोला गाउँपालिकामा गठबन्धन नगरी एक्लै लडेको कांग्रेसले उपाध्यक्षमा हिराकुमारी छन्त्याललाई जिताउन सफल भएको छ । गठबन्धन गरिएको भए उक्त पदमा अन्य दलबाट पुरुष आउने स्थिति बन्थ्यो । गठबन्धन गरेपनि दलहरुले महिला उम्मेदवारलाई अघि सार्न नसक्दा नेतृत्वमा पुरुष नै हाबी भएका हुन् । दलहरुले उम्मेदवार छनोटमा पुरुषलाई नै प्राथमिकता दिएपछि महिलामा असन्तुष्टि पनि बढेको थियो ।
    टिकट नपाएपछि केही महिलाले एकाएक दल फेरेर उम्मेदवारी दिने आँटसमेत गरे । २०७४ को स्थानीय चुनावमा बागलुङका छ स्थानीय तहको उपप्रमुख–उपाध्यक्षमा महिला निर्वाचित भएका थिए । तीमध्ये यसपटकको चुनावमा कोही पनि उम्मेदवार बन्न पाएनन् ।
    अघिल्लो चुनावमा पनि केही स्थानीय तहमा दलहरूबीच गठबन्धन भएकाले दुवै पदमा पुरुष आएका थिए । यसपटकको चुनावमा एक अध्यक्ष र एक उपाध्यक्ष गरी दुई महिला नेतृत्वमा आएका छन् । दश स्थानीय तहमा रहेका ८५ वडाको वडाध्यक्षमा पनि पुरुषकै प्रतिनिधित्व छ । गठबन्धनका नाममा महिलाहरूलाई मुख्य पदमा आउनबाट रोक्न नहुनेमा यहाँका राजनीतिक दलका महिला सङ्गठनले चुनावको मनोनयनअघि नै ध्यानाकर्षण गराए पनि खासै सुनुवाइ हुन सकेन ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend