बागलुङ, २ कात्तिक– नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा आसन्न निर्वाचनमा बागलुङ क्षेत्र नं. २ का उमेद्वार देवेन्द्र पौडेलले प्रतिगमन रोक्न तयार भएको गठबन्धन टुटाउन देशीविदेशी शक्ति लागिपरेको बताएका छन् ।
उनले गठबन्धन टुटाउने र प्रतिगामीकै हातमा सत्ता सुम्पिन खोज्ने शक्तिहरु सक्रिय भएका भएपनि उनीहरुको खेल समाप्त भएको बताए । निसीखोला गाउँपालिका निर्वाचन सम्पर्क कार्यालयको उद्घाटन गर्दै मन्त्री पौडेलले पाँच दलीय गठबन्धन संविधान सिध्याउनेका विरुद्ध भएको बताए । उनले देशको बिकासलाई अघि बढाउने संस्कृतिको विकाश भएको बताउँदै यो गठबन्धनबाटै फेरी पनि सरकार बन्ने उद्घोष गरे ।
पौडेलले मध्यपहाडी लोकमार्ग निर्माण गर्दा प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारका रुपमा काम गरेको स्मरण गराउँदै ढोरपाटन साल्झण्डीको सडक कालोपत्रेको काम चलिरहेको उल्लेख गरे । क्षेत्र नं. २ को ‘ख’मा प्रदेश सभा सदस्यका उम्मेदवार दोर्णकुमार कुँवरले प्रतिगमनविरुद्ध ५ दलीय गठबन्धन भएको बताए ।