फाइल तस्बिर
बागलुङ, ३ कात्तिक– जिल्लाको काठेखोला गाउँपालिका वडा नम्बर ३ स्थित धम्जा सामुदायिक स्वास्थ्य इकाईमा भिडियो एक्सरे मेसिन सहयोग उपलब्ध भएपछि यहाँका गर्भवती महिलाको परीक्षणमा सहयोग पुगेको छ ।
लायन्स क्लब अफ स्वीन्डोन चौतारी युके तथा युकेमा बस्ने नेपालीले संकलन गरेको सहयोगले युकेमै खरिद गरिएको भिडियो एक्सरे धम्जा सामुदायिक स्वास्थ्य इकाईलाई सहयोग गरिएको हो ।
गाउँमै गर्भवती महिलाको स्वास्थ्यपरीक्षणका लागि निकै उपयोगी मानिएको भिडियो एक्सले मेसिन धम्जा सामुदायिक स्वास्थ्य एकाईलाई सहयोग प्राप्त भएको धम्जा सामुदायिक स्वास्थ्य एकाइका अनमी कृष्णमाया पुनले जानकारी दिइन ।
दुर्गम गाउँमा भिडियो एक्सरे सेवाले गाँउका महिला सेवा लिन टाढा जानुपर्ने बाध्यता अन्त्य गर्नका लागि सहयोग गरिएको सहयोगकर्ता देवेन्द्र पौडेलले जानकारी दिए । भिडियो एक्सरे सञ्चालनका लागि काठेखोला गाउँपालिकामा एक जना जनशक्तिको माग गरिएको काठेखोला गाउँपालिका धम्जाका वडाध्यक्ष कुलबहादुर विकले बताए ।
स्वास्थ्य एकाइका अनमी पुनले भिडियो एक्सरेका लागि तालिम प्राप्त गरेकाले हाललाई भिडियो एक्सरे सेवा सुरु गरेपनि पुनसँगै एक कार्यालय सहयोगीको भरमा चलेको इकाइलाई जनशक्तिको भने अभाव रहेको छ ।