बागलुङ, २७ असोज– नेपाल कम्युनिष्ट पार्टी एमाले बागलुङले आगामी मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनमा पार्टीका सबै उम्मेदवारलाई जिताउन प्रचार प्रसारका लागि बिभिन्न समितिहरु गठन गरेको छ ।
पार्टीको मंगलबार बसेको जिल्ला सचिवालय बैठकले जिल्लाका प्रतिनिधी सभा र प्रदेश सभाका ६ सिटमा पार्टीका उम्मेदवारलाई जिताउने उद्घोषका साथ निर्वाचन परिचालनका लागि नेता कार्यकर्ताहरुलाई जिम्मेबारी दिएको हो । पार्टीको सचिवालयले गरेका निर्णयका बिषयमा जानकारी दिन बुधबार बिहान आयोजित पत्रकार सम्मेलनमार्फत अध्यक्ष हिरा बहादुर केसीले जिल्लादेखी पालिका तहसम्म निर्वाचन परिचालन कमिठि गठन गरिएको जानकारी गराए ।
एमालेका जिल्ला इञ्चार्ज गोबिन्द नेपालीलाई जिल्लाको निर्वाचन परिचालन कमिटिको प्रमुखको जिम्मेबारी दिईएको छ । सह–संयोजकमा कृष्ण बहादुर केसी र सचिवमा बिष्णु भुसाललाई जिम्मेबारी दिईएको केसीले बताए ।
पार्टीका पोलिटब्यूरो सदस्य लिला बहादुर थापा मगर प्रतिनिधीसभा निर्वाचन क्षेत्र नं. १ को निर्वाचन परिचालन कमिटिको संयोजक भएका छन् । सह–संयोजकमा पोलिटव्युरो सदस्य मनकुमारी केसी र सचिवमा गणेश थापालाई जिम्मेबारी दिईएको छ । सोही क्षेत्र प्रदेश सभा ‘क’ को संयोजकमा पार्टीका केन्द्रिय सदस्य इन्द्रलाल सापकोटा र ‘ख’ को संयोजकमा केन्द्रिय सदस्य सावित्रा रानालाई चयन गरेको छ ।
प्रतिनिधी सभा निर्वाचन क्षेत्र नं. २ को संयोजकमा पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज गोविन्द नेपाली चयन भएका छन् । सह–संयोजकमा बिष्णु भुसाल र सचिवमा डम्मर श्रीस चयन भएका छन् । सोही क्षेत्रको प्रदेश सभा ‘क’ को संयोजकमा पार्टीका गण्डकी प्रदेश कमिटीका सदस्य बाबुराम नेपाली र ‘ख’ को संयोजकमा केडी नेपालीलाई तोकेको जिल्ला सचिव विष्णु भुषालले बताए ।
बैठकले जिल्लाका सबै स्थानीय तहमा निर्वाचन परिचालन कमिटी बनाएको छ । सम्बन्धित पालिकाका पार्टी अध्यक्षहरुलाई संयोजकको जिम्मेबारी दिईएको छ । जिल्लामा क्रियाशिल रहेका केन्द्रिय सदस्य र प्रदेश कमिटीका सदस्यहरुलाई बिभिन्न बिषयगत समितिमा रहेर काम गर्नेगरी जिम्मेबारी प्रदान गरेको भुसालले बताए । पार्टीभित्रको सुदृढ एकता, विपक्षभित्रको अन्तरकलह र एमालेप्रतिको जनताको आकर्षणका कारण जिल्लाका सबै सिट एमाले जित्ने निश्कर्ष निकालेको छ । बैठकले जिल्ला निर्वाचन परिचानल कमिटी गठन गर्दै जिल्लाका सबै पार्टी नेता र कार्यकर्ताहरुलाई निर्वाचन खट्न निर्देशन दिई विशेष कार्ययोजना निर्माण गरेको छ ।
एमालेले प्रतिनिधी सभा निर्वाचन क्षेत्र नं. १ मा डा. सूर्य पाठक, प्रदेश सभा ‘क’ मा हिरा बहादुर केसी र ‘ख’ मा नवराज पौडेल तथा क्षेत्र नं. २ मा मञ्जु चालिसे, प्रदेशसभामा ‘क’ मा स्वतन्त्र उम्मेदवार प्रकाश घर्तिलाई सहयोग गर्ने र ‘ख’ लक्ष्मण पुनलाई उम्मेदवार बनाएको छ । आफ्ना पार्टीका उम्मेदवार अरु पार्टीका भन्दा अब्बल र जनतासंग घुलमिल भएका रहेकोले पनि पार्टीको जीत सुनिश्चित रहेको पार्टी अध्यक्ष केसीले बताए ।