बागलुङ, २ कात्तिक– नेकपा एमालेका उमेद्वारहरुले घरघरमा पुगेर जनभेटघाट कार्यक्रमलाई तिब्रता दिएका छन् । बागलुङका सबै क्षेत्रका उमेद्वार र पार्टीका केन्द्र, प्रदेश र जिल्ला तहका नेता आ–आफ्नो निर्वाचन क्षेत्रका घरघरमा पुग्न थालेका हुन् ।
एमालेका तर्फबाट बागलुङ क्षेत्र नं. १ प्रतिनिधिसभा उमेद्वार डा.सूर्य पाठक र प्रदेशसभा ‘क’का उमेद्वार हिरा बहादुर केसी बागलुङ नगरपालिका–३ का बिभिन्न टोलमा घरदैलो तथा जनभेटघाट गरेका छन् । जनभेटघाटमा उमेद्वार पाठकले देशको समृद्धि र उज्यालो भविश्यका लागि एमालेका उमेद्वारको जीत आवश्यक रहेको बताए । जनताका स–साना काम एमालेले मात्रै गर्नसक्ने भन्दै पाठकले सुरुङ योगको सुरुवातदेखि नेपालको नक्सा चुच्चे बनाउने काम एमाले सरकारकै पाला भएको स्मरण गराए ।
प्रदेशसभा सदस्यका उमेद्वार हिराबहादुर केसीले बागलुङको बिकासका लागि युवा उमेद्वारको जीत आवश्यक भएको बताए । उनले निस्वार्थ भावनाले काम गर्ने मनसाय राखेर मत माग्न आएका एमाले उमेद्वारहरुलाई मत दिन आग्रह समेत गरे ।
क्षेत्र नं. १ प्रदेशसभा ‘ख’का उमेद्वार नवराज पौडेलले जैमिनी नगरपालिकाको दमेकमा घरदैलो तथा जनभेटघाट गरेका छन् । उनले गाउँका सर्वसाधारणको आवाज प्रदेशसभामा पु¥याउने जिम्मेबारी बोकेर घरदैलोमा आएको बताए ।
बागलुङ क्षेत्र नं २ का प्रतिनिधिसभा उमेद्वार मञ्जु शर्मा चालिसे र प्रदेशसभा ‘ख’का उमेद्वार लक्ष्मण पुनले निसिखोला गाउँपालिका वडा नं २ देविस्थानमा जनभेटघाट तथा चुनावी अभियान सम्पन्न गरेका छन् । कार्यक्रममा चालिसेले पश्चिम बागलुङको बिकास र समृद्धिका लागि आफ्नो उम्मेदवारी रहेकाले मंसिर ४ मा सुर्य चिन्हमा मतदान गर्न आग्रह गरिन् ।
पश्चिम बागलुङका जनताको समस्यासँग आफु नजिक रहेको बताउँदै उनले आफ्नै क्षेत्रका उमेद्वार नपाउने समस्या अब अन्त्य भएको बताईन् । पटक–पटक यहाँका जनतालाई बाहिरबाट आएका उमेद्वारलाई मत दिनुपर्ने बाध्यताको अन्त्यका लागि आँफु घरदैलोमा आएको बताईन् ।
स्थानीय स्रोत साधनको प्रयोग गरेर बिकास गर्छौं : घर्ती
बागलुङ क्षेत्र नं. २ प्रदेशसभा ‘क’का स्वतन्त्र उमेद्वार प्रकाश घर्तीले स्थानीय स्तरमै उपलव्ध स्रोत साधनको उपयोग र पूर्वाधार निर्माण आफ्नो प्राथमिकता भएको बताएका छन् । उनले बागलुङको पश्चिम क्षेत्र प्रसस्त सम्भावना बोकेर पनि नेतृत्वका कारण पछि परेको भन्दै यहाँको बिकासमा आफ्नो उमेद्वारी महत्वपूर्ण रहेको बताए ।
चुनावि अभियानका क्रममा बडिगाड गाउँपालिकाका बिभिन्न टोलमा पुगेका घर्तीले स्थानीय स्तरमा उपलब्ध श्रोत साधनको अधिकतम प्रयोग, पुर्वाधार निर्माण र रोजगारी आफ्नो मुल मुद्धा भएको बताए । ताराखोला, गलकोट र बडिगाड विभिन्न श्रोत साधनको खानी भएकोले अधिकतम प्रयोग गर्न सकेमा मात्र यस क्षेत्रमा बिकासको लहर आउने उनको धारणा थियो ।
शिक्षा, स्वास्थ र रोजगारलाइ प्राथमिकतामा राखेर यो क्षेत्रको विकासलाइ तीव्रता दिने घर्तिको प्रतिबद्धता जनाए । उनलाई नेकपा एमाले बागलुङले समर्थन गरेको छ । क्षेत्र नं. २ प्रदेशसभा ‘क’मा नेपाली कांग्रेसका जिल्लासभापति गठबन्धनका उमेद्वार जीत शेरचनसँग घर्तीले प्रतिस्पर्धा गर्दैछन् ।