काठमाडौं, १७ असोज– आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि ३२ राजनीतिक दलले प्रतिनिधि सभातर्फको समानुपातिकको बन्दसूची परिमार्जन गरेका छन् ।
निर्वाचन आयोगले आइतबारसम्म बन्दसूची संशोधन गर्न अवधि दिएकोमा आइतबार साँझसम्म ३२ दलले पहिले प्रस्तुत गरेको सूची संशोधन गरी आयोगमा बुझाएका छन् ।
निर्वाचन आयोग राजनीतिक दल शाखाका उपन्यायाधिवक्ता तथा समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार आइतबार साँझसम्ममा ३२ वटा राजनीतिक दलले समानुपातिकको बन्दसूची सच्याएर बुझाएका हुन् ।
आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभातर्फ समानुपातिकको बन्दसूची सच्याएर बुझाउन आइतबारसम्मको समयसीमा दिएर ४८ राजनीतिक दललाई पत्राचार गरेको थियो ।
उनले भने, ‘हामीले ४८ वटै राजनीतिक दललाई समानुपातिक उम्मेदवारको बन्दसूचीमा रहेको त्रुटि सच्चाउन पत्राचार गरेका थियौँ, त्यसमध्ये प्रतिनिधि सभातर्फ ३२ दलका प्रतिनिधिले विवरण सच्याएर सूची बुझाउनुभएको छ ।’
प्रदेश सभातर्फ प्रदेश १ मा ३१ दल, मधेश प्रदेशमा २१, बागमती प्रदेशमा २० दल, गण्डकी प्रदेशमा २५ दल, लुम्बिनी प्रदेशमा २४ दल, कर्णाली प्रदेशमा २० दल र सुदूरपश्चिम प्रदेशमा २४ राजनीतिक दलले समानुपातिकको सूची सच्याएर बुझाएको प्रवक्ता वाग्लेले बताए ।
यो पटक साढे २५ लाखभन्दा बढी मतदाता थपिए
२०७४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनभन्दा यो पटक साढे २५ लाखभन्दा बढी मतदाता थपिएका छन् । निर्वाचन आयोगको तथ्यांकअनुसार आगामी निर्वाचनमा २५ लाख ६० हजार ८ सय ३९ मतदाता थपिएका हुन् ।
१३ लाख ६४ हजार १ सय ७८ पुरुष थपिँदा ११ लाख ९६ हजार ४ सय ३६ महिला तथा नौ जना यौनिक तथा लैंगिक अल्पसंख्यक मतदाता थपिएको निर्वाचन आयोगले जनाएको छ ।
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५ सय ७० जना मतदाता सहभागी हुने आयोगका प्रवक्ता सहसचिव शालिग्राम शर्माले जानकारी दिए । जसमा ९१ लाख ४० हजार ८ सय ६ जना पुरुष रहेका छन् । ८८ लाख ४७ हजार ५ सय ७९ जना महिला र १ सय ८५ जना यौनिक तथा लैंगिक अल्पसंख्यक मतदाता रहेको उनले बताए ।
प्रवक्ता शर्माका अनुसार २०७४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एक करोड ५४ लाख २७ हजार ९ सय ३८ जना मतदाता थिए । जसमा ७७ लाख ७६ हजार ६ सय २८ पुरुष थिए । त्यस्तै ७६ लाख ५१ हजार १ सय ४३ महिला र १ सय ६७ जना यौनिक तथा लैंगिक अल्पसंख्यक मतदाता रहेका छन् ।