बागलुङ, ११ साउन– नेकपा एमाले बागलुङले पार्टी केन्द्र र प्रदेशको निर्देशन अनुसार निर्वाचन केन्द्रीत अभियान सञ्चालन गर्ने भएको छ ।
वडा, पालिका, जिल्ला र प्रदेश स्तरमा स्थानीय निर्वाचनको समिक्षा गरेको एमालेले स्थानीय निर्वाचनको सन्देशसंगै आगामी निर्वाचनको तयारीका लागि केन्द्रदेखि वडा स्तरसम्म निर्वाचन केन्द्रीत अभियान सञ्चालन गर्न लागेको हो ।
पार्टी केन्द्रले प्रदेश स्तरीय प्रशिक्षणसंगै जिल्ला, पालिका र वडा स्तरसम्म प्रशिक्षण, भेला, वैठक तथा अन्तरक्रिया कार्यक्रम गर्न निर्देशन गरेको छ । सोही अनुसार नेकपा एमाले बागलुङले जिल्ला स्तरका विभिन्न कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ ।
नेकपा एमाले जिल्ला सचिवालयको मंगलवार बसेको वैठकले साउन महिनाभरीमा जिल्ला, प्रदेश निर्वाचन क्षेत्र र पालिकाका वैठक, भेला तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । एमालेले साउन १२ गते बागलुङ बजारमा जिल्ला स्तरीय प्रशिक्षण भेला आयोजना गरेको छ ।
यस्तै, जिल्ला सचिवालय वैठकले पार्टीको जिल्ला कार्यालय सचिवको जिम्मेवारी जिल्ला सचिवालय सदस्य अमर बहादुर थापालाई दिएको छ । जिल्ला कमिटि वैठकले थापालाई जिल्ला सचिवालयको जिम्मेवारी दिएको थियो ।