काठमाडौं, १६ असोज– मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक तर्फको संशोधित बन्दसूची पेश गर्ने आज अन्तिम दिन ।
समानुपातिक प्रणालीमा सहभागी हुन बन्दसूची बुझाएका दलहरुले आज साँझसम्म संशोधित सूची बुझाइ सक्नुपर्नेछ । निर्वाचन कार्यतालिकाअन्तर्गत दलहरुले असोज २ र ३ गते आयोगमा समानुपातिकको बन्दसूची बुझाएका थिए ।
समानुपातिकतर्फ ४८ दल दर्ता भएकामा हिजोसम्म ३६ दलले संशोधित बन्दसूची बुझाइसकेका छन्भने बाँकी १२ दललाई आजसम्म संशोधित बन्दसूची बुझाउन आयोगले पत्राचार गरेको छ ।
हिजो नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका दलले संशोधित सूची बुझाइसकेका छन् । संशोधित सूचीमा नाम परेका उम्मेदवारहरुले नाम फिर्ता लिन चाहेमा भोलि असोज १७ गते बिहान १० देखि १२ बजेसम्म निवेदन दिने र भोलि नै दिउँसो १ देखि ३ बजेसम्म उम्मेदवारी फिर्ताबारे सम्बन्धित दललाई जानकारी दिने कार्यसूची छ ।
यस्तै असोज २० देखि २२ गते दिउँसो ३ बजेसम्म उम्मेदवारी फिर्ता लिएको कारणबाट रिक्त हुने स्थानमा सम्बन्धित समूहको अर्को उम्मेदवार मनोनयन गर्नुपर्ने कार्यतालिका छ । असोज २३ गते प्रत्यक्षतर्फको मनोनयन दर्ताको कार्यतालिका छ ।