बागलुङ, १ असार– नेकपा एमाले बागलुङ जिल्ला कमिटीको सचिवालय बैठकले स्थानीय तहको निर्वाचनमा पार्टीका उमेद्वारहरु तीन कारण हारेको निष्कर्ष निकालेको छ । सोमबार बागलुङ बजारमा सम्पन्न बैठकले सत्ता गठबन्धन, पार्टीभित्रको अन्तरघात र उमेद्वार छनोटमा भएको त्रुटीका कारण पार्टीले नसोचेको हार व्यहोर्नुपरेको निकर्ष निकालेको हो ।
जिल्लाका दशवटै स्थानीय कमिटीका अध्यक्षहरुको रिपोटिङपछि सत्ता गठबन्धनले सत्ताको दुरुपयोग गरेको, आर्थिक चलखेल गरेको र कर्मचारी संयन्त्रलाई समेत परिचालन गरेर निर्वाचन कब्जा कगरेको निकर्ष एमालेको छ । गठबन्धन बाहेक पार्टीको आफ्नै कारणले पनि केही ठाउँमा चुनाव हार्नुपरेको निकर्षमा पार्टी पुगेको सचिव बिष्णु भुसालले बताए ।
‘अन्तरघात भएको बिषयमा पनि केही समिक्षा भयो, पालिका कमिटीहरुलाई अन्तरघात गर्ने कार्यकर्ताहरुलाई कारवाही गर्न सचिवालय बैठकले सिफारीस गर्न भनेको छ’ भुसालले भने ‘पार्टीको आन्तरिक कारणका बिषयमा वडा तहबाट आएको रिपोटिङको अधारमा जिल्ला कमिटिको बैठकमा समिक्षा हुनेछ ।’
उमेद्वार छानोटमा भएको त्रुटीका कारणले पनि एमालेले हार व्यहोर्नुपरेको निष्कर्ष सचिवालयको छ । तल्लो कमिटीले सिफारिस गर्दा प्राथमिकतामा राखेका भन्दा फरक तरिकाबाट उमेद्वार छनोट हुँदा केही वडा तथा पालिकामा हार व्यहोर्नुपरेको सचिवालय सदस्यहरुले बताएका थिए । एमाले जिल्ला कमिटी सचिवालय सदस्यद्वय खिम बहादुर थापा र पुनम शर्माले दिएको राजीनामा स्वीकृत गर्दै बैठकले रित्त सचिवालय सदस्यमा दयाराम पौडेललाई मनोनित गरेको छ ।
त्यस्तै पार्टी समायोजन प्रक्रियाबाट आएका नौ जनालाई जिल्ला कमिटी सदस्यमा मनोनित गर्न प्रदेश कमिटिलाई सिफारीस गरिएको भुसालले बताए । नेकपा माओबादी केन्द्रबाट एमालेमा समाहित भएका इन्द्र केसी पारस, एकीकृत समाजबादीबाट आएका फणिन्द्र खड्का, राजमोबाट आएका भोटु चन्द र मिलन हमाल, बल बहादुर पुन, र दिपेन्द्र थापा तथा नेपाली कांग्रेसबाट आएका बिष्णु आचार्य र चन्द्र कुमार पुनलाई जिल्ला कमिटीमा मनोनित गर्न सिफारिस गरिएको हो ।