काठमाडौं, १४ असोज– नेकपा एमालेको सचिवालयको बैठकले समानुपातिक बन्दसूचीलाई हेरफेर गर्ने निर्णय गरेको छ ।
एमालेले असोज १५ गतेभित्र अन्तिम बन्दसूची निर्वाचन आयोगमा बुझाउने तय भएको छ । सचिवालयको बैठकले बन्दसूची हेरफेरको जिम्मा भने अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।
‘समानुपातिक तर्फको प्राथमिक लिष्ट हामीले तयार पारेका थियौं त्यसमा आवश्यक थप घट गर्न अध्यक्षज्यूलाई अधिकार प्रत्यायोजन गरेका छौ,’ सचिव तथा प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले भने ।
बैठकमा प्रदेश तथा प्रतिनिधिसभाको उम्मेदवारका बारेमा पनि प्रारम्भिक छलफल भएको छ । ‘को को उम्मेदवार हुन सक्छ भन्नेमा प्रारम्भिक छलफल भयो । प्रदेश सभामा ३ सय ३० सिटमा सम्भावित उम्मेदवारबारे छलफल चलाएका छौ’ गुरुङले भने ।
प्रतिनिधिसभाको १ सय ६५ निर्वाचन क्षेत्रको उम्मेदवारबारे भने सचिवालयको अर्को बैठक बसेर टुंगो लगाउने तय भएको छ । यस्तै उम्मेदवारको अन्तिम टुंगो लगाउने जिम्मा अध्यक्ष ओली र महासचिव शंकर पोखरेललाई दिइएको छ ।