बागलुङ, २ असोज– महामारीको रुपमा फैलन थालेको डेंगु रोग रोकथामका लागि जिल्ला स्वास्थ्य कार्यालयले सचेतनासहित ‘डेंगु नष्ट, आफ्नै घरबाट’ अभियान थालेको छ ।
डेंगुको संक्रमणबाट बच्न सुरुमा आफ्नै घर वरपर रहेको पानी जम्ने खाल्टाखुल्टी पुर्ने, गमलामा जम्मा भएको पानी फाल्ने र लामखुट्टेको लार्भा फाल्नका लागि सेचतनामूलक कार्यक्रम वडा वडामा पु¥याउन थालिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यालयका निमित्त प्रमुख तथा जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माका अनुसार जिल्लामा उच्च गतिमा फैलिएको डेंगु संक्रमणबाट बच्नका लागि बिहीबारदेखि विभिन्न सचेतनामूलक अभियान र डेंगुको लार्भा नष्ट अभियान थालिएको हो ।
‘बागलुङमा डेंगु संक्रमण बढ्दो क्रममा छ, पछिल्लो १० दिनमा २० जनामा संक्रमण भइसकेको छ, रोकथामका लागि हामीले काम सुरु गरेका छौँ, सरोकारवाला निकायलाई डेंगुबारे सचेतना गराएका छौँ’ शर्माले भनिन्, ‘नागरिकको घरबाटै डेंगु संक्रमण रोक्न घर घरमा स्वास्थ्यकर्मी, जनप्रतिनिधि र सरोकारवाला निकायलाई पठाइनेछ ।’
कार्यालयका अनुसार शुक्रबारदेखि जिल्लाका सबै पालिकामा सचेतनामूलक कार्यक्रम गर्ने, स्वास्थ्य सूचना प्रसारण गर्ने, विद्यालयमा स्वास्थ्य शिक्षा दिने लगायतका कार्यक्रम तय गरिएको छ । एडिज नामको लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगबाट बच्न लामखुट्टेको टोकाइबाट बच्ने, झुलको प्रयोग गर्ने र घर वरपर पानी जम्न नदिन स्वास्थ्यकर्मीहरुको नागरिकलाई सुझाव छ ।