१४ साउन २०८३ , बिहिबार

१४ साउन २०८३ , बिहिबार
  • १४ साउन २०८३ , बिहिबार
  • July 30 2026

१६ वर्षे किशोर ९ महिनादेखि कारागारमा


जनमञ्च संवाददाता
  • १९ साउन २०७९ , बिहिबार

  • १६ वर्षे किशोर ९ महिनादेखि कारागारमा

    बागलुङ, १९ साउन- ढोरपाटन नगरपालिका–९ सुपुर्दुका विशाल घर्ती एक वर्षअघि चोरी आरोपमा पक्राउ पर्दा १६ वर्षका मात्रै थिए । कानुनअनुसार उनी बालबालिकामा पर्छन् । मुद्दा चलेपछि उनलाई बालसुधार गृहमा पठाउनुपर्ने थियो । तर जिल्ला अदालतले उनको उमेर ३६ वर्ष बनाएर पुर्पक्षका लागि कारागार चलान गरेको छ । उनको मुद्दाले भने ९ महिना बित्दा पनि सुनुवाइको मौका पाएको छैन ।

    अदालतले गत कात्तिक ११ मा विशाललाई पुर्पक्षमा पठाउँदै ढोरपाटन–९ को वडा कार्यालय र उनले अध्ययन गरेको सरस्वती आधारभूत विद्यालयलाई जन्मदर्ता उपलब्ध गराइदिन पत्र लेखेको थियो । पत्रको उत्तर नआएको भन्दै अदालतले उनको मुद्दामा सुनुवाइ गरेको छैन । ‘जन्मदर्ताको कागजात नभेटेकाले उनको मुद्दा पेसी चढ्न नसकेको हो,’ तहसिलदार अधिकृत जगतबहादुर भण्डारीले भने, ‘एकपटक फेरि विद्यालय र वडामा ताकेता गर्छौं ।’

    विशालको घरमा केही वर्षअघि आगलागी भएको थियो । सरस्वती आधारभूत विद्यालय तीन वर्षअघिको भुजी खोलाको पहिरोले बगायो । उक्त विद्यालयमा पुराना कागजात छैनन् । विशालपछि जन्मेका उनका भाइ ११ वर्षका मात्र छन् । बाबु बेगबहादुरले भने प्रहरी चौकीमा छोरा ३६ वर्ष भएको कागजमा हस्ताक्षर गरेका थिए । ४६ वर्षीय उनी पढ्न–लेख्न जान्दैनन् । ‘छोरा चकचके र चोरी गर्दै हिँड्ने भएपछि केही समय जेल बसोस् भनेर सही गरिदिएको हुँ,’ उनले भने, ‘अरू कुरा थाहा भएन ।’ बेगबहादुरका अनुसार विशालले कक्षा ६ सम्म मात्रै पढेका छन् र उनी पक्राउ पर्दा १६ वर्षका मात्र थिए । अदालतले कारागारमा पठाएको पुर्जीमा विशालको उमेर ३६ वर्ष लेखिएको छ । सोही पत्रको अदालतको फाइलमा भने ३६ वर्ष काटेर १८ वर्ष लेखिएको छ । काटेको स्थानमा कसैको हस्ताक्षर छैन । ‘यो कागज मैले नै लेखेको हो, काटेको पनि मैले हो, त्यसैले हस्ताक्षर गरिनँ,’ तहसिलदार अधिकृत भण्डारीले भने । तत्कालीन वैतनिक कानुन व्यवसायी हरिप्रसाद गौतमले अदालतमा बहस गर्दै विशाल बालक भएकाले सुधार गृह पठाउनुपर्ने बताएका थिए । ‘तर कागजमा भएको उमेरका कारण उनी जेल पुगे,’ उनले भने ।

    पक्राउपछि स्वास्थ्य परीक्षण गरिएको रिपोर्टमा धौलागिरि अस्पतालले विशालको उमेर १३ देखि १९ वर्ष लेखेको छ । कारागारका प्रमुख डिलबहादुर केसीले विशाल बानी व्यवहारले बालक नै भएको बताए । ‘हामीलाई ३६ वर्षको भन्ने लेखिएको पत्र पठाइएको छ तर उनको बानी बालककै जस्तो छ,’ उनले भने, ‘हामीले बहस गर्न मिलेन, कागजमा जे लेख्यो, त्यही भन्ने हो ।’

    ढोरपाटन–९ का तुलबहादुर विकले आफ्नो पसलबाट ४ लाख रुपैयाँ चोरेको आरोप लगाउँदै उजुरी दिएपछि विशाल पक्राउ परेका थिए । विशालले भने आफूले पैसा नचोरेको दाबी गर्दै आएका छन् । उनले आफ्नो बचाउमा बाबुआमाले नबोलेको गुनासो पनि गरे । ‘बाबुआमा अहिलेसम्म भेट्न पनि आउनुभएको छैन, चौकीमा पनि मेरोबारेमा केही बोलिदिनु भएन,’ विशालले भने, ‘तर मैले पैसा चोरेको होइन । बेला–बेला खाने कुरा चोर्दा यति ठूलो मुद्दा पर्‍यो ।’ विशालकी आमा उजेलीले भने जेलबाट छुटाउन धेरै पैसा तिर्नुपर्छ भन्ने सुनेपछि छोरा भेट्न नगएको बताइन् ।

    वडासचिव थमप्रसाद घर्तीले अदालतको पत्र आएको बारे आफूलाई थाहा नभएको बताए । ‘अब खोजी गरेर पठाउनुपर्ला,’ उनले भने, ‘रेकर्ड हेरेर यकिन उमेर पठाउँछु । उनी बढीमा १८ वर्षका हुन सक्छन् ।’ अधिकारकर्मी राम शर्माले यस्ता विषयमा सरकारी वकिल र वैतनिक वकिल सचेत र संयम बन्नुपर्ने बताए । ‘सानो उमेरमा जेल सजाय दिँदा बालमनोविज्ञान असर पर्छ,’ उनले भने, ‘सुधार गृहमा पठाउनुपर्थ्यो ।’

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend